महेन्द्रनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आज उद्घाटन गरेका छन् ।
मुख्यमन्त्री सिँहले मधेशका पर्व तिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूहबद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने बताए । उनले सामाचकेवा पर्वले भाइबहिनीबीचको स्नेहलाई प्रकट मात्र गर्ने नभएर टोलछिमेकसँगको कसिलो र सार्थक सम्बन्ध तथा तथा त्यसबाट सकारात्मक परिणाम खोज्ने रीति रहेको पर्वका क्रममा उधिन्ने विषयवस्तु, परिवेश र पात्रहरूले आदर्श समाज निर्माणको परिकल्पना गरेको बताए ।
सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्यमान्यता रहेको प्रस्ट पार्दै मुख्यमन्त्री सिँहले सांस्कृतिक तथा परम्परागत पर्व तिहारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले सामाचकेवाका पात्रहरूको परिचय र महत्वसहितको आधिकारिक विवरण समेटिएको श्रव्यदृश्य निर्माण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे। उनले भने, “सांस्कृतिक उत्सव र यसभित्रका अन्तर्वस्तुको अभिलेखीकरण हुनेछ ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्ने उद्देश्यले सामाचकेवासम्बन्धी कार्यशाला आयोजना गरिएको उल्लेख गर्दै मूतिकलामा निपुणताबाट जीविकोपार्जनको अवसर जुर्नसक्ने बताए । उनले कार्यविधिबाट नभएर ऐनबाटै मधेशमा प्रज्ञा–प्रतिष्ठान गठन गर्न सुझाव दिए ।
मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले संस्कृति उत्थानका लागि मैथिली विकास कोषले काम गरिरहेकामा त्यसको सराहना गरे । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सामाचकेवा लोप नभई सामाचकेवाका पात्रहरूका बारेमा परिचय तथा भूमिका पुनःस्थापित हुन आवश्यक रहेको बताए । साहित्यकार डा राजेन्द्र विमलले मिथिलाञ्चलका परम्परा पछाडि जीवनमूल्य रहेको उल्लेख गरे ।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं प्राज्ञ सदस्य दिनेश महतोले रैथाने कलालाई इतिहासका पानामा हराउन नदिन नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवाका मूर्ति निर्माण कार्यशालाबाट नयाँ पुस्तामा समेत आफ्ना परम्परागत कला सिक्न र जगेर्ना गर्ने कौशल हासिल हुने बताए । उनले जनकपुरधाम तथा यहाँका धरोहरको गौरव गरिमा वृद्धि गर्नेगरी जनक र जानकीको मूर्ति उत्पादन गर्नुका साथै बिक्री–वितरण गर्ने प्रबन्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्यमन्त्री सिँह र नेपाल ललितकला प्रतिष्ठानका कुलपति हार्तम्छालीलाई आयोजक संस्थाले सम्मान गरेको थियो । सो अवसरमा मिथिलाञ्लका गायक सुनिलकुमार मल्लिकले सामाचकेवाका गीत गाएका थिए । रासस
Facebook Comment
Comment
One thought on “‘सामाचकेवा आत्मानुशासनको पर्व’”