काठमाडौं । नेपालमा उत्पादनका धेरै सम्भावना छ भनिन्छ तर, परनिर्भर नै भएर बस्नुपर्ने बाध्यता भने कायमै छ । विशेषगरी ठूला चाडबाडहरूमा सरसामानहरू आयात गरेरै धान्नुपर्ने बाध्यता छ ।
आयातित सामग्रीले नेपाली बजार छाइरहँदा स्वदेशी उत्पादनहरूले भने बजार पाउनसमेत मुस्किल पर्ने गर्छ । सानो मात्रामा उत्पादित सामानले पनि बजार नपाउँदा किसान तथा व्यापारीहरूमा चिन्ता अर्कोतिर छ ।
त्यसो त सरकारको ध्यान यसतर्फ खासै देखिँदैन । त्यसैले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेर विदेशी वस्तु तथा सामानको आयात घटाउनु सरकार असमर्थ देखिन्छ ।
तिहारमा ३७.५० प्रतिशत सयपत्री माला आयात
हरेक वर्षको तिहार आन्तरिक उत्पादनले धान्न सकेको छैन । बर्सेनि तिहार लक्षित करोडौंका फूलहरू नेपाल भित्रिरहेकै हुन्छन् । विगतका वर्षहरूभन्दा यस वर्ष अझ बढी फूल निर्यात भएको फ्लोरिकल्चर एशोसिशन नेपाल (फ्यान) ले जनाएको छ ।
फ्यानका अनुसार यो वर्ष ५० करोड मूल्य बराबरको फूलको कारोबार भयाे । यस वर्षको तिहारमा एउटा सयपत्री मालाको मूल्य ८० रुपैयाँ तोकिएको थियो । यद्यपि, उपभोक्ताहरुले प्रतिमाला एक सय रुपैयाँ तिर्नु परेकाे थियो । गत वर्ष भने मालाको मूल्य ६५ रुपैयाँ मात्र थियो ।
गत वर्ष वैध तथा अवैध ढङ्गले ३० लाखभन्दा बढी माला आयात भएको फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । उनका अनुसार गत वर्ष स्वदेशी मालाको कारोबार २० प्रतिशत मात्रै भएको थियो ।
गत वर्ष काठमाडौं उपत्यकाका बजारमा ८० प्रतिशत कारोबार भारतीय सयपत्री मालाले ओगटेको थियो । तसर्थ, स्वदेशी किसान तथा व्यवसायीहरूको व्यावसायिक मनोबलसँगै फूल उत्पादन पनि घटेको देखिन्छ ।
“गत वर्ष स्वदेशी फूल धेरै फाल्नुपर्यो, पोहोर बिक्री नभएर फूल फालेका किसानले यसपालि फूल नै लगाएनन् । त्यसैले यस वर्ष फूल अलि बढी आयात गर्नुपर्ने अवस्था बन्यो,” निवर्तमान अध्यक्ष तामाङले भने ।
दशैंको मुखमै देशले सामना गरेको बाढी पहिरोको कारण पनि यस वर्ष सयपत्री फूलको उत्पादन घटेको संस्थागत पूर्वाध्यक्ष सुरेशभक्त श्रेष्ठको भनाइ छ ।
फ्यानका अनुसार यस वर्ष बजारमा ४५ लाख फूल मालाको माग थियो । जसमा ३० लाखमात्र आपूर्ति गर्न सकिएको बताइएको छ ।
तिहारमा एक अर्बको भाइमसला आयात
भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने तिहारका लागि असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको छ ।
जसमध्ये १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ता आयात भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ ।
यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख रुपैयाँको २४० किलो कटुस, १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात गरिएको विभागको तथ्याङ्क छ ।
यस्तै १० करोड ६१ लाख ६१ हजार रुपैयाँको किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
माटाको पालालाई विस्थापित गर्दै झिलिमिली बत्ती
पहिले माटोका पाला, तामाका पालामा बत्ती बाल्ने परम्परा मैनबत्ती हुँदै अहिले चाइनिज झिलिमिली बत्तीमा पुगेको छ । दशैं, तिहार र छठजस्ता पर्वमा झिलिमिली बत्तीको माग उच्च रहने गर्दछ ।
तर, अहिले त्यसमा पनि आयातित बत्तीले नै धान्ने गर्दछन् । जस कारण माटाका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्ने कुमाले समुदायको पेशा पनि सङ्कटमा पर्दै गएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यस वर्ष तिहारमा झिलीमिली बत्तीको आयात करिब ३० करोड हाराहारीमा भएको छ ।
गत वर्षमा नेपालमा तिहारका लागि साढे ४५ करोड रुपैयाँ बराबरको झिलीमिली बत्ति आयात भएको थियो । यस्तै, २०७९ सालको तिहारमा ४० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती नेपाल भित्रिएको थियो ।
नेपालमा खासगरी चीन, भारत, कतार, बहराइन, अस्ट्रेलिया, नेदरल्याण्ड, साउदी अरेबिया, बेलायतलगायतका देशबाट यस्तो बत्ती आयात गरिने भन्सार विभागले जनाएको छ । जसमा सर्वाधिक चीन र भारतबाट आयात हुने गरेको देखिन्छ ।
बर्सेनि आयातित चिनीले उपभोक्ताको आवश्यकता पूरा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निजी संस्थाहरूले चाडबाडलाई लक्षित गरेर अहिलेसम्म ८ हजार १ सय मेट्रिक टन चिनी नेपाल ल्याइसकेका छन् । विभागले गत साउनमा भारतबाट नेपालका फर्म कम्पनीका लागि छुटाइएको १९ हजार मेट्रिक टन चिनी आयातको लागि आवेदन मागेको थियो ।
आवेदन स्वीकृत भएका ७ वटा कम्पनीलाई २७ सयदेखि २८ सय मेट्रिक टनको दरले कोटा तोकिएको थियो । त्यसमध्ये ८ हजार मेट्रिक टन चिनी भित्रिएको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले बताए ।
उनका अनुसार नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्छ । जसमा १ लाख ५० हजार मेट्रिक टन चिनी स्वदेशमै उत्पादन हुन्छ भने आधा चिनी आयात गरेर उपभोक्ताको गर्जो टार्नुपर्ने स्थिति छ ।
Facebook Comment
Comment