काठमाडौं । प्रहरीले पशु चौपायालाई निर्दयी तरिकाले बाँधेर ओसारपसार गरिरहेको आरोपमा एक ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका-४ घर भएका २६ वर्षीय कमल धामी छन् ।
उनलाई कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका-७ जवाभारीबाट प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तु जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीकाअनुसार धामीले २१ वटा गोरूका पुच्छर ट्रकको छतमा डोरीले बाँधेका थिए भने नाक पनि डोरीले छेडेर बाँधेका थिए ।
साथै, गोरूलाई खुट्टा बाँधेर पल्टाएका थिए । प्रहरीका अनुसार ना६ख ३७०८ नम्बरको ट्रक पूरै त्रिपालले ढाकेर सास फेर्नसमेत गाह्रो बनाएर एक ठाउँबाट अर्को ठाउँमा गोरू ओसारपसार गर्दा उनी पक्राउ परेका हुन् ।
प्रहरीले ट्रक नियन्त्रणमा लिएर सबै गोरूको डोरी काटेर जवाभारीको वनमा छाडेको छ ।
धामीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० को (१) बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment