साहित्यको बाटो प्रवेश गरेका माओ
माओका विचार र रचनाहरूले नेपालको कम्युनिष्ट आन्दोलनमा खासगरी नौलो जनवादी क्रान्ति पक्षधर समूहको वैचारिकी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
नेपालमा सन् १९९६ देखि २००६ सम्म दश वर्ष माओवादीको नेतृत्वमा सशस्त्र सङ्घर्ष (जनयुद्ध) भयो । त्यसका राजनीतिक प्रभाव अहिले पनि हामीले महसुस गरिरहेका छौँ ।
आजको माओवादी के हो, के होइन र यसको यात्रा कहाँबाट थालेर कहाँ पुग्यो भन्ने बारेमा नेपाली बौद्धिक तथा राजनीतिक वृत्तमा अनेक विचार छन् । तिनमा मतैक्य हुन सम्भव पनि छैन । जनयुद्ध गर्दाको माओवादी र आजको माओवादीका बीचमा तुलना गर्नु पनि असम्भव जस्तो छ ।
चिनियाँ नीति कथाका पात्र आफन्तीको एउटा कथा छ, ‘सुरुवाको सुरुवाको पनि सुरुवा’ भन्ने । उक्त कथामा एक दिन आफन्तीले मृग मारेर ल्याएछ र आफ्नो मितलाई सुरुवा खान बोलाएछ । सुरुवा यति मीठो थियो कि मितले फर्केर घर गएपछि त्यसको व्यापक प्रचार गरेछ । मितको मितले यो सुनेर मन थाम्न नसकेपछि सुटुक्क आफन्तीकहाँ पुगेछ र सुरुवाको बखान सुनेर आएको बताएछ । आफन्तीले पनि बचेखुचेका हड्डी सड्डी जम्मा गरेर सुरुवा बनाएर खुवाएछ । त्यो मितको पनि मितले यसको पनि खुब मीठो सुरुवा खाइयो भनेर प्रचार गरेछ ।
उसको मित अर्थात् आफन्तीको मितको मितको पनि मितले सुनेछ र आफन्तीकहाँ पुगेछ । आफन्तीले चाहिँ अघिल्लो दिन पकाएर सुरुवा बनाइसकेर फालेका हड्डीका टुक्रा खोजमेल गरेर सुरुवा बनाएर दिएछ । मितको मितको पनि मितले यो त प्रचार गरेको जस्तो मीठो छैन नि भनेर सोधेछ । आफन्तीले भनेछ यो त मितको मितको पनि मितलाई बनाएको सुरुवाको सुरुवाको पनि सुरुवा हो भनेर उत्तर दिएछ । यस्तो लाग्छ उतिबेलाको माओवादी मृगको आलो हड्डी मासुको सुरुवा हो भने अहिलेको माओवादीचाहिँ सुरुवाको सुरुवाको पनि सुरुवा हो ।
स्वयम् माओवादीहरू आफ्नो इतिहासबारेमा कसरी मूल्याङ्कन गर्छन् भनेर सोध्यो भने पनि एउटै उत्तर आउने छैन । मोहन वैद्य, बाबुराम भट्टराई, प्रचण्ड, विप्लव, गोपाल किराती, रामबहादुर थापा र मातृका प्रसाद यादवलाई सोध्यो भने त्यसका अनेक उत्तर आउन सक्छन् । हिसिला यमी या जयपुरी घर्तीका धारणा या मानुषी यमी र रेनु दाहालले यही आन्दोलनलाई कसरी सम्झिरहेका छन्, त्यसका विविध अर्थ होलान् । माओवादी आन्दोलनले नेपालको राजनीतिमा पारेका प्रभाव र ल्याएका सकारात्मक परिवर्तन र छाडेका नकारात्मक छापहरू लाामो समय हाम्रो विमर्शको एउटा पाटो बनिरहने छ ।
नेपालमा माओवादी जनयुद्ध थालनी हुनु र त्यसले राज्यलाई नै टक्कर दिने शक्ति आर्जनका पछाडि के-के अर्थराजनीतिक कारण होलान् भन्ने विषय बहस हुँदै गर्ला ।
मैले हालै नेपालमा माओ या चीनको कम्युनिष्ट पार्टीको प्रभाव कसरी फैलियो होला भन्ने विषयलाई नेपालमा अध्ययन गरिने माओवादी या चिनियाँ साहित्यको पाटोबाट सर्सर्ती अध्ययन गर्ने प्रयास गरेको थिएँ ।
माओवादीहरूले आह्वान गरेको जनयुद्ध र त्यसको विस्तारका केही अन्तर्राष्ट्रिय वैचारिक आयाम थिए । यो आन्दोलनको वैचारिकी नेपालको मात्र ‘आइसोलेटेड’ केसबाट बनेको थिएन । तर, त्यसको मुख्य जड भने नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखि नै चिनियाँ कम्युनिष्ट पार्टी र माओका विचारहरूको प्रभाव थियो । त्यसमध्ये एउटाचाहिँ चिनियाँ साहित्यको प्रभाव पनि हो । यहाँ सर्सर्ती नेपालका कम्युनिष्ट माझ चिनियाँ साहित्यको प्रभावको बारेमा चर्चा गरिनेछ ।
पुष्पलाल र कम्युनिष्ट साहित्य
नेपालीमा अनुवाद भएर भित्रिएको पहिलो मार्क्सवादी साहित्य या रचना कम्युनिष्ट पार्टीको घोषणापत्र नै थियो । यसलाई कमरेड पुष्पलालले अनुवाद गरेका थिए, जसले पछि कम्युनिष्ट पार्टी स्थापनाको नेतृत्व गरेका थिए ।
नेपालमा मार्क्सवादको प्रचारका प्रारम्भिक अवस्थाका विषयमा पुष्पलालले लेखेका छन्, “केही महिनासम्म म बनारसमा नै बसेँ । त्यहाँको मार्क्सवादी पुस्तक पसलसँग मेरो जान-पहिचान थियो । त्यहाँबाट पुस्तक कमिशनमा ल्याई नेपाली विद्यार्थीबीच मार्क्सवादी साहित्यको बिक्री वितरण गर्दथेँ । यसले एकातिर मार्क्सवादी साहित्यको प्रचारप्रसार भइरहेको थियो भने अर्कोतिर मेरो आर्थिक स्रोतको एक मात्र बाटो पनि त्यही थियो ।”
यसैबीच मैले निम्न लिखित पुस्तक पनि हाम्रो नेपाली भाषामा उल्था गरी सकेको थिएँ । १, कम्युनिष्ट घोषणापत्र, २, सोभियत रुसमा व्यक्ति र समाज, ३, मार्क्सवाद के हो ? ४, चिनी क्रान्ति कम्युनिष्ट पार्टी, ५, गाउँका गरिबहरूलाई (लेनिन–)।
कमरेड पुष्पलालले एकठाउँमा भनेका छन्, “यस अवधिमा मार्क्सवादी-लेनिनवादी साहित्यहरूका मौलिक पुस्तकहरू प्रशस्त मात्रामा देशमा बिक्री वितरण भए । मार्क्सवादी साहित्यको नेपालीमा अनुवादहरू पनि भए । त्यसका अतिरिक्त विदेशका कम्युनिष्ट पार्टीका साहित्य त्यसमा पनि विशेष गरी चीनी पार्टी, कोरियाई पार्टी र केही मात्रामा भियतनामी पार्टीका साहित्यहरू पनि देशमा बिक्री वितरण भएर मार्क्सवादी पत्रपत्रिका तथा सङ्गालोहरू पनि प्रकाशित भए । पुस्तक दोकान पनि खुले ।
निरञ्जन गोविन्द वैद्य र चिनियाँ साहित्य
त्यसपछि केही केही चिनियाँ साहित्य अनुदित भएर आउन थाले । चीनबाट माओका रचनाहरूको भोल्युम अङ्ग्रेजी र हिन्दीमा पनि आउँथे । कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एकजना नेता निरञ्जन गोविन्द वैद्यले भोटाहिटीमा सायद आफ्नो घरमा चिनियाँ साहित्य र रचना पाइने एउटा पुस्तक पसल सञ्चालन गर्न थाले । चीनबाट प्रकाशित सामग्री यहाँ ल्याएर सस्तो मूल्यमा बिक्री गर्ने र त्यसको आम्दानीले पार्टीको खर्च चलाउन सहयोग गर्नेगरी सहमति गरिएको थियो भन्ने पनि गरिन्छ ।
यस सम्बन्धमा तत्कालीन चिनियाँँ कम्युनिष्ट पार्टीको नेतृत्वका विचार र अरु देशमा क्रान्ति निर्यात गर्ने उद्देश्यले सञ्चालित गतिविधि पनि यस्तो सहयोग भएको थियो भन्ने आशङ्कालाई बल पुर्याउँछ । यसलाई पुष्टि गर्नेगरी जुलीया लोबेलले आफ्नो पुस्तकमा लेखेकी छन्-
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागले विश्वभर माओका विचारको प्रचारका लागि काम गर्थ्यो । सन् १९६० र ७० को दशकमा यो विभागको प्रमुखको भूमिकामा पहिलेको गुप्त प्रहरी विभाग प्रमुख तथा यनान कालदेखिका माओका सबैभन्दा विश्वासपात्र खाङ शेङ थिए । उनले क्रान्तिकारी विचार प्रसार गर्ने साहित्य आपूर्ति गर्थे र कम्युनिष्ट समूहहरूलाई सहयोग गर्ने कामको संयोजन गर्ने गर्थे ।
तर, यसको स्वतन्त्र रूपमा पुष्टि गर्ने कुनै डकुमेन्ट भने भेटिएको छैन ।
यही सहकार्यमार्फत निरञ्जन गोविन्द वैद्यले चिनियाँ साहित्यको अनुवाद गराउने गरेको अनुवादक खगेन्द्र संग्रौलाले आफ्नो बायोग्राफिक पुस्तकमा उज्ज्वल प्रसाईंसँग बताएका छन् । पछि उनले जुलीया लोबेलसँग पनि यसका केही अन्तर्कथा सुनाएको उनले लेखेकी छन् । चिनियाँ साहित्य अनुवाद गर्नेमा कृष्णदास श्रेष्ठ पनि एकजना हुन् । सबैभन्दा बढी पढिएको सायद ‘रेडबूक’ थियो, जसको नेपाली अनुवादचाहिँ गोविन्द भट्टले गरेका थिए । अनुदित पुस्तकमा माओका रचना धेरै थिए ।
चिनियाँ साहित्यको सबैभन्दा बढी अनुवाद गरेकोचाहिँ चर्चित वामपन्थी लेखक तथा अभियन्ता खगेन्द्र संग्रौलाले हो । उनले ‘गुनिला चिनियाँ कथा माला’ भन्ने शीर्षकमा तीन खण्ड हो कि पाँच खण्डमा कथा सङ्ग्रह अनुवाद गरेर प्रकाशित गरेका थिए । यसले हामीलाई चिनियाँ साहित्यतिर आकर्षित गर्ने काम गरेको थियो । नेपालमा माओवाद या माओ विचारधारा केवल राजनीतिक दस्तावेज र चिनियाँ प्रचारको प्रभावले मात्र आएको होइन, बरु साहित्य र कलाका माध्यमबाट पनि प्रवेश गरेको हो ।
यता माओविचारधाराका प्रति झुकाव भएका क्रान्तिकारी विद्यार्थीहरूको संगठन थियो काठमाडौंमा खुलेको गण्डकी छात्र परिषद् । उक्त छात्र परिषद्मा अध्यक्ष थिए कास्की हंसपुरका अमर सुवेदी । त्यसमा सक्रियमध्येका थिए कास्कीकै रामराज रेग्मी, कृष्ण आचार्य, लमजुङका सोमनाथ घिमिरेलगायत । त्यसै संगठनको आयोजनामा २०२६ मा पोखरामा प्रगतिशील साहित्य गोष्ठी सम्पन्न भयो । त्यसमा प्रमुख अतिथि लगिएका थिए प्राज्ञ तथा कवि सिद्धिचरण श्रेष्ठ । दुई दिनसम्म गीत, कविता र अरु विधा समेटिएको कार्यक्रम सम्पन्न भयो । गण्डकी अञ्चलाधीश कार्यालयले यसलाई रोक्न खोज्दा सिद्धिचरणले नै थामथुम गरेर सहयोग गरेका थिए ।
यो यसप्रकारको पहिलो प्रगतिशील साहित्य गोष्ठी थियो । कार्यक्रमले माओ विचारधारालाई परोक्ष प्रत्यक्ष रूपमा सहयोग गरेको अनुभव आयोजकलाई छ (यस सम्बन्धमा लेखकले नेपाल रिडर्सका लागि गरेको वार्तामा उनले बताएका थिए )।
आफ्नो अनुभव
हामीले कलेज जीवनमा भर्खर माओ विचारबाट प्रभावित हुने बेलामा अति धेरैपटक पढेका माओका रचनामा चाहिँ हुनान किसान आन्दोलनको जाँचपड्तालबारे, नौलो जनवादी क्रान्ति, पर्वत पल्टाउने मुर्ख बुढो मान्छे, जनताको सेवा गर, येनानमा साहित्य र कलाबारे दिएको प्रवचन, दर्शनबारे पाँच कृति, रेडबूक, माओका सङ्कलित रचनाहरू, माओका छ सैन्य रचनाहरू (दुबै पहिले हिन्दीमा पढिएको थियो) मुख्य थिए ।
लु सुनका साहित्यिक रचनाहरू, चीनको अग्नि दीक्षा भन्न मिल्ने याङ मोको उपन्यास युवाहरूको गीत आदि पर्दथे । पछि अङ्ग्रेजीमा दी वाइल्ड स्वान, दी ड्यागर, रेलवे गुरिल्लाज, दी रेड क्र्याग आदि उपन्यास पढिएको थियो । रेड क्र्यागपछि रातो चट्टानका रूपमा नेपालीमा पनि अनुदित भएको थियो । लि सिन तियानले लेखेको चम्किलो रातो तारा, ल्यु शाओ चीको असल कम्युनिष्ट कसरी बन्ने, हिन्दीमा पाइने वाल गडेरिया हाय वा याङ काइ हुइको जीवनी, डा. कोटनीश र डा. नर्मन वेथुनका जीवनी जस्ता सहित्य पाइन्थे । सचित्र चीन र बेइजिङ रिभ्यू निरन्तर आउँथे । अङ्ग्रेजीमा छापिने जर्नल चाइनिज लिटरेचर पनि पढिन्थ्यो ।
मैले २०३६ भदौमा नेपाली र हिन्दीमा छापिएको राता गाता भएका रेडबूकका दुई कपी पाएको थिएँ । त्यसमा माओका कोटेशन पढेर क्रान्तिलाई बुझ्ने असफल प्रयास गरेको अहिले पनि सम्झन्छु । चीनको कम्युनिष्ट क्रान्तिलाई राम्ररी नबुझी रेडबूक हेर्दा बुझिने कुरा पनि त थिएन । पहिले जम्मा एक मोहर र पछि एक रुपैयाँमा पाइने रेडबूक र ३० पैसामा पाइने बेइजिङ रिभ्यू ।
म संलग्न रहेको नेकपा मालेको आन्तरिक प्रशिक्षणमा पार्टी कार्यकर्ताको स्तर अनुसार माओका निम्न रचनाहरूलाई पाठ्यक्रममा राखिएको थियो । अध्यक्ष माओका पाँच ग्रन्थहरू, नौलो जनवादबारे, चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिष्ट पार्टी, जापान विरोधी छापामार युद्धका रणनीतिक विषयहरू र तीन विश्वको सिद्धान्तको बारेमा । यसरी माओका विचार र रचनाहरूले नेपालको कम्युनिष्ट आन्दोलनमा खासगरी नौलो जनवादी क्रान्ति पक्षधर समूहको वैचारिकी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
यस सम्बन्धमा पत्रकार तथा लेखक सुधीर शर्माले आफ्नो पछिल्लो पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’मा यसो भनेका छन्, “यो सबैको परिणाम के भयो भने माओ नेपाल नआए पनि उनको राजनीति भने हिमाल नाघेर आयो । यहाँ माओ विचारधारा र माओवाद मान्ने राजनीतिक दलहरू जन्मिए । माओकै नाममा दुई–दुईपटक सशस्त्र विद्रोह भए । झापाली कम्युनिष्टहरूले २०२८ मा र माओवादीले २०५२ सालमा थालेको विद्रोह चिनियाँ क्रान्तिबाटै प्रेरित थिए । भलै ती दुबै समूहले हतियार उठाउञ्जेल चिनियाँँ सहयोग पाएनन् ।”
साहित्य विविध
नेपाली साहित्यिक जगत्मा खासगरी प्रगतिवादी साहित्य क्षेत्रमा लु शुन एकजना सामाजिक यथार्थवादी क्रान्तिकारी साहित्यकारका रूपमा लोकप्रिय छन् । उनको कथा ‘बहुलाहको डायरी’, ‘आह क्युको साँचो कथा’ जस्ता कथा निकै प्रसिद्ध रहेका छन् । आह क्युको साँचो कथामा आधारित रहेर एउटा नाटक र सिनेमा (टलकजंग भर्सेज टुल्के) बनेको थियो । यसले नेपाली माओवादी जनयुद्धको समयको चित्रण गर्दै आह क्यु को साँचो कथालाई नेपाली सन्दर्भमा प्रस्तुत गरेको थियो । उनका साहित्यिक कृति र विचारका प्रभावबाट नेपाली वामपन्थी खेमाका लेखक कलाकारहरूले आफूलाई वैचारिक रूपमा आलोकित गरेका थिए ।
यसैगरी रेडियो पेकिङको नेपाली र हिन्दी सेवाले पनि नेपालमा चीनका बारेमा जानकारी दिने महत्त्वपूर्ण स्रोतको रूपमा काम गरेका थिए । सन् १९५९ मा रेडियो पेकिगको हिन्दी सेवा र सन् १९७५ बाट नेपाली सेवा सुरु भएको थियो । शर्टवेभमा आउने यो सेवा सुनेर चीनबारे धारणा बनाउन सहयोग पुग्थ्यो । विश्व मामिलामा चिनियाँ सरकारको धारणा र चिनियाँ सरकार र व्यवस्थाबारे प्रशारण गरिने सकारात्मक समाचारले खासगरी वामपन्थी जनमतमा चीनका प्रति आकर्षण थप्न मद्दत गर्थे । मैले भने पहिले नेपाली सेवाबाटै सुन्न थालेको हो, जतिबेला चीन तङ स्याओ फिङको सुधारवादी बाटोमा हिँड्न सुरु गरिसकेको थियो । यद्यपि, यसका प्रति एकप्रकारको मोह र विश्वास हाम्रा मनमा कायम भएको थियो ।
माओका विचार र चीनका पक्षमा जनमत बनाउनुमा अलिकति ब्रिटिश आर्मीमा गएर फर्कने लाहुरेहरूको पनि सहयोग छ होला । मैले गाउँमा चिने जानेका ब्रिटिश आर्मीका सदस्यचाहिँ चिनियाँ कम्युनिष्ट शासनका विपक्षमा बढी देखिन्थे । उनीहरू हङकङमा तैनाथ हुँदा चिनियाँहरू कम्युनिष्ट शासनबाट आत्तिएर भाग्दै हङकङ पस्न खोज्छन्, हामीले उनीहरूलाई उतै फर्काउँछौँ भन्थे । तर, कतिपयले भने कम्युनिष्टहरूको समानता पक्षधर या न्याय पक्षधर विचारले प्रभावित भएर यता पनि प्रचार प्रसार गर्थे ।
यो लेखकसँगको कुराकानीमा तनहुँ घर भएका मलेसियामा जन्मेका पूर्वगोर्खा सैनिकका छोरा नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले आफूमा कम्युनिष्ट विचारको प्रभाव हुनुमा आफ्ना पिताको कम्युनिष्ट समर्थक विचारले काम गरेको भनेर सुनाएका थिए । उनका पिता ब्रिटिश सेनामा पहिले मलेसिया र पछि हङकङमा बसेका थिए । उनी फर्कँदा कम्युनिष्टहरू प्रति सकारात्मक विचार लिएर फर्केको र गाउँलेहरूसँग त्यस विषयमा छलफल गर्दा चीनको समाज व्यवस्था राम्रो रहेको, सबै समान रहेको बताउने गरेको किरण सम्झन्छन् ।
विकास र माओ सँगसँगै
पहिलो कोदारी र पृथ्वी राजमार्ग बनाउन आएका चिनियाँहरूले आफ्ना क्याम्पहरूमा माओका रेडबूकहरू वितरण गर्थे । सिनेमाहरू देखाउँथे । कोदारी राजमार्गमा उक्त परियोजनामा काम गरेका मोहनबहादुर केसीले यो पङ्क्तिकारसँगको भिडिओ कुराकानीमा पनि उक्त कुरा बताएका थिए ।
सुधीर शर्माले लेखेका छन्, “चिनियाँँले कोदारी राजमार्ग बनाउँदा सडक मात्र खनिरहेका थिएनन्, त्यसका निम्ति आएका रेडगार्डहरूले नेपाली गाउँहरूमा चिनियाँ क्रान्तिका सिनेमा देखाउने र कम्युनिष्ट साहित्य बाँड्ने काम पनि गरेका थिए । माओका ब्याच र रेडबूकहरू नेपालभरि छरिन थालेका थिए । कतिसम्म भने चिनियाँ दूतावासको कूटनीतिक सामग्रीका नाममा हुलाकमार्फत दैनिक १०–१५ थैली प्रचार सामग्री भित्रिन थालेका थिए ।”
सांस्कृतिक क्रान्तिकालको कुरा भएकोले सबै सिनेमा क्रान्तिकारी सन्देश दिने हुन्थे, खासगरी चिनियाँ कम्युनिष्ट पार्टीले चलाएको सशस्त्र युद्धको समयका ।
पछि पोखरामा सेती नहर बनाउन आउने चिनियाँहरूले पनि आफू बस्ने क्याम्पहरूमा त्यस्तो सिनेमाहरू देखाउने गरेका रहेछन् । त्यहाँ काम गर्ने पार्टी पक्षीय मजदुरहरूको सहयोगमा हामीले क्याम्पसको छात्रबासमा ल्याएर भिडिओमा हर्ने गरेका पनि थियौँ । यसमा त्यति बेलाका विद्यार्थी नेता तुलबहादुर गुरुङ अलि सक्रिय थिए । यस्तो सिनेमा प्राय: चिनियाँ लालसेनाले जापान विरोधी सङ्घर्षका क्रममा गरेको बलिदानमा आधारित हुन्थे ।
तातु नदी पार गर्दा भन्ने एउटा माओको कविता पढिएको थियो । यस्तै निकै नै टाढा पुग्नु छ राता सिपाहीहरूले गाह्रो र साह्रो भन्दैनन् जनताका छोराछोरीले भन्ने पनि पढेको सम्झना छ । लङमार्चका समयमा तातु नदी पार गर्दाको क्षण समेटेर बनाइएको एउटा सिनेमाको दृश्य छ । अर्को एउटा महिला बटालियन मरुभूमिमा यात्रा गर्दा गर्दै र शत्रुहरूसँग लड्दालड्दै सानो सङ्ख्या मात्र बाँकी रहन्छ । विपरीत दिशाबाट जापानी सेना आइरहेको हुन्छ । उनीहरूसँग प्रतिरोध गर्ने शक्ति बाँकी हुँदैन । कमाण्डरसहित सबैले एकै गोलो बन्छन् र ग्रिनेड विष्फोट गराएर समाप्त हुन्छन् । यो सिनेमाले क्रान्तिकारी उत्सर्ग र बलिदानका लागि प्रेरित गर्थ्यो । अलिकति आतङ्कित पनि बनाउँथ्यो ।
चीनका प्रति र कम्युनिष्ट प्रति आकर्षण बढाउन महत्त्वपूर्ण सहयोग गर्ने पुस्तकमा डा. कोटनिशको र नर्मन वेथुनका जीवनी पनि हुन् । उनीहरूको त्याग र उत्सर्गले हामीलाई पनि आदर्श बन्न प्रेरित गर्थ्यो । मलाई चाहिँ नाङ्गा खुट्टे डाक्टरका विषयमा भएका सामग्री मन पर्थे । हामी अस्पतालभन्दा टाढा र गाउँको धामी, झाँक्री र वैद्यको उपचारमा आधारित रहेर हुर्केकाहरू हौँ । गाउँमा लड्दा पड्दा, चोटपटक लाग्दा र सामान्य ज्वरो झाडापखाला लाग्दा पनि उपचार हुने ठाउँ थिएन । यस्ता घर खेतमा पुगेर उपचार गरिदिने डाक्टर भए कति सहज हुन्थ्यो होला भन्ने कुराले लोभ्याउँथ्यो । जनवादी क्रान्ति सम्पन्न भएपछि आफू पनि नाङ्गा खुट्टे डाक्टर बनेर जनताको सेवामा लाग्नुपर्ला भन्ने भावनाले तान्थ्यो ।
माओवादीहरू र चिनियाँ साहित्य
माओवादीका लागि पनि माथि उल्लेखित रचनाहरूले उत्प्रेरणाको काम गरेको हो । मसँग संवादमा रहने माओवादी नेताहरूले भन्ने गरेका या बागबजारतिर मार्क्सवादी रचना पाइने पुस्तक पसलमा कसले कस्तो पुस्तक किन्ने गरेको थियो भनेर बुझ्दा पनि यही बुझ्न सकिन्छ । धेरै माओवादीहरूले लेखक खगेन्द्र संग्रौलासँगको भेटमा आफू उनले अनुवाद गरेका चिनियाँ साहित्य पढेर आन्दोलनमा लागेको भनेर बताउने गरेको उनले यो लेखक सहितका चिया गफमा बताउने गरेका थिए ।
माओवादीको नेतृत्वका थोरै मान्छेहरू हामीभन्दा आठ/दश वर्ष उमेरले पाको भएपनि उनीहरूको मुख्य हिस्सा हाम्रो उमेर समूहकै हो र हामीले सिक्ने र अध्ययन गर्ने पुस्तक र विषयहरू एउटै हुन् ।
माओवादीहरू सशस्त्र विद्रोहमा लागेपछि र माओवादलाई मार्गदर्शक सिद्धान्त मानेपछि उनीहरूको वैचारिक बहसलाई मार्क्सले भन्दा माओले निर्देशित गर्नु स्वाभाविक थियो । हामीले भने व्यक्तिगत रूपमा बाहेक २०४३ पछि क्रमशः माओभन्दा बढी लेनिनलाई पढ्न थालेका थियौँ ।
माओवादीलाई जनयुद्धका क्रममा सबैभन्दा बढी माओका सैन्य रणनीतिबारेका व्याख्यान समेटिएका माओका ६ सैनिक रचनाहरू सहयोगी भएको प्रचण्डका जनयुद्धकालीन दस्तावेजहरू पढ्दा पनि थाहा हुन्छ । यसबाहेक पनि माओका नौलो जनवादी क्रान्ति र उनका दर्शनसम्बन्धी रचनालाई माओवादीले आफ्नो दैनिक कार्य सञ्चालनमा र वैचारिक विमर्शमा प्रयोग गरेको देखिन्छ ।
यस सम्बन्धमा हालै (सेप्टेम्बर २०२४) चीन भ्रमणमा गएर फर्केका माओवादी राजनीतिमा जीवन खपाएका लेखक तथा पत्रकार नरेन्द्रजंग पिटरका तलका भनाइ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । उनले उकालो अनलाइनको ५ अक्टोबर, २०२४ को अंकमा लेखेका छन्-
संसारकै कम्युनिष्ट आन्दोलन, सोभियत रुस र चिनियाँ पक्षमा विभाजित थियो । नेपालमा पनि कम्युनिष्टहरू दुई धारमा बाँडिए । सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने माओको कथनले विश्वका कम्युनिष्ट संगठनमा छापामार, गुरिल्ला युद्ध या दीर्घकालीन जनयुद्ध कार्यनीतिक सिद्धान्त बन्दै गए । नक्सलवादी, झापा विद्रोह, गोन्जालो नेतृत्वको साइनिङपाथको जनयुद्ध र नेपाली माओवादी जनयुद्धसमेत त्यही ह्याङओभरको उमङ्ग थियो ।
म पनि आफ्नो माउपार्टी (माओवादी) को धारणा बोक्दै सांस्कृतिक क्रान्तिको पक्षधर बनेछु । २०३७ सालमा नेकपा चौथो महाधिवेशन (चौम) ले चीनको सांस्कृतिक क्रान्ति खारेज गर्ने कदमलाई प्रतिक्रान्ति भन्न पुग्यो भने मालेले परिवर्तनलाई समर्थन गर्यो । चौमको विकसित रूप मसाल र माओवादी थियो भने मालेबाट एमाले बन्यो । हामी उतिखेर साम्यवादको कल्पनामा गीत गाउन थालिसकेका थियौँ-
लेउ विचार माओको
बुद्धि लेउ चाओको
बसी खाने साहुको
नछोड है फोर टाउको ।
हामी चिनियाँ साहित्य पढ्थ्यौँ । युवाको गीत, रातो चट्टान, रातो लाल्टिन, ह्वाङहोको गीतजस्ता सिर्जना नेपालीमा अनुवाद भइसकेका थिए । लु सुन र याङ मोका साहित्य पनि नेपालमा पाइन्थे । नेपालमा उपलब्ध हुने चीन सचित्र र पेकिङ रिभ्यूजस्ता पत्रिकाले राजनीतिक सोच राख्थे । इसापूर्व पाँचौँ सदीको सुन्जुको आर्ट अफ वार त पछि जनयुद्धमा फौजी अध्ययनको मूलग्रन्थ नै बन्यो । आध्यात्मवादीले सोच्नेजस्तै स्वर्ग चीन र एकछत्र नायकका रूपमा जनयुद्धताका माओ त्सेतुङलाई सोचिन्थ्यो ।
पछि मैले उनीसँग जनयुद्धका समयमा माओवादीको दोस्रो तेस्रो तहका नेताहरूले के के अध्ययन गर्दा हुन् भनेर सोधेको थिएँ । उनका अनुसार माओको रेडबूक, सङ्कलित सैन्य रचनाहरू र सुन त्जुको आर्ट अफ वार नै बढी पढिएको थियो । त्यसैगरी गोञ्जालोका रचना र भारतीय माओवादी पार्टीका रचना र भारतीय लेखकका क्रान्तिकारी रचनाहरूको अध्ययन गर्ने गरिन्थ्यो भनेर बताएका थिए ।
भीम रावलले फालेको कम्युनिज्मको खोल
नेपाली अर्थतन्त्रको वैकल्पिक बाटो : हरि रोकाको प्रस्ताव
नयाँ पुस्ता, वितृष्णा र नयाँ दलका कुरा
थप लेख
लोकप्रिय (यो साता)
-
१
भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार
-
२
राष्ट्रपतिले किन रोके भूमि अध्यादेश ?
-
३
भीम रावलले टुङ्ग्याए नयाँ पार्टीको नाम
-
४
रवि लामिछानेलाई परिवारको जिम्मा लगाइयो
-
५
वैकल्पिक राजनीति र नयाँ पार्टीको भविष्य
-
६
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश
-
७
वैकल्पिक राजनीतिको मायाजाल
-
८
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो
न्यूज अपडेट
-
पोखरा लेकर्समाथि काठमाडौं माभरिक्सको रोमाञ्चक जित
-
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
-
वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्नेलाई म्याद थप गरी अनुसन्धान
-
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
-
लेबनानमा इजरायली सैन्य कारबाही रोक्न राष्ट्र संघका प्रमुख गुटेरेसको आह्वान
-
यूएईमा ग्लोबल आइएमईको प्रायोजनमा सिस्नुपानीको ‘दुई थोपा हाँसो’
-
हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
Facebook Comment
Comment