काठमाडौं – सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपसभापति डा स्वर्णिम वाग्लेले भेटेका छन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई एउटा पुस्तक उपहारसमेत दिए ।
आफूले पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई फरिद जकारियाद्वारा लिखित पुस्तक ‘एज अफ रिभोल्युसन्स’ उपहार दिएको वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको वाग्लेकाे भनाइ छ । खासै नयाँ कुरा नआएको र लामिछानेमा मनोबल उच्च रहेको पाएको उनले उल्लेख गरेका छन् ।
‘राजनीतिक प्रतिशोधका लागि अनावश्यक प्रहरी हिरासतमा राखिनुभएका रास्वपा सभापति रवि लामिछानेजीसँग हिजो साँझ भेट भयो । सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको, र मनोबल उच्च रहेको पाएँ,’ उनले फेसबूकमा लेखेका छन्, ‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ? उहाँको यो प्रश्नको उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक एज अफ रिभोल्युसन्स दिन पाएँ । तिहार–छठपछि सुशासनको बृहत् एजेन्डामा नयाँ शक्तिहरू गोलबद्ध हुनपर्ने देखिन्छ ।’
सहकारी ठगी प्रकरणमा यही कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति लामिछाने पोखरास्थित जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।
Facebook Comment
Comment