प्रतिभाशाली कलाकार बिनु शाक्य, जसले नामुद ठगको प्रेम र झूटा सपनामा फसेर आफ्नो करियर र इज्जत गुमाइन् । चर्चाको शीखरमै रहँदा विदेश भाग्नुपर्यो । दर्जनौँ अवसर गुमाउनुपर्यो । अहिले ८ महिनाको छोरासहित हिरासतमा पुगेपछि पश्चात्ताप गर्दैछिन् ।
काठमाडौं । बिनु शाक्य कुनै बेलाकी चर्चित बेली डान्सर र मोडल हुन् । मनमोहक प्रस्तुतिका कारण छुट्टै पहिचान बनाएकी उनको म्युजिक भिडिओ, लाइभ शो तथा फेसन शोमा राम्रो माग हुन्थ्यो ।
बेली डान्सरको रूपमा बिनुको नाम सुनिनासाथ दर्शक रमाउँथे, खुसीले हल्ला गर्थे । त्यसैले मेला-महोत्सवमा पनि उनको माग उत्तिकै हुन्थ्यो । २०७० को दशकबाट उनी अझ व्यस्त हुन थालेकी थिइन् ।
बिनुलाई सामाजिक सञ्जालमा समेत धेरैले पछ्याइसकेका थिए । उनले टिकटकमा ११ लाख, इन्स्टाग्राममा १ लाख २५ हजार र फेसबुकमा झन्डै २ लाख फलोअर्स कमाइसकेकी थिइन ।
उनले म्युजिक भिडियो तथा स्टेज शोमा मात्र होइन, सिनेमामा समेत काम पाइरहेकी थिइन् । सिन्धुपाल्चोक घर भएकी बिनुको डान्सको चर्चा सबैतिर हुन्थ्यो ।
उनको करियर उचाइमा पुगिसकेको थियो, जीवनमा सबथोक राम्रै भइरहेको थियो । तर, उनको जीवनमा अकस्मात् अँध्यारो त्यतिबेला छिर्यो, जतिबेला उदयपुर त्रियुगा नगरपालिका १० का सुजन आचार्यसँग भेट भयो ।
बिनुभन्दा चार/पाँच वर्ष कान्छा सुजन आकर्षक थिए, मीठो बोल्थे । उनीहरूबीच प्रेम भयो, जुन बिनुका लागि साँचो थियो भने सुजनका लागि सफेद झुट ।
दैनन्दिन बिनु सुजनको मीठो कुरामा डुब्दै गइन् । २०७९ सालतिरको कुरा हो, बिनु अकस्मात् अलप भइन् । दर्शक र प्रशंसक छक्क परे— बिनु आखिर कहाँ हराइन् ?
उनी हराएको २ वर्षपछि केही दिनअघि उनका फ्यान/फलोअर्सहरूले अप्रिय खबर सुने— करोडौं ठगेर विदेश भागेकी बिनु पक्राउ परिन्, उनलाई अहिले नेपाल ल्याइएको छ ।
***
खासमा बिनु सुजनकै कारण विदेश भागेकी रहेछिन् । तीन वर्षअघि भेटिएका सुजनकै कारण उनी पनि ठगीमा मुछिएर बदनाम भएकी थिइन् ।
तीन वर्षअघि २५ वर्षको हुँदा आफूभन्दा चार वर्ष कान्छा २१ वर्षका सुजनसँग प्रेममा परेकी थिइन् बिनु । त्यसको वर्ष दिनपछि उनीहरू विदेश भागेका थिए ।
भेटको सुरुआती समयमा चिल्लो कारमा बडीगार्डसहित भेट्न आउँथे सुजन । फोनमा करोड घटीको कुरा गर्थेनन् ।
सुजनले ठूला गफ लगाएर बिनुलाई भविष्यको सुनौलो सपना देखाएका थिए । उनी बिनुलाई भन्थे, “सिंगापुरमा होटेल छ । त्यतै सेटल हुनुपर्छ ।”
चितवनमा रहेको चौधरी ग्रुपको रिसोर्टलाई आफ्नो भएको भदै गफ लगाउँथे । सुजनका यस्तै यस्तै कुराले बिनुलाई पँगाल्यो । आफ्नो करियर सेटल हुन्छ भन्ने सोचिन् । तर, उनलाई के थाहा; ती मानिस वास्तवमा ठग थिए ।
उनी करियरको उचाइमा पुग्दै गर्दा सुजनको झुटो प्रेममा परिन्, तब उनको बर्बादी सुरु भयो । त्यो बेला सुजनले सयौँ युवालाई विदेश लैजाने भन्दै रकम असुलिरहेका थिए । सुजन यसअघि २ वटा मुद्दामा हिरासत पुगिसकेका थिए ।
हिरा चोरीको मुद्दामा सफाइ पाए पनि अर्को मुद्दा चलिरहेको थियो । एक अभिनेत्रीको अश्लील भिडिओ भेटेपछि ७ करोड रुपैयाँ बार्गेनिङ गरेको मुद्दामा धरौटीमा छुटेका थिए ।
उनै सुजन फेरि सुध्रिएनन् । ठगीधन्दा जारी राखे । पैसा असुल्नको लागि प्रेमिका बिनुको लोकप्रियताको समेत दुरुपयोग गरे ।
बिनुको नेम र फेम बेचेर सुजनले सिंगापुर लगेर होटेलमा काम लगाइदिने भन्दै पैसा असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
युवाहरू बिनुलाई विश्वास गर्थे र लाखौँ रुपैयाँ बुझाउँथे । खासमा सुजनको मनसाय बिनुलाई प्रेममा पारेर आफ्ना गलत धन्दामा उनको पहिचान र प्रतिष्ठालाई प्रयोग गर्नु थियो ।
सुजनले युवाहरू भेट्थे । आफ्नो खातामा मात्र नभई प्रेमिका बिनुको बैंक खातामा पैसा पठाउन भन्थे । बिनुको खातामा पैसा आएपछि आफ्नोमा ट्रान्स्फर गर्थे ।
नेपालभ्युजलाई प्राप्त कागजातमा वैदेशिक रोजगारीका लागि भन्दै सुजन बिनुलगायतले युवाबाट करोडौं रकम असुलेको देखिन्छ ।
श्रम नै नगरी सिधै सिङ्गापुर लगेर मासिक ४ लाख रुपैयाँसम्मको जागिर दिने आश्वासनमा रकम असुलेर बिल्लीबाठ पारिएको पीडितले बताएका छन् ।
सय जनामध्ये ५० युवाले उनीहरूविरुद्ध जाहेरी दिएका छन् । उजुरी दिएका ५० जनाको मात्रै करिब ६ करोड रुपैयाँ फसेको छ ।
बिनुले उज्ज्वल भविष्यको सपना देखेर जसलाई माया गरेकी थिइन्, उही व्यक्तिले उनलाई प्रयोग गरेर ठगे । ठगीबाट जम्मा गरेको रकम अन्तै लगे ।
अन्तमा पीडितले बिनुविरुद्ध वैदेशिक रोजगार विभागमा ठगीको जाहेरी दिए । किनकि धेरै पीडितले बिनुको नाउँमा पैसा पठाएका थिए ।
प्रहरीले उनीहरूविरुद्ध छानबिन सुरु गरेपछि बिनु पनि सुजनसँगै भाग्न बाध्य भइन् । भागेर उनीहरू सिंगापुर पुगे । ठगेकै पैसाबाट सुजनले मोजमस्ती गरे । धेरै पैसा विदेशमा उडाए ।
अन्तमा पीडितलाई फिर्ता दिने पैसा बचेन । त्यहाँबाट उनीहरू केही समयपछि कम्बोडिया पुगे, जहाँ उनीहरूको छोरा जन्मियो ।
विदेशमा लुक्न परेपछि बिनुले आफ्ना धेरै महत्त्वपूर्ण अवसर गुमाइन् । करियरको उच्चतम् बिन्दुमा रहेको बेला विदेश भाग्नुपर्यो ।
आठ महिने छोरासहित हिरासतमा
सुजन र बिनु भागेपछि वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा दुवैविरुद्ध गतसालको १९ माघमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भयो ।
वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ५० व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगेको उजुरी परेको प्रहरीले जनाएको छ । २०८१ असोज १ गते कम्बोडियामा दुवै जना पक्राउ परे ।
बिनु भने ८ महिने काखे छोरासहित गत सोमबार नेपाल आइपुगिन् । बिनुलाई वैदेशिक ठगी सम्बन्धी कसूरमा कानूनबमोजिम कारबाही गराउने प्रयोजनार्थ प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ । ८ महिने छोरासमेत उनकै साथमा छन् ।
पश्चात्तापको आँसुमा डुबेकी बिनु
बिनु जस्तो एक प्रतिभावान् कलाकारले ठगको मायामा फसेर आफ्नो उम्दा करियरमा ठूलो असर बेहोर्नुपरेको उनको माइती पक्षको भनाइ छ ।
उनको परिवार (माइती पक्ष) भन्छ, “जुन सम्बन्धमा बिनु आफ्ना सपना र विश्वास समर्पण गरिन्, त्यही सम्बन्धले धोका दियो । उनलाई प्रयोग गरेर सुजनले ठगे । तर, बिनु परिबन्धले फसेकी छिन् ।”
परिवार स्रोतका अनुसार विदेशमा रहँदा बिनुले पश्चात्ताप गरिरहेकी थिइन् । उनको भनाइ उद्धृत गर्दै परिवारका एक सदस्य भन्छन्, “प्रेमकै कारण मेरो करियर ड्याजेम होला भन्ने सोचेको थिइनँ । म बर्बाद भएँ । अब के गर्ने होला ।”
हिरासतमा परेपछि बिनु झन् गम्भीर समस्यामा परेकी छन्, किनकि सुजनको परिवारले बिनुको खातामा आएको रकमप्रति कुनै जिम्मेवारी नलिने दाबी गरेको छ ।
सुजनलाई मात्रै छुटाउन उनका परिवारले प्रयास गरिरहेका छन् । सुजनको खातामा मात्र पैसा हालेका पीडितलाई केही रकम फिर्ता दिएर जाहेरी फिर्ता गराउने योजनामा छन् ।
तर, बिनुको खातामा आएको रकमबारे आफूहरूलाई थाहा नभएको बताउँदै सुजनका बुबा वेदराजले भने, “म आफ्नो छोरा मात्र चिन्छु, अरू कोहीसँग सरोकार छैन । अरू कुनै मान्छे चिन्दिन ।”
आफूले नलिएको तर, आफ्नो खाता प्रयोग गरी सुजनले लिएको रकमको जिम्मेवारी पनि बिनुले उठाउनुपर्ने देखिएको छ ।
बिनुको खातामा आएको देखिएको करोडौं रकम उनले अब कसरी तिर्लिन् ? वा अदालतले सुजनलाई नै जिम्मेवार देखाउला ? यो चासोको विषय बनेको छ ।
पक्राउपछि सुजनलाई वैदेशिक रोजगार न्यायाधिकरणको फैसला अनुसार सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको छ । बिनु भने वैदेशिक रोजगार न्यायाधिकरणको फैसला कुरिरहेकी छन् ।
विभिन्न व्यक्तिसँग फोटो खिचाउँदै सुजन, अर्कोतिर पीडितको पत्रकार सम्मेलन
Facebook Comment
Comment