उपनिर्वाचनमा माओवादी-समाजवादीको ‘कम्मन अन्डरस्ट्यान्डिङ’- तालमेल हुन सक्छ

के गर्लान् नेसपा र नेकपा ?

नेपालभ्युज

उपनिर्वाचनमा माओवादी-समाजवादीको ‘कम्मन अन्डरस्ट्यान्डिङ’- तालमेल हुन सक्छ

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । कीर्तिपुर नगरपालिका प्रमुखसहित ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख दलहरू त्यसको तयारीमा जुटेका छन् । उनीहरू निर्वाचनलक्षित छलफलमा जुट्ने र उम्मेदवार टुङ्ग्याउने काममा व्यस्त छन् ।

यही बेला समाजवादी मोर्चासम्बद्ध दुई ठूला दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल हुने चर्चा छ ।

त्यसो त माओवादी केन्द्रले एकीकृत समाजवादीसँग मात्रै होइन, समाजवादी मोर्चासम्बद्ध अरु दलहरूसँग पनि चुनावी तालमेल हुन सक्ने बताएको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले समाजवादी मोर्चासम्बद्ध दलहरूसँग चुनावी तालमेल हुन सक्ने तर, कांग्रेस-एमालेसँग तालमेल हुन नसक्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “कांग्रेस-एमालेसँग त हुँदैन, गर्दैनौँ । समाजवादी मोर्चासँगको चुनावी तालमेलका लागि भने ढोका खुल्लै छ ।”

एकीकृत समाजवादीले पनि तालमेल हुन सक्ने बताएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालभ्युजसँग भने, “उपनिर्वाचनका बारेमा माओवादी र हाम्रो ‘कम्मन अन्डरस्ट्यान्डिङ’ नै हो ।”

उनले थप भने, “सत्तारूढ दलहरूबाहेक अरु दलसँग चुनावी तालमेल हुन सक्ने नै हामीले पनि भनेका छौँ । अझ त्यसमा समाजवादी मोर्चाको कुरा त छँदैछ नि । छलफल गरेर, मिलेर नै अगाडि बढ्छौँ । चुनावी तालमेल हुनसक्छ ।”

कहाँ कसले कसलाई सघाउने भन्नेबारे भने छलफल प्रारम्भ भइनसकेको तर, छलफल हुन सक्ने महासचिव भुसालले बताए । “त्यसका लागि वातारण बन्ला अनि छलफल होला,” उनले भने ।

त्यसो त समाजवादी मोर्चामा अन्य दुई दल पनि छन्- नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) ।

यसमध्ये नेपाल कम्युनिष्ट पार्टीले चुनावमा भाग नलिने बताइसकेको छ । तर, देशभक्त, जनप्रगतिशील र वामपन्थी उम्मेदवारलाई समर्थन गर्न सकिने उसले जनाएको छ ।

नेकपा स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीका अनुसार पार्टीले त्यसैगरी तयारी गरेको छ । “आफैँ उम्मेदवार नउठाउने तर, देशभक्त र प्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने भन्ने कुरा छ,” उनले भने ।

यादव-श्रेष्ठ पक्षीय नेसपाले अहिल्यै निर्णय गरिसकेको छैन । तर, माओवादी केन्द्रसँग साझेदार गरेर उम्मेदवार उठाउनेबारे प्रारम्भिक छलफल भएको नेता गंगानारायण श्रेष्ठले बताए ।

“४४ वटै स्थानमा मिलाएर उम्मेदवार उठाउने तर, एक्लाएक्लै चुनावमा नजाने भन्ने कुरा छ । सम्भवत: त्यही हुन्छ होला । थप छलफल गर्छौँ,” नेता श्रेष्ठले भने ।

  • सम्बन्धित सामग्री

स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको लहर बढ्ने सम्भावना, कीर्तिपुरमा राजमानको उम्मेदवारीले तरङ्ग


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved