काठमाडौं । नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले यस वर्षका लागि २३ देशका ४७ उत्कृष्ट चलचित्रहरुको सूची सार्वजनिक गरेको छ ।
बुधबार महोत्सवले डकुमेन्ट्री, शर्ट, एनिमेशन र फिक्सन विधामा प्रतिस्पर्धा गर्नका लागि छनोट भएका चलचित्रहरुको ‘लाइनअप’ सार्वजनिक गरेको हो ।
यस महोत्सवमा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ग्राण्ड जुरी पिक्सन विजेता पायल कपडियाको ‘अल वी इमाजिन एज लाईट’, ७४ औं बर्लिन फिल्म फेस्टिभलको अवार्ड विजेता ‘एन आउटरन’ र ‘अनार दाना’, तथा बर्लिनमै छनोट भएको ‘ओटिट’ जस्ता चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाऊ टु प्लिज’ लगायत नौ वृत्तचित्र पनि छनोटमा परेका छन् ।
महोत्सवको उद्देश्य र इतिहास
मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवर्द्धन र प्रदर्शन गर्दै आएको यस महोत्सवको स्थापना सन् २००९ मा भएको हो ।
महोत्सव आयोजक मानव अधिकार चलचित्र केन्द्रले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ, जसले फिल्म मार्फत मानव अधिकारका मुद्दामा जागरुकता फैलाउन र पैरवी गर्न योगदान पुर्याइरहेको छ ।
साथै, केन्द्रले विभिन्न अन्तक्रिया तथा गोष्ठीहरुमार्फत सामाजिक मुद्दामा संवादको माध्यम बनाउँदै आएको छ ।
महोत्सवले नेपाली दर्शकलाई अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट चलचित्र हेर्ने मौका मात्र प्रदान गर्दैन सामाजिक र मानवीय मुद्दाहरुलाई पनि गहिरोसँग विचार गर्न प्रेरित गर्दछ ।
मिति र स्थानबारे थप जानकारी महोत्सव आयोजकद्वारा चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।
Facebook Comment
Comment