छठले डोम जातिलाई दिएको खुसीः बाँसका सामग्री बेचेर मनग्गे आम्दानी

अरुबेला नाङ्लोको व्यापार कम भए हुने भएकाले अहिले नै पर्याप्त बेचेर वर्षभरिलाई गुजारा गर्न पुग्ने लक्ष्य राखेको हरिले बताए । नाङ्लोको माग यहाँको बजारमा मात्र नभएर वरिपरिका गाउँहरूमा समेत भइरहेको उनले जानकारी दिए ।

छठले डोम जातिलाई दिएको खुसीः बाँसका सामग्री बेचेर मनग्गे आम्दानी

जनकपुरधाम– मधेसका दलित समुदायमध्ये पनि सबैभन्दा पिछडिएको जातिमा पर्छ डोम जाति । यस जातिका मानिसलाई प्रायः खान–लाउन धौधौ नै पर्ने गर्छ । अहिले भने डोम जातिको मुहारमा हाँसो र मनमा खुसी छाएको छ । डोम जातिलाई अहिले छठ पर्वले गर्दा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ छ ।

तिहारलगत्तै सुरु हुने छठलाई लक्षित गरी धनुषाका डोम समुदायलाई बाँसजन्य पूजा सामग्री बनाएर बेच्ने फुर्सद छैन । डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन् । आफ्नो पुर्खौली पेशाबाट राम्रो आम्दानी भइरहेको उनीहरू बताउँछन् ।

भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै बेच्दै गरेकाले एकछिन पनि फुर्सद नभएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँ टोलका हरि मलिक डोमले बताए । ‘बाँसबाट बनाइने नाङ्लो (सुप्पा), ढकिया र कोनियाँ छठ पर्वमा अनिवार्य प्रयोग गरिने भएकाले दुई महिना अघिदेखि बनाएर भण्डारण गरेका थियौँ । ती सामग्रीले पनि नपुग्ने भएपछि बनाउँदै बेच्दै गरेका छौँ । एकछिन पनि फुर्सद छैन,’ उनले भने ।

अरुबेला नाङ्लोको व्यापार कम भए हुने भएकाले अहिले नै पर्याप्त बेचेर वर्षभरिलाई गुजारा गर्न पुग्ने लक्ष्य राखेको हरिले बताए । नाङ्लोको माग यहाँको बजारमा मात्र नभएर वरिपरिका गाउँहरूमा समेत भइरहेको उनले जानकारी दिए ।

अहिले प्रतिनाङ्लो ४००, ६०० र ७०० रुपैयाँसम्ममा बिक्री भइरहेको उनको भनाइ छ । उनका अनुसार बाँसको चोयाअनुसार दाम फरक–फरक हुन्छ ।

धुनषा र महोत्तरीमा करिब डोम जातिको करिब १५ लाख जनसंख्या रहेको छ । तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेका छन् । उनीहरू आफ्ना सामान हरेक समुदायका मानिसलाई बेच्ने गर्छन् । डोम समुदायले छठका प्रत्येक व्रतालुलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिकले बताए । बाँसको कोनियाँ बनाएर प्रतिगोटा ५० रुपैयाँका दरले बिक्री गरिरहेको मिथिला नगरपालिका–२ की सुकमरिया र फूलोदेवी मलिकले बताइन् । छठमा बिक्री गरेको कोनियाँको कमाइले केही महिना गुजारा गर्न ठूलै राहत मिल्ने उनको भनाइ छ ।

आफ्ना जीवनका हरेक दुःख बिर्सेर डोम समुदायले कात्तिक महिनाभर मीठो–मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका– १ स्थित धर्मवान टोलकी रीता मल्लिक डोमिन बताउँछिन् ।

‘कात्तिक लाग्नेबित्तिक्कै घरका बच्चादेखि बूढासम्मले काम पाउँछौँ । बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु–टपरी बनाउनमा तल्लिन हुन्छौँ,’ डालो बुन्दै गरेका धनुषाको वटेश्वर गाउँपालिका– ५ शान्तिपुरका इन्दल मल्लिक डोमले भने, ‘बजारमा बेच्दा राम्रो आम्दानी हुने भएकाले हामी निकै खुशी छौँ ।’

छठ पर्व मनाउने प्रत्येक तराईबासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु–टपरीमा अर्घ दिनुपर्ने नियम छ । प्रत्येक परिवारले पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । यसबाट बेच्नेलाई फाइदा पुर्याएको छ । महोत्तरीको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो र नाङ्लो बेचेर प्रतिव्यक्ति १० देखि २० हजार र प्रत्येक परिवारले दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको सुनाए । अहिले जिल्लाका गाउँ–गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ ।

परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन् । दिनदिनै छठ पर्व मनाउने मानिसको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्याउन धौ–धौ परेको डोम समुदायका मानिस बताउँछन् ।

अरुबेला गास, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको यस समुदायले छठ आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो–मसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त गर्ने गरेकोमा मिथिला नगरपालिका– ७ का ५५ वर्षीय राजवीर डोमले खुसी व्यक्त गरे । सोही ठाउँकी ६० वर्षीया रुमिनी डोमिनले पनि उस्तै खुसी व्यक्त गरिन् ।

मिथिला नगरपालिका–७ हरिहरपुरका रामविनय मलिकका अनुसार छठ आउनुभन्दा दुई महिना अगाडिदेखि बुनेका ढकिया सखुवा बजार, ढल्केवर र बटेश्वर बजार पुर्याउने गरिन्छ । ‘एकजना डोम परिवारले यस समयमा एक लाखभन्दा बढीको व्यापार गर्न भ्याउँछन् । छठ सकिएपछि खासै काम हुँदैन । यही बेलाको कमाइले वर्षैभरि गुजारा र बालबालिकालाई पढाउने गर्छन्,’ उनले थपे ।

क्षीरेश्वरनाथ नगरपालिकाका डोम समुदायले बाँसजन्य पुर्खौैली पेशाबाट र कुम्हार समुदायले माटोका भाँडा वा मुर्ति बनाएर राम्रो आर्थिक उपार्जन गर्ने गरेका छन् । यसलाई थप व्यावसायिक बनाउनेतर्फ नगरपालिकाले अध्ययन गरिरहेको नगरप्रमुख सुखदेव यादवले बताए । आउने दिनमा यसको बजार व्यवस्थापन गर्ने, आवश्यक पुँजी उपलब्ध गराउने र सीप सिकाउने तालिम दिने आफ्नो योजना रहेको उनले सुनाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved