काठमाडौं । तिहारलाई फूलहरूको पर्व मानिन्छ । तर, यस वर्षको तिहारमा फूलभन्दा माग बढी रहेको फ्लोरिकल्चर एशोसियन नेपालले जनाएको छ । यस वर्ष तिहारको लागि बजारमा ४० लाख फूलका मालाको माग छ ।
यद्यपि, आन्तरिक उत्पादन र आयातित मालाहरू गरेर ३० लाख जति मात्र उपलब्ध हुने फ्यानले जनाएको छ । नेपालको धर्म र संस्कृति अनुसार बाह्रै महिना फूल आवश्यक परे पनि तिहार तथा छठमा फूलको आवश्यकता बढी पर्ने गर्दछ ।
मानिसहरूले दाजुभाइलाई लगाउन मात्रै नभई घर, अफिस वा मठमन्दिर सजाउनका लागि पनि फूलको उत्तिकै प्रयोग गर्ने गरेका छन् । केही समयअधिसम्म नेपालमा अत्यधिक मात्रामा प्लास्टिकका फूलहरूको प्रयोग भए पनि अहिले नेपाल सरकारले प्लास्टिकका फूलको आयातमा प्रतिबन्ध लगाएको छ ।
यद्यपि, अवैध रूपमा खुला नाकाहरूबाट प्लास्टिकका रंगीचङ्गी फूलहरू भित्रिरहेकै छन् । सयपत्री, मखमली लगायतका फूलहरूले यस वर्षको तिहार नधान्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
किन अपुग भयो यो वर्षको तिहारमा फूल ?
फ्लोरिकल्चर एशोसियन नेपालका अध्यक्ष दिलिप बादेकाअनुसार चाडवाडको मुखैमा देशले सामना गरेको प्राकृतिक विपत्तिबाट फूल खेतीमा ठूलो असर परेको छ । बाढी पहिरोले फूल बगाउँदा यो वर्षको तिहारमा फूल नपुग्ने उनको भनाइ छ ।
‘यस वर्ष बाढी पहिरोको कारण धेरै फूलहरू नष्ट भए, बगे । कतिपय ठाउँमा पानीले डुबेर फूल कुहिएका छन् । यसले गर्दा अहिले नेपालको फूलले मात्रै माग नधान्ने अवस्था रहेको छ ।’ अध्यक्ष बादेले भने ।
फ्यानका पूर्व संस्थापक अध्यक्ष सुरेश भक्त श्रेष्ठ पनि यस वर्ष फूल अपुग हुनमा प्रमुख कारण बाढीले फूल बगाएकोलाई नै औँल्याउँछन् । गत वर्ष स्वदेशी सयपत्री फूलहरूले बजार नपाएको कारण अलपत्र परेकाले किसान निरुत्साहित भएको उनको भनाइ छ ।
विक्री नभएपछि सयपत्री फूल सडकमा मिल्काउँदै व्यापारी, बालेन शाहसँग आक्रोशित
सोही कारण यस वर्ष धेरै किसानले फूल खेती नगरेको कारण पनि यस वर्ष फूल अपुग हुने उनी बताउँछन् ।
‘स्वदेशी फूलले बजार र मूल्य पाएको छ’
यस वर्ष स्वदेशी फूलले बजार र मूल्य दुबै राम्रो पाएको अध्यक्ष बादे बताउँछन् । उनका अनुसार यस वर्ष फूल किसान र व्यवसायी सबै उत्साहित रहेका छन् । गत वर्ष बिक्री नभएको कारण फूल कुहिएर गएकाले धेरै नेपाली किसानले यस वर्ष फूल लगाएनन् ।
व्यवसायीहरू पनि पलायन भएका छन् । यद्यपि, फूल खेती गरेका किसानहरूले यस वर्ष भने राम्रो बजार र मूल्य पाएको अध्यक्ष बादेको भनाई छ । तिहारमा सयपत्री फूल हारालुछ हुने भए पनि मखमली र गोदावरी फूल भने पर्याप्त रहेको छ ।
नेपालले मखमली फूल बर्सेनि २ देखि ३ लाखसम्म निर्यात पनि गर्दै आएको एसोसिएसनका अध्यक्ष बादेले जनाएका छन् । यस वर्ष पनि नेपालले दुई लाख मखमली माला निर्यात गर्ने भएको छ । गत वर्ष एक लाख ५० हजार मखमली माला निर्यात गरिएको थियो ।
कसरी हुन्छ अपुग फूलको व्यवस्थापन ?
विशेष गरी नेपालमा व्यावसायिक रूपमा खेती गरिने फूलको तथ्यांकमात्रै हेर्ने गरिन्छ । तर, अन्य स्थानीय फूलहरुपनि मानिसले प्रयोग गरिरहेका हुन्छन् । स्थानीय स्तरमा उत्पादित उक्त फूलहरू नै यस वर्षको अपुग फूल व्यवस्थापन गर्न सकिने एउटा विकल्प रहेको अध्यक्ष बादे बताउँछन् ।
त्यस्तै, खुल्ला सिमानाबाट पनि अवैध रूपमा लुकीछिपी फूल भित्रिने भएकाले तिहारमा अपुग फूलको व्यवस्था हुने उनको भनाई छ । गत वर्ष मानिस नहिँड्ने स्थानलाई फूल बिक्री स्थल तोकिदिएकाले पनि धेरै फूलहरू बिग्रिएका थिए ।
यस वर्ष भने काठमाडौं महानगरले नै भाटभटेनी, सपिङ मल जस्ता मानिसहरूको भिडभाड हुने स्थानमा बिक्री स्थल तोकिदिएको छ ।
काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान (सूचीसहित)
Facebook Comment
Comment