राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडर

नेपालभ्युज

राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले नेपाली सिनेमाका महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।

सोमबार नक्सालस्थित आयोजित एक पत्रकार सम्मेलनमा टोलीले अभिनेता हमाललाई ब्रान्ड एम्बासडर घोषणा गरेको हो।

नेपाली चलचित्र उद्योगमा दशकौँ लामो योगदान दिएका हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् ।

नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ʻमहानायक’ को रुपमा पनि चिनिन्छ ।

ब्रान्ड एम्बासडरको रुपमा नियुक्त भएपछि हमालले आफ्नो विचार राख्दै भने, ‘लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।’

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई स्वागत गर्दै भने, ‘चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा हामी निकै खुसी छौँ । हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ ।’

लुम्बिनी लायन्सको यो नयाँ घोषणाले यस फ्रेन्चाइजका साथै नेपाली खेलकुदमा नै नयाँ उत्साह र ऊर्जा थप्नेछ । एनपीएल आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved