पुष्पा, दाजु विपिन फर्किने आशामा छिन् —होइन भने, सधैँका लागि ती तिहारका झलमलाउने यादहरू मात्र बाँकी रहनेछन् । यो तिहारमा पुष्पाको आँगनीमा झिलमिली हराएको छ तर, उनको मनमा दाजु विपिनको स्मृति छ र एकदिन उज्यालो छाउने आशाको दियो बलिरहेकै छ ।
कञ्चनपुर भीमदत्त ३ की १७ वर्षीया पुष्पा जोशी र इजरायलमा हमासले अपहरण गरेर लगेका भनिएका दाजु विपिन
काठमाडौं । दशैं सकिएपछि स्कुल खुलेको दिनले कञ्चनपुर भीमदत्त ३ की पुष्पा जाेशीको मनमा तिहारको झझल्को ल्याउँथ्यो ।
दशैंको रमाइलो बिदा त सकिएको थियो, तर अब तिहार, छठजस्ता चाडपर्व नजिकिँदै गरेका हुन्थे । तिहारको सोचले उनमा छुट्टै उत्साह भरिदिन्थ्यो । आकाश खुलेर चङ्गा भए जसरी नै मन पनि खुला हुन्थ्यो ।
बजार धपेडीको पखेटा बिसाएपछि पुष्पा बजार जान्थिन् । एक्लै हिँडेर तिहारका लागि चाहिने सामान किन्थिन् । उनलाई हरेक कुरा मन लगाएर सजाउन मन पर्थ्यो, खासगरी घर आँगन । आमा भन्थिन्, ‘सफा घरमा लक्ष्मी खुशीले बास गर्छिन् ।’
त्यसैले आँगनदेखि घरभित्रसम्म सफा गर्न उनको जाँगर बढ्थ्यो । घर सफा राख्नमा दाजु विपिन पनि सघाउँथे । ‘सफा मन र सफा घरमै भगवान् आउँछ,’ भन्दै उनीहरूले तिहारका लागि झिलिमिली बनाउँथे ।
पिँढीमा बसेर टपरी गाँस्न हजुरआमा व्यस्त हुन्थिन् । उनले सालका पातलाई टपरीमा यसरी गाँस्थिन् कि, मानौँ कुनै मेसिनले सिलाएको हो ।
सालको पातको टपरीमा भाइ मसला दिने चलन थियो । त्यसैमा राखेर मीठो खानपिन गर्न मजा आउँथ्यो । आँगनमा रङ्गोली बनाउने, झ्याल–ढोकामा मालाले सजाउने, बत्तीहरू बालेर उज्यालो पार्ने काम पनि पुष्पा र विपिनले गर्थे ।
देउसी–भैलो त झन् औधी रमाइलो हुन्थ्यो । दाजु साथीभाइसँग मिलेर गाउँघरमा देउसी खेल्न जान्थिन् पुष्पा । रातभर गीत गाउँदै नाच्दै उनीहरू एक अर्कासँग खुसी बाँड्थे ।
भाइटिकामा भने रमाइलोको अर्को रौनक हुन्थ्यो । पुष्पाले दाजु विपिनलाई टीका लगाएर उपहार दिन्थिन् । दक्षिणा माग्दा भने उनी जिस्क्याउन कहिल्यै छुटाउँदिनथिन् । ‘फलानो माथिको दाइले त यति दिने रे, तपाईँले पनि बढाउनुपर्छ नि !’
यसरी बार्गेनिङ गर्दागर्दै दाजु विपिनले खुसी हुँदै ठट्यौली गर्थे । पैसा नथपि धर पाउँदैनथे । उनीहरूले सँगै हाँसेर रमाइलो मनाउँथे । अनि पुष्पा आफ्नै दक्षिणाबाट दाजुलाई सानो उपहार किनेर दिन्थिन् ।
पुष्पा सम्झिन्छन्, ‘तिहारमा दाजुसँग गरिएका यी रमाइला सम्झनाहरू अहिले पनि मनमा खेल्छन् । त्यो बालापनको तिहार, त्यो सरलता, त्यो खुसी अझै पनि मभित्र बाँचिरहेको छ ।’
०००
यसपालि पनि तिहारको रङ्गिन उत्सवले भीमदत्त नगरपालिकालाई सिङारिरहेको छ । हरेक चोक, घर, आँगन झिलिमिली बत्ती र रंगोलीले उज्यालो बनेको छ ।
सबैजसो गाउँलेहरू दशैंपछि पुनः फर्केर आफ्नो आँगन र ढोकामा माटोले पोत्दै, सयपत्री र मखमली फूलको माला गाँस्दै, आफ्नो थातथलोमा रमाइरहेका छन् ।
तर, १८ वर्षीया पुष्पा जोशीको घरमा भने यसपटक त्यो झलमल हराएको छ । अघिल्ला तिहारहरूमा आफ्ना दाजु विपिनसँग मिलेर रंगोली बनाउँदै, झ्यालढोका सजाउँदै रमाउने पुष्पाको लागि यो तिहार निराशा र प्रतीक्षाको छ । पुष्पा यसपटक एक्लै छिन् ।
घरको आँगनीमा बसेर दाजुको प्रतीक्षामा छिन्, उनको सम्झनामा मात्र अब तिहार मनाउनुपरेको छ । मोबाइलमा पुराना म्यासेजहरू पढ्दै उनी पटक–पटक दाजुलाई म्यासेज पठाउँछिन् तर, कुनै उत्तर आउँदैन । यसरी नै एकोहोरो म्यासेज पठाउँदै बितेका छन् १४ महिना ।
पुष्पाका दाजु विपिन, जसले हरेक तिहारमा उनलाई सघाउँथे, अहिले उनीसँग छैनन् । विपिनलाई अन्तिम पटक इजरायलको युद्धभूमिमा देखिएको थियो । एक महिनाअघि मात्रै इजरायलमा पुगेका विपिन, अघिल्लो सालको भदौ २० मा हमासको आक्रमणपछि बेपत्ता भए ।
अहिले पनि पुष्पा हरियो कुर्ता लगाएर पुष्पा आँगनको डिलमा बसेर दाजुको प्रतीक्षा गरिरहेकी छिन् । चोकमा बालिएका बत्तीहरूले गाउँ उज्यालो पारेको छ, तर पुष्पाको मन अँध्यारो छ । तिहारको उमङ्ग छ, तर त्यसले पुष्पाको आँगनीमा खुसी ल्याउन सकेको छैन ।
पुष्पा सम्झिन्छिन्, ‘पहिले हामी देउसी खेल्न जान्थ्यौँ । माला बनाउन बगैँचाका फुल टिप्न जान्थ्यौँ । यसपालि भने सबै कुराले एक्लोपन मात्रै थपिदिएको छ । दाजु बिना यो तिहार किन आउँछ ।’
तिहारको उज्यालोमा झलमलाउँदो घरहरूबीच पुष्पाको घर भने शून्यतामा हराइरहेको छ ।
हरेक घरमा खुशीयाली र हर्षको बाढी छ, तर पुष्पाको मन केवल सम्झनाका लहरमा बगिरहेको छ ।
हरेक वर्ष टीकाको यो विशेष दिनमा दाजुको निधारमा टीका लगाएर माला दिन पाउने खुसी अहिले गहिरो पीडामा बदलिएको छ ।
दाजु विपिनको तस्वीर आँखा अघि नाचिरहन्छ, आँसुको भल बगिरहन्छ । उनी सोचिरहन्छिन्, ‘दाइ भएर पनि नहुनुको पीडा महसुस भइरहेको छ यो तिहारमा । किन आउँछ भाइटिका परेलीका डिल भत्काउन ?’
भीमदत्त नगरको हरेक घरमा तिहारको उल्लास छाएको बेला, पुष्पाको घरमा भने प्रतीक्षा र चिन्ताको ओझेल छ । पुष्पा दाजु फर्किने आशामा छिन् —होइन भने, सधैँका लागि ती तिहारका झलमलाउने यादहरू मात्र बाँकी रहने छन् ।
पुष्पाले भन्छिन्, ‘दादा सकुशल फर्किनुहोला भन्ने आश छ । दशैँ तिहार रोकिए पनि अहिलेसम्म कुनै वर्ष पनि हाम्रो तिहार रोकिएको थिएन । मलाई थाहा भएदेखि दादालाई टीका लगाउन छुटाएकी छैन । अघिल्लो सालबाट तिहार छुट्यो । अघिल्लो साल पनि माला उनेर राखेकी थिएँ । अहिले पनि बाटो हेर्दाहेर्दै भाइटिका सकिन लाग्यो ।’
यो तिहारमा पुष्पाको आँगनीमा झिलमिली हराएको छ तर, उनको मनमा दाजु विपिनको स्मृति छ र एक दिन उज्यालो छाउने आउने आश बाँकी छ । विपिन फर्केर आउने आशाको दियो निभेको छैन ।
Facebook Comment
Comment