काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा औपचारिक रूपमा निर्वाचित नहुँदै डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो लागेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री केयर स्टारर , इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायतले बधाई दिएका हुन् ।
मोदीले एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनाव जितेकोमा हार्दिक बधाई ।’
मोदीले थप भने, ‘तपाईंको अघिल्लो कार्यकालको सफलताहरू जस्तै, म भारत-अमेरिका व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न हाम्रो सहयोगलाई अगाडि बढाउने आशा गर्दछु । हामी हाम्रा जनताको हित, विश्वव्यापी शान्ति र कामका लागि मिलेर काम गरौं ।’
स्टारर ट्रम्पलाई ‘ऐतिहासिक जित’ भनेर बधाई दिने अर्को विश्व नेता बनेका छन् । ‘म आगामी वर्षहरूमा तपाईंसँग काम गर्न तत्पर छु,’ बेलायतका प्रधानमन्त्रीले भनेका छन् ।
यस्तै, नेतान्याहुले ठूलो विजय भन्दै बधाई दिएका छन् । ‘इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई छ, ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक फिर्ताले अमेरिकाको लागि नयाँ सुरूवात र इजरायल र अमेरिका बीचको महान् गठबन्धनको लागि शक्तिशाली प्रतिवद्धता प्रदान गर्दछ,’ नेतान्याहुले भने ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भनेका छन्, ‘अमेरिकी राजनीतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन१ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको ठूलो जीतको लागि बधाई । विश्वको लागि धेरै आवश्यक जीत !’
ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरेका छन् । तर, उनको जितको औपचारिक घोषणा भने भइसकेको छैन ।
Facebook Comment
Comment