काठमाडौं । सोलुखुम्बुकी अस्मिता मगर सानैबाट महिला सशक्तीकरणमा चासो राख्थिन् । छोरी मान्छेले घर परिवार सम्हाल्नुपर्छ भन्ने समाजको सोचलाई परास्त गर्ने आँट उनलाई सगरमाथा मिलीजुली साना किसान महिला सहकारीले दियो ।
२०७४ सालमा स्थापना भएको उक्त सहकारीले अस्मिताको गाउँमा महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै अर्ग्यानिक खेती गर्न सिकायो । सहकारीमा आबद्ध भएपश्चात् उनले पनि गाउँमा अर्ग्यानिक फलफूल तथा सागसब्जी लगाउन थालिन् ।
यससँगै, गाउँका अर्ग्यानिक उत्पादनहरूलाई बजारीकरण गर्ने बाटोको खोजी सुरु भयो । त्यही समयबाट आफू गाउँ, समाज मात्र नभएर सिंगो सोलुखुम्बु जिल्लालाई नै चिनाउने बाटोमा अघि बढेको उनको भनाइ छ ।
यसरी जन्मियो ‘सोलु सिस्टर्स’
स्वास्थ्य विषय लिएर कक्षा १२ उत्तीर्ण गरेकी अस्मितालाई स्वास्थ्य क्षेत्रमै जागिर खुवाउने रहर परिवारमा नजागेको पनि हाेइन । यद्यपि, संस्थामा आबद्ध भइसकेपछि अस्मिताको ध्यान हेल्थ सेक्टरभन्दा पनि ग्रामीण कृषि प्रवर्द्धनतर्फ खिचियो ।
अस्मिता भन्छिन्, ‘हेल्थबाट १२ पास गरे पनि मलाई त्यो क्षेत्रमा रुचि नै जागेन । हामीले घर-घरमा बनाएर खाने गरेका खानेकुरा अरुलाई पनि चखाउन मन लाग्यो । यसलाई बजारसम्म कसरी पुर्याउन सकिन्छ र अर्ग्यानिक खेती कसरी गर्ने ? जस्ता कुराले मलाई तानिरह्यो ।’
सुरुवात गाह्रो रहे पनि बिस्तारै अस्मितालाई परिवारको साथ मिल्यो । सँगसँगै, गाउँका अरू दिदिबहीनी पनि यस अभियानमा जोडिए । बिस्तारै अस्मिताले परिवारको दह्रो साथ पाइन् ।
सगरमाथा मिलीजुली सहकारीले अस्मिताको गाउँमा एउटा संस्था खडा गरिदियो । संस्था सुरु भएसँगै अस्मिताले एउटा बलियो टिम पाइन् । त्यसपछि जन्मियो ‘सोलु सिस्टर्स’ ।
सोलुको स्वाद : गाउँदेखि राजधानीसम्म
‘पहिला यो खाना घरघरमा खाइरहेका थिए । हामी टिम बनिसकेपछि यसलाई हटिया, बजार हुँदै सहरसम्मकै मानिसहरूलाई कसरी खुवाउने भनेर हामी झन् सशक्त भएर लाग्यौँ,’ अस्मिता सुनाउँछिन् ।
सोलु सिस्टर्सले सबैभन्दा पहिला सोलुको केरुङमा आफ्नो हातले बनाएको अर्ग्यानिक डिसको व्यापार गरेकाे थियाे । सो समयमा पालिकाबाट पनि आफूहरूलाई राम्रो सल्लाह-सुझाव र साथ पाएको उनको भनाइ छ ।
सोलु सिस्टर्सको लोकल खानाले बिस्तारै चर्चा बटुलेसँगै विभिन्न एनजीओहरूले पनि बलियो साथ दिएको उनी बताउँछिन् । अहिले उनीहरूको सो खाना हटिया, बजारदेखि सहर हुँदै देशको राजधानी काठमाडौंसम्म भित्रिसकेको छ ।
सोलु सिस्टर्सको लोकल खानाको स्वाद काठमाडौं निवासीहरूले पनि चाखिसकेका छन् । सोलु सिस्टर्सकाे टिम लोकल फुड चखाउनकै लागि गत ८ गते काठमाडौं आएकाे थियाे । गत शनिबार र आइतबार ललितपुरको कुपन्डोलस्थित रैथाने क्याफेमा उनीहरूले आफ्नो फुड फेस्टिभल मनाएका थिए ।
सोलु सिस्टर्सको रैथाने फुडको स्वाद लिनकै लागि त्यहाँ विद्यार्थीदेखि विदेशीसम्मको भीड लागेको थियो । सोलुको विभिन्न अर्ग्यानिक परिकार पकाउने सरसामानदेखि खाद्यान्न उनीहरूले उतैबाट ल्याएका थिए ।
सांस्कृतिक पहिरनमा सजिएर लोकल खानेकुरा बनाइरहेका सोलु सिस्टर्सको टोली गज्जबकै देखिन्थ्यो । उनीहरूले खानाका विभिन्न आइटम लाइभ बनाएर सर्भ गरिरहेका थिए ।
उनीहरूको मेन्युमा फाल्गी, सुच्या, रिकीकुर खाजा सेट, पम्पकिन पुडिङ, मकै, सेल रोटी, रिलडोक, स्याक्पा, फापर रोटी खाजा सेट र दूध रोटी रहेको थियो ।
सोलुको लोकल उत्पादनहरूलाई प्याकिङ गरेर बिक्रीमासमेत राखिएको थियो ।
‘हामीले सबै सोलुबाट नै ल्याएका छौँ । पानी र तेल मात्र यताको हो, बाँकी सबै सोलुबाट नै ल्याएर तपाईँहरूलाई लोकल सोलु स्वाद चखाउन आएका छौँ ।’ मुस्कानसहित अस्मिताले भनिन् ।
चुल्हो चौकाले राजधानी ल्याइ पुर्यायो
एक छोराकी आमा प्रमीला खड्का सोलु सिस्टर्सकी अर्की सदस्य हुन् । जिल्लामा सोलु सिस्टर्सको टिम २०० भन्दा बढी रहेता पनि आफूहरू ७ जना मात्र राजधानी आएको उनी बताउँछिन् ।
उनी बेलाबेला छोरालाई फकाउँदै, सम्झाउँदै फर्सीको खिर बनाउनमा व्यस्त देखिन्थिन् । व्यस्तताको बाबजुद पनि थोरै समय निकालेर हाम्रो जिज्ञासा र प्रश्नको जवाफ दिएकी प्रमीला सोलु सिस्टर्समा जोडिएको ५ वर्ष भएको रहेछ ।
उनी भन्छिन्, ‘म यो संस्थामा जोडिएको ५ वर्ष जति भयो । गाउँकै दिदिबहिनीले अर्ग्यानिक खानेकुराको प्रचार गरिरहेको देख्दा मलाई पनि यसमा जोडिन खुब मन लाग्थ्यो ।’
सो समयमा आफ्नो छोरा सानो रहेकाले आफूले सोलु सिस्टर्सलाई जोइन गर्न नपाएको तर पछि छोरा हुर्किएपछि आफू सोलु सिस्टर्समा जोडिएको उनी बताउँछिन् ।
‘छोरा हुर्किएपछि म पनि फुर्सदिली भएँ, त्यसैले यसमा लागेर काम गर्न थालेको छु । यस्तो काम गरिरहँदा निकै सन्तुष्टि पनि मिल्दो रहेछ,’ प्रमीला सुनाउँछिन् । उनको परिवारले पनि राम्रो साथ दिएका छन् । छोराको आमा भए पनि उनलाई परिवारबाट कुनै रोकावट छैन ।
प्रमीला सुनाउँछिन्, ‘श्रीमानले नै जाऊ भन्नुहुन्छ, नयाँ ठाउँ घुम्न पाइन्छ । अनुभवहरू बटुलिन्छ । तिमीहरूको काम राम्रो छ, यसले प्रचार पाउनुपर्छ भन्नुहुन्छ,’ उनी थप्छिन्, ‘सबैले राम्रो काम र मिठो खानेकुरा भनेर तारिफ गरिरहँदा खुसी लाग्छ । तर कतिले भने अलि महँगो भयो पनि भन्नुहुन्छ रे ! अब त्यति टाढाबाट ल्याएका छौँ । कति मेहनतले फलाएका छौँ । अलिअलि महँगो त भइहाल्छ नि !’
छोरी मान्छेले पनि केही न केही गर्नुपर्ने, सही र गलत छुट्याउन सक्ने भइसकेपछि श्रीमान् र परिवारको भरमा मात्र बस्न नहुने उनको धारणा छ । यदि इच्छाशक्ति र मेहनत छ भने छोरीहरू चुलोचौकाबाट माथि उठ्न सक्ने ठाउँ रहेको उनी बताउँछिन् ।
Facebook Comment
Comment