मधेसले लुम्बिनी र कर्णालीले बागमतीलाई हराए

नेपालभ्युज

मधेसले लुम्बिनी र कर्णालीले बागमतीलाई हराए

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई तथा कर्णाली प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा मधेसले लुम्बिनीलाई १ विकेटले पराजित गरेको हो ।

७१ रनको लक्ष्य मधेसले २७ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो । मधेसका मयन यादवले २२ र इम्रान शेखले ११ रन बनाए ।

लुम्बिनीका लागि भने रमेश कुर्मीले ४, सन्तोष यादवले ३ तथा निर्मल गुरुङले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनी २० ओभरमा ७० रनमा अलआउट भयो । लुम्बिनीका लागि समिर अलि मुसल्मानले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।

मधेसका लागि अभिषेक तिवारीले फाइफर पूरा गरे । अभिषेकले ६ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए ।

यस्तै, मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले बागमतीलाई २० रनमा पराजित गर्यो । कर्णालीको यो लगातार दोस्रो जित हो ।

७६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको बागमती १८.३ ओभरमा ५५ रनमा अलआउट भयो ।

बागमतीका लागि रोशन विश्वकर्माले १३ र कप्तान उत्तम मगरले १० रन बनाए । कर्णालीका लागि बिपिन शर्माले ४, यूनिस ठकुरी र अनुज चनाराले ३–३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको कर्णाली २०.५ ओभरमा ७५ रनमा अलआउट भयो । कर्णालीका लागि विजय बोहराले १६ र कमल विष्टले १५ रन बनाए ।

बागमतीका लागि दिनेश विष्टले पनि फाइफर पूरा गरे । उनले ३.५ ओभरमा ६ रन खर्चेर ५ विकेट लिए । दयानन्द मण्डलले ३, तथा दीपक सेरालाले २ विकेट लिए ।

जितसँगै २ अंक जोडेको मधेस अंकतालिकाको चौथो स्थानमा छ । दोस्रो जित हासिल गरेको कर्णाली भने ४ अंकसहित छैंटौं स्थानमा छ । पराजित लुम्बिनी १० अंकसहित दोस्रो स्थानमा छ । ४ अंकसहित बागमती भने पाँचौं स्थानमा छ ।

अंकतालिका-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved