रविलाई बाहिरै राखेर अनुसन्धान गर्न लबिङ, मिलेन ‘ग्रीन सिग्नल’

विरोध प्रदर्शन जारी राख्ने

रवि अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । उनलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका लागि कास्कीमा राखिएको हो ।

नेपालभ्युज

रविलाई बाहिरै राखेर अनुसन्धान गर्न लबिङ, मिलेन ‘ग्रीन सिग्नल’

काठमाडौं । सहकारी ठगीसम्बन्धी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘लबिइङ’ गरिरहेको छ ।

यसका लागि पार्टी उपसभापति डोलप्रसाद अर्यालले काम गरिरहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई भेटेर त्यससम्बन्धी बताइसकेका छन् ।

त्यसो त रास्वपाले संसदीय समितिमा समेत रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ । यसअघि बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वपा सांसद डा. चन्दा कार्कीले यस्तो माग गरिसकेकी छन् ।

रवि अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । उनलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका लागि कास्कीमा राखिएको हो ।

उनको दल रास्वपाले बाहिरै राखेर अनुन्धान गर्न लबिइङ गरिरहँदा उनलाई भने बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका लागि बुटवल लाने तयारी गरिएको छ ।

उसो त उनलाई पोखरा र बुटवल मात्रै नभइ वीरगञ्ज, चितवन र काठमाडौंका सहकारीको रकम अपलचनसम्बन्धी समेत अनुसन्धान गर्नेगरी भ्रमण गराउने प्रहरीको तयारी छ ।

मिलेन ‘ग्रीन सिग्नल’

यता उपसभापति अर्यालले भने परराष्ट्रमन्त्री डा. आरजू राणालाई समेत भेटेर त्यही कुरा सम्झाउन खोजिरहेका छन् । अर्यालले देउवासँग भेट गर्नका लागि उनको सचिवालयलाई सन्देशसमेत पठाएका छन् तर, समय उपलब्ध नभएको बताइएको छ ।

परराष्ट्रमन्त्री देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नीसमेत हुन् । त्यसैले पनि अर्यालले भेट्न खोजेको बताइन्छ । अर्यालले रविलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गर्ने तयारी गरेका छन् ।

रास्वपा उपसभापति डोलप्रसाद अर्याल ।

त्यसो त उनले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई भेटेर यही आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले ‘अदालती प्रक्रियामा गइसकेको कुरा हो, अब त्यहीँबाट पार लाग्नुपर्छ’ भनेर भनेका छन् । गृहमन्त्री लेखकले पनि त्यही आशय दोहोर्‍याएको एक रास्वपा नेता बताउँछन् ।

उनले भने, “हामीले पार्टी सभापतिज्यूलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गरिरहेका छौँ सबैतिर तर, जवाफमा केही आएको छैन । सरकारले हामीमाथि प्रतिशोध साँधिएको स्पष्ट रूपमा देखाइसक्यो । यसविरुद्ध हामी लागिरहनेछौँ । सरकारलाई भ्रष्टाचारको फाइल खोल्छन् भनेर डराएको छ ।”

विरोध प्रदर्शन जारी राख्ने

रास्वपाले पार्टी सभापति रवि पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । यसविरुद्ध उसले रवि पक्राउलगत्तै विरोध प्रदर्शन सुरु गरेको छ ।

गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रविलाई लगत्तै पोखरा पुर्‍याइएको थियो । रास्वपाले त्यसलगत्तै विरोध प्रदर्शन सुरु गर्‍यो ।

सुरुमा पोखराकेन्द्रित विरोध प्रदर्शन गरेको रास्वपाले पछिल्लो समय काठमाडौंमा समेत केही विरोध प्रदर्शनका कार्यक्रम गरेको छ । अब पुन: यसले निरन्तरता पाउने रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी बताउँछन् । नेपालभ्युजसँग उनले भने, “यसबीचमा तिहार पर्‍यो, त्यसकारण हाम्रा विरोध प्रदर्शनका कार्यक्रम स्थगित थियो । अब फेरि सुरु हुनेछन् । पोखरामा त भोलि पनि छ । काठमाडौंमा भने २४ गतेपछि मात्रै थाहा हुन्छ ।”

रास्वपाको प्रदर्शन । तस्वीर : नेपालभ्युज/सरोज बस्नेत ।

रास्वपाले २४ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । उक्त बैठकले काठमाडौंमा कुन स्वरूपमा विरोधका कार्यक्रम गर्ने भन्नेबारे निर्णय लिने कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए ।

“हामीले शृङ्खलाबद्ध रूपमा विरोध प्रदर्शनका कार्यक्रमहरू गर्नेछौँ,” उनले भने, “राजनीतिक प्रतिशोधका विरुद्ध खह्रो उत्रिनेछौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved