जनकपुरधाम । नेपाली संस्कृति र परम्परा विशिष्ट खालकै छ । साउने सङ्क्रातिपछि बिस्तारै चाडपर्वले माहोल बनाउन थाल्छ । तीजले केही वर्षदेखि नेपाली बजारलाई चलायमान बनाउँदै आइरहेको छ । यसपटकको तीजमा पनि पैसाको विस्तार राम्रैसँग भएको व्यवसायी बताउने गर्छन् ।
कतिपय व्यवसायले अलि कोल्टो फेर्न पाए । जनकपुधामलगायत देशका मुख्य शहरका पार्टी प्यालेसले पनि अलिकति जोहो गर्न पाए ।त्यसपछि सोह्रश्राद्ध ,नौरथा लाग्दै दशैंको माहोलले छोप्यो भने अहिले दिपावली, तिहार र छठ पर्वले बजारमा अत्याधिक चहलपहल बढेको छ ।
हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाडहरु दशैं, दिपावली, तिहार र छठ पर्वलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गर्ने गरेको हुन्छ ।
दशैंपछि दिपावली, तिहार र छठ पर्वले छोएको यतिबेला जनकपुरधामको बजारसहित देशभरिकै बजारमा हरेक वर्षझैँ चहलपहल बढेको छ ।
किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, पेय पदार्थ, मोबाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिज लगायत विद्युतीय् उपकरणका पसलहरुमा किनमेल गर्नेहरुको भीड अत्याधिक छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।
दशैंपछि लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर बिक्रेता तथा सेवाप्रदायकले विभिन्न छुटका कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् । उपभोगमा आधारित अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दशैं, तिहार र छठ पर्वमा उपभोग हुने अनुमान गरिन्छ ।
लामो बिदा र घरपरिवार, आफन्त, साथीभाई जम्मा भएर मनोविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशिर्वाद लिने दशैं पर्वमा धक फुकाएर खर्च गर्छन् । यसले बजारमा बहार ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने अर्थशास्त्रका विज्ञहरु बताउँछन् ।
जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका जितेन्द्र मण्डल वर्षभरि हुने घरयासी खर्चको एकतिहाइ दशैंमा खर्च हुने गरेको बताउँछन् । उनले उद्योगी व्यवसायीले दशैं, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरु सहित ग्राहकलाई लोभ्याउने गरेको बताए ।
”दशैं, दिपावली र छठपर्वको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ,” जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन् ।
टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायतका खरिदकर्तालार्ई दशैंको बेला दिइने छुट नै पर्खेर बस्ने बानी लागि सकेको उनको भनाइ छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, सञ्चार सेवाप्रदायक तथा होटल रेस्टुरेन्टले दशैं तिहार लक्षित प्याकेज बिक्री गर्न थालेका छन् ।
चाडपर्वले बजारलाई गुलजार बनाउने भएकाले दसै देखि छठपर्व सम्म विक्रेताले छुट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दशैं तिहार र छठ पर्व केन्द्रित किनमेलको चाप बढ्दो छ ।
दशैं, तिहार र छठ लगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको अर्थशास्त्रका प्राध्यापक प्रभात घिमिरेले बताए ।
रोजगारी वा अध्ययनका लागि नेपाल बाहिर रहेका व्यक्तिहरु पनि दशैं, तिहार र छठ पर्व मनाउन आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दशैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।
सरकारले दशैंको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महिनाको तलब दिने गर्दछ भने अन्य संघसंस्था, बैंक तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने गरेका छन् । यतिबेला बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा. सुरेन्द्र लाभ बताउँछन् ।
मुलुकमा निजामती, शिक्षक, सेना, प्रहरी लगायत करिब ५ लाख सरकारी कर्मचारी छन् । प्रतिकर्मचारीको मासिक तलब सरदर ३५ हजारका दरले हिसाब गर्दा एकमुष्ट १७ अर्ब ५० करोड रूपैयाँ हुन्छ । एक महिनाको तलब बराबर दशैं खर्च हुन्छ ।
त्यसैगरी करिब सवा नौ लाख उद्योग, प्रतिष्ठान, कलकारखाना, साना तथा मझौला व्यवसायमा कार्यरत ३२ लाख कर्मचारी छन् । ती कर्मचारीले सरदर मासिक तलब १५ हजार रूपैयाँका दरले हिसाब गर्दा एकमुस्ट ४८ अर्ब रूपैयाँ हुन्छ । उनीहरूले तलबका अतिरिक्त दशैं भत्ता मात्रै करिब ६६ अर्ब रूपैयाँ पाउँछन् । यो बाहेक व्यापार व्यवसाय, खेतीपाती गर्नेले पनि दशैंमा राम्रै खर्च गर्छन् ।
वैदेशिक रोजगारीमा गएकाले दशैं , तिहार र छठपर्व मनाउन घरमा पैसा पठाउने गर्छन् । यसरी हेर्दा दशैं, तिहार र छठपर्वमा करिब एक खर्ब रूपैयाँ बढी रकम खर्च हुने अनुमान छ । यसले अर्थतन्त्र विस्तारमा टेवा पुग्छ ।
दशैंले बजारमा चहलपहल बढाएको नेपाल चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्ष पवन ठाकुरले बताए । ‘दशैंमा सरकारी तथा निजी क्षेत्रमा काम गर्नेले तलबका अतिरिक्त दशैं खर्च पाउँछन् । उनीहरूले त्यो पैसा खर्च गर्छन्,’ ठाकुरले भने, ‘यसले बजारमा दैनिक उपभोग्य वस्तुको किनमेल बढाएको छ ।’
दशैं मिठोमसिनो खाने, राम्रो लगाउने चाड भएकाले उपभोग्य वस्तुको माग बढेको उनले बताए । ठाकुर भन्छन्, ‘शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुगेको छ । दशैंमा आम्दानी र खर्च दुवै बढ्ने भएकाले अर्थतन्त्रलाई राम्रै गर्छ ।’
दसैं, तिहार, छठ पर्वको समयमा धेरै मानिस सहरी क्षेत्रबाट आफ्नो जन्म स्थल ग्रामीण क्षेत्रमा पुग्छन् । यी चाडपर्वले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि सघाएको छ । कुनै निकायसँग आधिकारिक तथ्यांक नभए पनि दशैंका बेला एक अर्बभन्दा रूपैयाँ बढी खर्च हुने अनुमान गरिन्छ ।
दशैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको गर्छ । ‘पहिले पनि दशैंं तिहार अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो ।
पहिले दशैंं तिहार विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’ अर्थशास्त्री डा. लाभले भन्छन् ।
पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैं तिहार र छठ पर्वको समयमा विदेशबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) भएको अर्थशास्त्रीहरु बताउँछन् ।
विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत साउन र भदौमा रेमिट्यान्समार्फत २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार औषतमा दशैंताका मात्र करिब रु १०–१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको संख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।
अर्थविद्हरुका अनुसार दशैं तिहार अघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ ।
दशैं, तिहार र छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा. लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ ।
दशैंंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खड्काको भनाइ छ । अध्यक्ष खड्काको अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।
यतिखेर मधेस प्रदेशको राजधानी जनकपुरधाममा निकै चहलपहल बढेको छ । जनकपुरका मुख्य बजारहरु शिवचोक, रामचोक, मुरलीचोक, जानकी चोक लगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ ।
जनकपुरधाममा लगायतको ठाउँमा सस्तो बजारको नाममा चिनिने विशेष बजार दशैंदेखि छठ पर्वसम्म सञ्चालन हुने गर्दछ । यस्ता बजारमा स्थानीय तथा राष्ट्रिय उत्पादनहरू बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने गर्दछ ।
Facebook Comment
Comment