काठमाडौं । हङकङ सिक्सेजमा नेपालको यात्रा क्वार्टरफाइनलमा समाप्त भएको छ।
मोङ कोकमा शनिबार भएको क्वार्टफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । यससँगै श्रीलंका सेमिफाइनल पुग्दा नेपालको यात्रा भने समाप्त भएको छ ।
१२४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा अलआउट हुँदा मात्र ८३ रन बनाउन सक्यो ।
नेपालका लागि राशिद खानले अर्धशतक बनाए पनि जितको लागि पर्याप्त हुन सकेन । उनले १८ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै ५५ जोडे ।
अन्य खेलाडी श्रीलंकाका तीव्र गतिका बलरसामू टिक्न सकेनन् । नारायण जोशीले १३ रन बनाए ।
विवेक यादवले ५ र लोकेश बमले २ रन बनाए । कप्तान सन्दीप जोरा डकआउट भए । प्रतिश जिसी पनि डकआउट भए ।
श्रीलंकाका लागि लाहिरु समाराकून र थारिन्दु रथनायकेले २/२ तथा धनन्जय लक्ष र लिहुरु मधुशंकाले १/१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ६ ओभर खेलेर २ विकेटको क्षतिमा १२३ रन बनायो ।
श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५० र कप्तान लिहुरु मधुशंकाले अविजित ३१ रन बनाए । नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले १/१ विकेट लिए ।
अब श्रीलंकाले फाइनल प्रवेशका लागि बंगलादेश र युएईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भने बंगालादेश र युएईबीच पराजित हुने टोलीसँग प्लेट सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालले इंग्ल्याण्ड र अष्ट्रेलियालाई पराजित गरेको थियो ।
Facebook Comment
Comment