म्याग्दी । ‘आहै चिप्लोमा बाटो, देउसी रे ।
आहै अँध्यारो रातमा, देउसी रे ।
आहै लड्दै र पड्दै,देउसी रे ।
आहै केराको थम्बा, देउसी रे ।
आहै १० भाइ जम्मा, देउसी रे ।’
तिहारको रमाइलोमा देउसीभैलोको पुरानो रङ्ग फेरिँदैछ। दशकौं पुरानो ‘देउसी रे’ भट्याउँदै गाउँगाउँ डुल्ने र सारङ्गी, मादल, बाँसुरीका धुनमा गुञ्जिने देउसी अब हिजोका सम्झनामा सीमितजस्तो हुँदैछ।
मादलको तालमा देउसी-भैलो खेल्ने र पुराणका कथासँगै आर्शीवाद दिने चलन हराउँदै गर्दा, आजकल देउसीभैलो पैसा संकलनको माध्यम बन्न पुगेको छ।
बेनी नगरपालिका-२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले यसप्रति चिन्ता प्रकट गर्दै भने, “पहिला देउसीभैलो संस्कार थियो, अहिले त्यो व्यापार बनेको छ।”
केही विद्यालय, संस्थाहरूले अन्य आधुनिक गीतमा नाचगान गरेर देउसीभैलोको मौलिकता ओझेलमा पारिरहेका छन्। मङ्गला गाउँपालिका-२ का पण्डित हरिकृष्ण पौडेलले भने, “अधिकांश समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा उफ्रिएर देउसी खेल्छन्, जसले ध्वनि प्रदूषण त बढाउँछ नै, साथमा बिरामी र वृद्धवृद्धालाई पनि असजिलो बनाउँछ।” यसरी आधुनिकता र परम्पराको द्वन्द्वमा हाम्रो मौलिकता हराउँदै गएकोप्रति वृद्ध नैनकुमार श्रेष्ठले चिन्ता प्रकट गरे।
बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले भने, “पहिले देउसीभैलो खेल्दा सबैले आफैं गाउँथे र मुरली, मादल, खैजडीजस्ता बाजाहरू बजाएर साँच्चिकै आफ्नै सांस्कृतिक आस्थालाई बचाउँथे। अहिले त्यो परम्परा हराउँदै गएको छ।”
उनका अनुसार, युवा पलायनले पनि देउसीभैलोमा गहिरो असर परेको छ। लोकसंस्कृतिका जानकार प्रकाश श्रेष्ठले भाइटीका पर्वको महत्त्व सम्झाउँदै भने, “यमराज आफ्ना काम स्थगित गरेर बहिनी यमुनाकोमा पाँच दिन अतिथि बनेर बसेपछि यो पर्व यमपञ्चकको रूपमा मनाउन थालिएको हो।”
सांस्कृतिक रूपले महत्वपूर्ण र विशेष आस्था बोक्ने देउसीभैलो र भाइटीका हाम्रो मौलिकता मात्रै होइन, भावनात्मक रूपमा पनि अमूल्य छन्। तर आधुनिकता र आर्थिक लाभको लोभमा यसले परम्परागत रङ्ग हराउने डर छ। देउसीभैलोको यमपञ्चकको मर्मलाई नयाँ पुस्ताले सँधै हृदयमा राख्न सकून् र यसले हाम्रो संस्कृति निरन्तर जिउँदो रहोस्।
राससको सहयोगमा
Facebook Comment
Comment