मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव

नेपालभ्युज

मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ ।

मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका वडाध्यक्ष, सामुदायिक वन महासङ्घ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसका आधारमा महोत्सवको समय निर्धारण गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५लाई प्रभावकारी र सफल बनाउन स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर हामीले रेडपाण्डा र थार महोत्सव आयोजना गर्ने निर्णय गरेका हौँ,’ उनले भने ।

महोत्सव सफल बनाउन वडा नं १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । पन्ध्रवटै वडाका वडाध्यक्ष सम्मिलित तयारी समितिले महोत्सवका लागि विस्तृत अध्ययन गरेर योजना बनाउने छ ।

आगामी पुस १७ गतेदेखि औपचारिक रूपमा शुरू हुने ‘मुन्दुम ट्रेल भ्रमण वर्षका अवसरमा केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे (गोठबास) महोत्सव तथा साकेला गाउँपालिकामा उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी छ ।

यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन, माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम गर्ने तयारी छ ।

पहिलोपटक आयोजना गरिएको मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि त्यस आसपासका स्थानीयवासीले धमाधम होमस्टे (घरबास) तथा पाहुनाघर निर्माण गरिरहेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्षको अवधिमा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।

भ्रमण सफल बनाउन ‘मुन्दुम ट्रेल’सँग जोडिएका विभिन्न स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलाप गर्न अनुरोध गरिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताए ।

‘मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले कम्तीमा पनि एक लाख पर्यटक भित्र्याउने लक्ष्य छ,’ उनले भने । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ करिब एक सय सात किलोमिटर लामो छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानी भइरहेको छ ।

२०७५ पुस २१ गते औपचारिक रूपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत आधारभूत भौतिक पूर्वाधारको काम भएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट शुरू भएको ‘मुन्दुम ट्रेल’मा उक्त स्थानीय तहको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीडेन सरकारको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजारमा दुई सय ५२ मा स्तरोन्नतिको काम गरिएको छ ।–रासस

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved