काठमाडौं । सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धान कार्यालयको टोलीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कार्तिक २२ गते ११२ बोरा चिनी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याइ गोदाममा राखेको भन्ने सूचनाका आधारमा खटिएको सशस्त्रको राजस्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।
बरामद चिनी राजस्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भीडले बाटो अवरुद्ध गरी ढुंगामुढासमेत प्रहार गरेको सशस्त्रका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
‘सो लगत्तै सशस्त्रको नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको ७० जनाको टोलीले भीडलाई तितरबितर पारी बरामद चिनी राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाएको छ,’ उनले भने ।
उक्त भीडले ढुंगामुढा गर्दा दुईजना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्रको सुरक्षा वेश लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।
Facebook Comment
Comment