काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेससँग बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरेको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । सरकारको नीतिगत प्राथमिकता र संकल्पलाई सहजीकरण गर्न संयन्त्र बनाइएको उनले बताए ।
सञ्चारकर्मीसँग ज्ञवालीले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ, सरकारले त्यसलाई आत्मसाथ गरेको छ । त्यसलाई सहजीकरण गर्ने र दुई दलबीच सहकार्य भइरहने वातावरणका लागि संयन्त्र बनेको हो ।’
कांग्रेस र एमालेले कात्तिक २१ गते ८ सदस्यीय संयन्त्र बनाएका थिए ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजू राणा देउवा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल छन् ।
Facebook Comment
Comment