उपनिर्वाचनमा प्रचण्डविरुद्ध गगन र शंकर

नेपालभ्युज

उपनिर्वाचनमा प्रचण्डविरुद्ध गगन र शंकर

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतदान मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढेको छ । संसद्‌का ठूला तीन राजनीतिक दलले यो चुनावलाई आफ्नो मध्यावधिक परीक्षणका रूपमा लिएका छन् । स्थानीय उपनिर्वाचन भएपनि नेताहरूले यसलाई निकै महत्वका साथ लिएका छन् ।

यसको एउटा उदाहरण हो, बिहीबार कीर्तिपुरमा सम्पन्न राजनीतिक दलहरूका चुनावी सभा । जहाँ सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)विरुद्ध एक ठाउँमा उभिएर आफ्नो पक्षमा मत माग्न थालेका छन् ।

मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने उक्त निर्वाचनको मौन अवधि बिहीबार मध्यरातिदेखि लागू भइसकेको छ । मौन अवधि सुरु हुनु केही समयअघि मात्रै प्रमुख तीन राजनीतिक दलका नेताहरूले काठमाडौंको कीर्तिपुर नगरपालिकामा अन्तिम चुनावी सभा सम्पन्न गरेका छन् । उक्त आमसभामा प्रचण्ड र उनी नेतृत्वको माओवादीलाई अस्थिरताको प्रमुख कारकका रूपमा चित्रित गर्दै कांग्रेसका महामन्त्री गगन थापा र एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका उम्मेदवारलाई मत मागे ।

कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनी नेतृत्वको १० वर्षे जनयुद्धको समेत भरमार विरोध गरे । प्रचण्डले हतियार उठाउन लगाएर नेपालको १० वर्ष समय खेर गएको कांग्रेस महामन्त्री थापाको भनाइ थियो ।

‘प्रचण्डजीले काम न काजको हतियार उठाउँदा नेपालको १० वर्ष खेर गयो । युवालाई रोजगारी दिनुपर्ने ठाउँमा बन्दुक बोक्न लगाएर एके ४७ भारतबाट किन्ने कि चीनबाट किन्ने कि अमेरिकाबाट बारुद्ध ल्याउनेतिर लाग्यौं,’ उनले भने, ‘संक्रमणकालको नाममा अर्को १० वर्ष खेर गयो ।’

महामन्त्री थापा प्रचण्डविरुद्ध यत्तिमै रोकिएनन् । उनले प्रचण्ड अहिले पनि सत्ता परिवर्तनका लागि अनेक कदम उठाइरहेको र कांग्रेसलाई प्रधानमन्त्री बनिदिनका लागि हप्तैपिच्छे खबर पठाउने गरेको आरोप लगाए । तर, कांग्रेस असार १७ मा एमालेसँग भएको सहमतिअनुसार सरकारलाई तलमाथि गर्ने पक्षमा नरहेको भन्दै थापाले एमालेलाई पनि सान्त्वना दिए ।

‘कांग्रेस अहिले पनि संसद्‌को सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्यो भनेर,’ थापाले भने, ‘यो खबर पठाउने काम पहिले अर्कैले गथ्र्यो । सरकार तलमाथि गर्ने हो भने संख्या कांग्रेससँग नै छ । तर कांग्रेसले हिजो प्रचण्डलाई प्रधानमन्त्री मान्यो, आज कांग्रेस केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको छ, कांग्रेसलाई प्रधानमन्त्री बन्न नआउने भएर होइन ।’

एमालेका महासचिव पोखरेलले पनि प्रचण्डलाई लक्षित गर्दै ३२ सिटे म्याजिक नम्बरको शासन गर्ने युगको अन्त्य गर्नुपर्ने बताए । प्रचण्डकै मुलुकमा अस्थिरता भइरहेको तर्फ संकेत गर्दे उनले राजनीतिक अस्थिरताको कारण नेपाल बन्न नसकेको जिकिर गरे । त्यसका लागि अब नेपालमा धेरै राजनीति दल होइन बलिया राजनीतिक दल बनाउने सङ्कल्प गर्नुपर्ने पोखरेलकाे भनाइ थियाे ।

‘बलियाले नीतिको आधारमा मुलुकको नेतृत्व गर्नुपर्छ । सो दिशातर्फ मुलुकलाई डोर्‍याउन अग्रसर हुनुपर्ने बेला आएको छ’, उनले भने, ‘देश बनाउने हो भने ३२ सिटले म्याजिक नम्बर भन्दै शासन गर्ने युगको अन्त्य गर्नुपर्दछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved