काठमाडौं । विराटनगरमा पक्राउ परेका कोशीका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।
मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ गरी साढे तीन बजे विराटनगर एयरपोर्टबाट काठमाडौं ल्याइएको हो ।
उनलाई काठमाडौं प्रहरी परिसर भद्रकाली लगिँदै छ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलेपछि पक्राउ गरिएको हो ।
अरूलाई पक्राउ गरिएको तर, एमाले सांसद् एवं पूर्वमन्त्रीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।
अधिकारीको नेतृत्वमा चारै जना आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान उडेका थिए । तर, मानव तस्करी गरेर युवालाई जापान लगेको खुलेपछि अध्यागमनले फिर्ता गरेको थियो ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए ।
अधिकारीसँग रहेका तीन युवालाई जापानबाट भगाउने मानव तस्कर गिरोहको योजना रहेको थियो । अधिकारी स्वयंले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् ।
जापानबाट फिर्ता गरिएका युवाले पाण्डेलाई प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन् । उनीहरुसहित अन्य तीन जना पनि पक्राउ परेका छन् ।
Facebook Comment
Comment