टिप्पणी

के अमेरिकामा महिलाले राष्ट्रपति जित्ने छैनन् ?

२४८ वर्षदेखि अमेरिकाको नेतृत्व पुरुषले गरिरहेका छन् । यो कम्तीमा थप ४ वर्ष लम्बिने भएको छ । यात्रा, कार्यालय, साथीभाइको भेटघाट, परिवार सबैतिर फेरि एक अर्काे ‘महिला-घाटा’ को शृङ्खलाबद्ध कुराकानी हुँदैछ । आमाहरू छोरीहरूलाई सान्त्वना दिँदैछन् । निश्चिन्त भन्न सकिन्छ, ह्यारिसको पराजयले धेरै महिलामा पीडा र निराशाको लहर छाएको छ ।

के अमेरिकामा महिलाले राष्ट्रपति जित्ने छैनन् ?

अमेरिकी राष्ट्रपति पदका महिला उम्मेदवारको दृढता र प्रतिरोध सबैभन्दा कठोर र कडा ‘ग्लास सिलिङ’ थियो । तिनले आफूलाई ‘बिक्री नभएको र नढालिएको’ शुद्ध प्रतिस्पर्धी ठाने र यो विश्वास गरे कि राष्ट्र उनीहरूका लागि तयार छ । तर, एकपछि अर्को ती गलत साबित भए ।

२४८ वर्षदेखि अमेरिकाको नेतृत्व पुरुषले गरिरहेका छन् । यो कम्तीमा थप ४ वर्ष लम्बिने भएको छ । उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदका लागि लैङ्गिक अवरोध तोड्न असफल हुने पछिल्लो महिला बन्न पुगिन् । उनी डोनाल्ड ट्रम्पसँग पराजित दोस्री महिला हुन् ।

यात्रा, कार्यालय, साथीभाइको भेटघाट, परिवार सबैतिर फेरि एक अर्काे ‘महिला-घाटा’ को शृङ्खलाबद्ध कुराकानी हुँदैछ । आमाहरू छोरीहरूलाई सान्त्वना दिँदैछन् ।

कमला ह्यारिस ट्रम्पजस्ता व्यक्तिसँग हारेकी छन्, जो महिला अधिकारलाई खोस्न चाहन्छन्, जो महिला यौनाङ्गलाई लिएर मजाक गर्छन् र जो यौन दुर्व्यवहारका लागि दण्डित छन् । यसको अर्थ के होला ? अहिले स्वयम् आफू र आफ्ना प्रियजनलाई अर्थ बुझ्ने बुझाउने प्रयास भइरहेको छ ।

“इमान्दारिताका साथ भन्नु पर्दा म ट्रम्पसँग साँच्चै डराएकी छु,” निकोल सेलर भन्छन्, “मलाई यस कुराले भयभीत गर्दछ कि म त्यस्तो देशमा बसेको छु, जहाँ ५१ प्रतिशतले एक पूर्वाग्रही र स्त्रीद्वेषी मानिसलाई मतदान गर्दछन् र त्यसलाई ठीक ठान्दछन् ।”

निश्चिन्त भन्न सकिन्छ, ह्यारिसको पराजयले धेरै महिलामा पीडा र निराशाको लहर छाएको छ । तर, यसपटकको खेलमा अर्को भावना पनि थियो । सन् २०१६ मा जब ट्रम्पसँग हिलारी क्लिन्टन पराजित भएकी थिइन्, मानिसमा क्रोध र आघात थियो । त्यसले एक प्रकारको गुलाबी विरोध आन्दोलन जन्माएको थियो ।

तर, यसपटक ट्रम्प पहिलेभन्दा पनि फराकिलो र व्यापक जनादेशका साथ ह्वाइट हाउस फर्किएका छन् । देश पहिलो महिला राष्ट्रपति ल्याउनेभन्दा दोस्रोपटक स्त्रीद्वेषी ट्रम्पको स्वागत गर्नमा खुसी देखिएको भन्दै अहिले उदासीपन देखिएको छ ।

डेट्रोयटकी ४२ वर्षीया वातावरण अभियन्ता एबी क्लार्क भन्छिन्, “मेरो दिमागमा शून्यता छ । म अगाडि देख्न सकिरहेकी छैन । अब कसरी योजना बनाउने म भन्न सक्दिनँ, हामी हुनुपर्ने संसार कस्तो हो र वास्तविक संसार कस्तो भइरहेको छ ? यो बुझ्न कठोर र गाह्रो हुँदैछ ।”

हावर्ड विश्वविद्यालयको बधाई भाषणमा कमला ह्यारिसले पराजयको लैङ्गिक वा नश्लीय पक्षबारे केही बोलिनन् । त्यहाँ ‘ग्लास सिलिङ’बारे पनि कुनै कुरा भएन । ह्यारिसले सिधै उनलाई सुन्न आएका युवा मतदातालाई सम्बोधन गरिन् । उनले भनिन्, “यो विश्वलाई अझ राम्रो स्थान बनाउने प्रयास कहिल्यै नछोड्नुहोला, त्यो ताकत तपाईंहरूसँग छ । र, कसैले भन्यो कि विगतमा यो भएको थिएन, अब पनि हुँदैन, त्यो नपत्याउनु होला ।”

आफ्नो १५ हप्ता लामो चुनावी अभियानका क्रममा उनी एक अश्वेत महिलाका रूपमा आफ्नो उम्मेदवारीको ऐतिहासिक महत्त्वबारे मौन बसिन् । उनले राष्ट्रपतिका रूपमा ‘सबै अमेरिकीको सेवा गर्ने’ गर्ने इच्छा जताइरहिन् ।

यो रणनीतिले उनलाई ट्रम्पका नीति र चरित्रलाई चुनौती दिन स्वतन्त्र बनायो । चुनावको दिन आइपुग्दा उनले आफ्नो लिङ्ग र प्रतिस्पर्धीको नामसमेत समापन भाषणबाट बाहिर राखिन् । आफ्नो लडाइँको पार्टीले ट्रम्पको चरित्रमा आक्रमण गरेर महिलालाई अपिल गर्न खोज्यो । साथै, सर्वोच्च अदालतका तीन न्यायाधीश, जसले गर्भपतनको संवैधानिक अधिकारलाई उल्टाउन खोजेका थिए, तिनको नियुक्तिबारे ट्रम्पको गौरवलाई स्मरण गराउन खोज्यो ।

कमला ह्यारिसले आफ्ना र्‍यालीमा ट्रम्पले महिला, अल्पसङ्ख्यक र राजनीति विरोधीसँग गर्ने विचित्रका व्यवहार र आपत्तिजनक अभिव्यक्तिका ‘क्लिप’ देखाइन् । उनले गर्भपतन अधिकार प्रतिबन्धबाट नोक्सानी ब्यहोरेका महिलालाई तानेर कार्यक्रमका मञ्चमा ल्याइन् । उनी र उनका सल्लाहकार यो कुरामा आशावादी थिए कि ट्रम्पले उनका र्‍यालीमा गर्ने महिलासँगका व्यवहारको स्मरण हुनेछ ।

म्यासाच्युसेट्स सिनेटर एलिजाबेथ बारेन यो हानीबाट ह्वाइट हाउसतिर महिला मार्च ढिलो भए पनि सुस्त गतिमा प्रगतिमै रहेको ठान्दछिन् । उनी भन्छिन्, “२०२४ मा पनि यो अन्तिम रेखा पार हुन नसक्नु एकदमै निराशाजनक छ । तर, हामीले एक दशकमा धेरै लामो यात्रा गरिसकेका छौँ, हामीले हार मान्नु हुँदैन ।”

पुरुष मतदातालाई आफ्नो पक्षमा पार्न ट्रम्पले आक्रामक खेल खेले । उनले कमला ह्यारिसको वर्णन गर्न स्त्रीद्वेषी र दुर्व्यवहारपूर्ण भाषा प्रयोग गरे । ह्यारिससँग देशको नेतृत्व गर्ने क्षमता नभएको भन्दै बौद्धिक प्रतिभाको अपमान गरे ।

अभियानको अन्तिम दिन नर्थ क्यारोलिनाको एक र्‍यालीमा ‘ह्यारिस एक बेश्या थिइन्’ भन्ने सङ्केत गर्ने सहभागीको प्रतिक्रियालाई ट्रम्पले मुस्कुराउँदै सुनिरहे र अन्ततः ‘यो ठाउँ बडो गज्जब छ’ भने ।

ह्यारिसले यस्ता कुनै पनि कुराको प्रतिक्रिया दिइनन् । ट्रम्पलाई समर्थन गर्ने केही महिलाको तर्कअनुसार ह्यारिसको हार लैङ्गिक प्रश्नसँग थोरै मात्र सम्बन्धित छ । एक ट्रम्प समर्थक महिला फान्चोन ब्लिथ भन्छिन्, “मलाई लाग्छ कि अमेरिका सही महिला राष्ट्रपतिका लागि तयार छ तर, कमला ह्यारिस सही थिइनन् ।”

उनी ठान्दछिन् कि तुसली गबार्ड कुनै दिन त्यसका लागि उपयुक्त हुनेछिन् । गबार्ड पूर्वसांसद तथा डेमोक्र्याट्स थिइन् । उनी अहिले रिपब्लिकन बनेकी छन् र यसपटक ट्रम्पलाई समर्थन गरिन् ।

एरिजोना विश्वविद्यालयकी कार्यकारी सहायक कृष्टियान रेमिरेज लामो समयदेखि एक डमोक्र्याट्स थिइन् । सन् २०२० देखि उनले रिपब्लिकन पार्टीलाई भोट दिन थालिन् । यसपटक पनि उनले ट्रम्पलाई नै भोट दिइन् । उनको भनाइ पनि यही छ कि डेमोक्र्याटिक पार्टीले आफ्ना थुप्रै एजेन्डा गुमाएको छ । हारको कारण ह्यारिसको लिङ्ग नभएर पार्टीको नीति र व्यवहार हो ।

उनी भन्छिन्,”उनीहरू यो भन्दैछन् कि ट्रम्प महिला विरोधी हुन् । कमला महिला पक्षधर हुन् । तर, मलाई यस्तो लाग्दैन । यहाँ गर्भपतनको मात्र सवाल छैन, अन्य थुप्रै नीतिगत कुरा छन् ।”

१०५ वर्षसम्म अन्ततः १९ औं संविधान संशोधन नभएसम्म राज्यहरूले महिलालाई मताधिकार प्रयोग गर्न दिन अस्वीकार गरेका थिए । सबै महिला र अश्वेतले समेत मताधिकार प्रयोग गर्न सक्ने ऐन पारित भएको ५९ वर्षपछि पनि अमेरिकीले महिलालाई ह्वाइट हाउसमा नपठाउने निर्णय गरेका छन् ।

ह्यारिसले जानाजान अमेरिका माझ आफूलाई यो भूमिकामा देखाउन खोजेकी थिइन् । उनी युक्रेनी राष्ट्रपति ब्लोदोमिर जेलेन्स्कीसँगै उभिइन् । तुफान प्रभावित राज्यमा निरीक्षण गर्न गइन् । ह्वाइट हाउस अगाडिबाट चुनावी अभियानको समापन भाषण गरिन् ।

तर, सबैजसो जनसाङ्ख्यिक समूहले ट्रम्पप्रति नै झुकाव देखायो । बुधबारपछि डेमोक्र्याट्सहरू आत्म-समीक्षा गर्दैछन् । ह्यारिसको पराजयमा लिङ्गको प्रभाव कति होला ?

डेमोक्र्याटिक पार्टी नेब्रास्का अध्यक्ष जेने क्लिब भन्छिन्, “मलाई लाग्छ कि लिङ्ग, नश्ल, शहर, ग्रामीणता सबै चिजको महत्त्व छ । हामी बितेका २० वर्षदेखि रणमैदान रणनीतिमा थियौँ तर, त्यसले काम गरिरहेको छैन ।”

बेलायत, जर्मनी, इजरायल, भारत, क्यानडा, मेक्सिको आदि थुप्रै देशले महिला नेता निर्वाचित गरिसकेका छन् । यस मानेमा अमेरिका यी देशभन्दा पछाडि छ । लामो प्रतीक्षाका बाबजुद अमेरिका यस कार्यबाट अझै धेरै टाढा छ ।

आज पनि सङ्ख्यात्मक रूपमा देशको नेतृत्व पुरुषले नै गरिरहेका छन् । संसार पुरुषले नै चलाइरहेका छन् । संयुक्त राष्ट्रसङ्घका सदस्यमध्ये करिब एकतिहाइ देशमा मात्रै महिला सरकार प्रमुख भएका छन् । ठीक यतिखेर १९३ मध्ये १३ देशमा मात्र सरकार प्रमुख महिला छन् ।

८ वर्षअघि हिलारी क्लिन्टन लोकप्रिय मतमा जितेर पनि निर्वाचक मण्डल सङ्ख्यामा ट्रम्पसँग पराजित भएकी थिइन् । उनले आफ्नो बधाई भाषणमा भनेकी थिइन्, “म यो आशा गर्दछु कि हामीले सोचेभन्दा पनि छिटो एक महिला आउनेछिन् र ‘ग्लास सिलिङ’ भत्काउने छिन् ।”

त्यो प्रतीक्षा अझै निरन्तर छ । र, यसपटक अगाडिको बाटो झनै अनिश्चित देखिन्छ ।

(द न्यूओर्क टाइम्सबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved