काठमाडौं । सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका रामेछापका दुई युवक अझै फेला परेका छैनन् ।
मन्थली नगरपालिका-१२ का २३ वर्षीय सागर खड्का र १७ वर्षका सेवक खड्का कार्त्तिक १४ गते बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार कात्तिक १४ गते बिहान ८ः५० बजे सप्तकोशी नदीको बगरमा झोला राखेर पौडी खेल्न पसेका थिए ।
पौडी खेल्ने क्रममा उनीहरुलाई बगाएको हो । बराहक्षेत्रस्थित सप्तकोशी किनारमा उनीहरूका झोला र नागरिकता फेला परेको छ । सोही आधारमा उनीहरुको पहिचान भएको हो ।
सीसीटीभी फुटेजमा दुबै युवक पौडी खेल्दै गरेको र केही तल पुगेपछि नदीमै बेपत्ता भएको देखिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको प्रदेश विपद् व्यवस्थापन गोताखोर टोलीले बोटदेखि राजाबाससम्म खोजी गरे पनि फेला पार्न सकेको छैन । कोशी ब्यारेजसँग समन्वय गरेर भारततर्फका प्रहरीसँग पनि समन्वय गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comment
Comment