काठमाडौं । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पार्टीका सबै पदबाट मुक्त गर्नका लागि निवेदन दिएका छन् ।
आफूलाई सबै पदबाट मुक्त गर्नका लागि अधिकारीले निवेदन दिएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
“प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो, त्यसको जवाफ र जिम्मेवारी मुक्त गर्न एकैसाथ निवेदन दिनुभएको छ । उहाँले दिएको निवेदनमाथि पार्टीमा छलफल गरेर निर्णय हुन्छ,” अध्यक्ष खतिवडाले भने ।
अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गएपनि त्यहाँको अध्यागमन विभागले फिर्ता गरेको थियो ।
अधिकारीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन् ।
विवाद भएपछि अधिकारीले गत २० गते नै राजीनामा दिइसकेका छन् ।
Facebook Comment
Comment