पार्टी फुटाउन लागेको प्रमाण देखाउन सीकेलाई गोमाको चुनौती, कारबाही गरे कानुनी उपचार खोज्ने सङ्केत !

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीका ह्वीपहरू उल्लङ्घन गरेको खण्डमा सम्बन्धित सांसदको दलको प्रमुख सचेतकले केन्द्रीय समितिलाई जानकारी गराउने र केन्द्रीय समितिले निर्णय गरेर कारबाही गर्ने प्रावधान छ ।

नेपालभ्युज

पार्टी फुटाउन लागेको प्रमाण देखाउन सीकेलाई गोमाको चुनौती, कारबाही गरे कानुनी उपचार खोज्ने सङ्केत !

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो समानुपातिक सांसद गोमा लाभ सापकोटालाई कारबाहीका लागि तेस्रोपटक संसद् सचिवालयलाई पत्राचार गरेको छ ।

पार्टीले कारबाही गरिसकेको उल्लेख गर्दै सांसद गोमालाई पदबाट हटाउन जनमतले कात्तिक १ गते तेस्रोपटक संसद् सचिवालयलाई पत्राचार गरेको हो ।

त्यसो त जनमतले यसअघि पनि दुईपटक कारबाहीका लागि संसद् सचिवालयलाई पत्राचार गरिसकेको थियो । तर, प्रक्रिया नपुगेको भन्दै सभामुख देवराज घिमिरेले कारबाही गरेनन् । जनमतले यसअघि २०८० फागुन १४ गते र २७ गते पत्राचार गरेको थियो ।

जनमतले सांसद गोमाले ‘पार्टी फुटाउने गरी अरु दलहरूसँग छलफल गरेकाले’ कारबाही गरिएको उल्लेख गरेको छ । जनमतका प्रवक्ता शरदसिंह यादवले भने, “उहाँले पार्टी हितविपरीतका कार्यहरू गर्ने, पार्टी नै फुटाउनका लागि गतिविधि गर्ने गर्नुभयो । यसपछि पार्टीबाट रीतपूर्वक कारबाही गरेर संसद् सचिवालयलाई पत्राचार गरिएको हो ।”

यसअघि दुईपटक गरिएका पत्राचारबारे संसद् सचिवालयले प्रक्रिया नपुगेको भनेको उल्लेख गर्दै तेस्रोपटक भने प्रक्रिया पुर्‍याएर पत्र पठाइएको प्रवक्ता यादवले बताए ।

“यसअघि दुईपटक पत्राचार गरिसकिएको हो,” उनले भने, “तर, प्रक्रिया नपुगेको भनेर त्यसलाई टारियो । त्यसपछि तेस्रोपटक विधि, प्रक्रिया पुर्‍याएर पठाइएको हो । प्रक्रिया अगाडि बढ्छ भन्ने विश्वास छ ।”

सांसद गोमा भने आफूले पार्टी फुटाउने गरी कुनै पार्टी वा पार्टीका नेतासँग छलफल नगरेको दाबी गर्छिन् ।

“मैले पार्टी हितविपरीत कुनै काम गरेको छैन । उहाँहरूले आरोप लगाएजस्तो पार्टी फुटाउनेगरी कुनै पार्टी वा पार्टीका नेतासँग छलफल गरेको छैन । यदि छ भने प्रमाण दिन म उहाँहरूलाई चुनौती दिन्छु,” उनले भनिन् ।

कारबाही गरिए कानुनी उपचार खोज्ने सङ्केत उनले गरिन् । पार्टीले कारबाहीको सिफारिस गरिसकेको छ, कारबाहीमा परे के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, “धेरै बाटा छन् । त्यसबेलै थाहा हुन्छ ।”

कानुनी उपचार खोज्ने कुरा गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने, “त्यो पनि एउटा बाटो हो ।”

उसो त यस सन्दर्भमा संसद् सचिवालय भने तत्कालै कदम चालिहाल्ने अवस्थामा देखिँदैन । किन पनि भने सांसद गोमाको सन्दर्भमा कारबाहीका लागि सम्बन्धित कानूनहरू स्पष्ट रूपमा आकर्षित हुँदैनन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै पनि सांसद त्यसबेला मात्रै कारबाहीयोग्य हुन्छ, जतिबेला उसले विभिन्न सन्दर्भका पार्टीका ह्वीपहरू उल्लङ्घन गर्छ । तर, सांसद गोमाको सन्दर्भमा त्यो देखिँदैन ।

संसद् सचिवालय स्रोतका अनुसार यसबारे अहिल्यै निर्णय हुँदैन । “यसबारे कानुनी रूपमा छलफल भएपछि मात्रै निर्णय लिने काम हुन्छ । यसबारे छलफल हुनै बाँकी छ । त्यसैले आजै वा भोलि नै निर्णय लिइने विषय यो होइन,” स्रोतले भन्यो ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीका ह्वीपहरू उल्लङ्घन गरेको खण्डमा सम्बन्धित सांसदको दलको प्रमुख सचेतकले केन्द्रीय समितिलाई जानकारी गराउने र केन्द्रीय समितिले निर्णय गरेर कारबाही गर्ने प्रावधान छ ।

जनमतका प्रवक्ता शरदसिंह यादव आफूहरूले यी सबै प्रक्रिया पुर्‍याएको बताउँछन् । “हामीले सबै प्रक्रिया पुर्‍याइसकेका हौँ । तेस्रो पत्रपछि चाहिँ प्रक्रिया अगाडि बढ्छ भन्ने विश्वास छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved