आलेख

अमेरिकामा बस्नेहरूको देश चिन्तन

साथीहरूको आशय थियो, यसका लागि तीन चरणमा काम गर्नुपर्छ । पहिलो चरणमा हामी विकासशील राष्ट्र बन्ने हो । दोश्रो चरणमा हामी मध्यम आय भएका एसियाली देशको स्तरमा पुग्नपर्छ । त्यसपछिको चरणमा हामीले भेट्नुपर्छ युरोपेली लक्ष्य ।

अमेरिकामा बस्नेहरूको देश चिन्तन

गत वैशाख र जेठ महिना म अमेरिकामा थिएँ । त्यो मौकामा मैले अमेरिका छिरेका अनेक नेपालीसँग भेटघाट गरेँ । उनीहरूका सफलता र असफलता कथा सुनेँ । आँसु र हाँसो देखेँ । उनीहरूभित्र देशको चिन्ता पनि देखेँ र राजनीतिक वितृष्णा र आक्रोश पनि ।

एउटा रोचक पक्ष के भने दुई महिना लामो उताको बसाइमा मैले भेटेजति सबै नेपालीले एकअर्कालाई सोध्ने एउटा साझा प्रश्न थियो– बन्ला त नेपाल ?

यो यस्तो प्रश्न थियो, जसभित्र थिए अनेक आशा, अपेक्षा, गुनासो र असन्तुष्टिका नदेखिने चक्रवातहरू ।

रहरले होस् वा बाध्यताले, मान्छे त पातालमा थिए तर, उनीहरूको मन थियो आफ्नै देश, पाखापर्वत, मैदान र रनबनमा । उनीहरूसँग देशको चिन्ता थियो र कोही पनि दुईजना नेपाली भेट हुनासाथ त्यो चिन्ता चिन्तनमा फेरिन्थ्यो । जहाँ कल्पनामा हुन्थ्यो स्वाभिमान र समृद्धिको सप्तरङ्गी मातृभूमि । र, त्यही कल्पनाको आलोकमा मान्छे पटक-पटक उही प्रश्न दोहोउँथे– बन्ला त देश ?

यस्तो लाग्थ्यो कि प्रश्नकर्ता स्वयम् आफ्नै मनसँग प्रश्न गरिरहेको छ ।

यो प्रश्नको व्यापकता र गहिराइ गजब थियो । यस्तो हुन्थ्यो कि जब दुई नेपाली भेट हुन्थे, सुरु हुन्थ्यो नेपाली समाज, राजनीति र विकासको बहस । त्यो बहसमा बिस्तारै आउँथ्यो पार्टी । त्यसपछि नेताहरू आउँथे । सँगै आउथ्यो भ्रष्टाचार र बेथिति । अनि आउँथ्यो नेताहरूको असफलता । त्यसपछि गाली आउँथ्यो, संशय र सरोकारहरू आउँथे । अनि आउँथे केही हुटहुटी र विकल्पका कुरा ।

कुरा गर्दागर्दै उनीहरूको वार्तालापमा निराशाको बादल देखा पर्दथ्यो । त्यसपछि उनीहरू के होला र खै भन्ने ठाँउमा आइपुग्थे । यसरी नै आशा र निराशाको पेण्डुलममा चाकाचुली खेल्न थाल्थे नेपाली सपनाहरू ।

अमेरिकामा बस्ने नेपालीहरूको (मैले भेटेका) प्राय: निष्कर्षमा सुनिन्थ्यो– “अब यो राजनीतिले हुँदैन । अब यि नेताहरूले हुँदैन ।”

लसभेगसमा होटल गरेर बस्ने एकजना नेपाली व्यवसायीले भने, “यो पक्का हो, राजनीति नफेर्ने हो भने देश फेरिँदैन ।”

व्यवसायी होऊन् वा विद्यार्थी, उता बस्ने अधिकांशको भनाइ थियो– नयाँ दलहरू पनि परम्परागत राजनीतिकै नयाँ चेहरा मात्र भए । न त नयाँ विचार, न त नयाँ एजेण्डा, न त नयाँ संस्कार, न त नयाँ ज्ञान । नयाँ राजनीतिको अर्थ के फगत एकथान नयाँ पार्टी मात्र हो ?

मैले अमेरिकामा भेटेका नेपालीका लागि राजनीति, विकास र समृद्धिका प्रश्नहरू फगत कुराकानीका विषय मात्र थिएनन् । ती थिए, आफ्नो मातृभूमिको आशा र अपेक्षा चियाउने आँखिझ्याल । जहाँ हिमालझैँ अटल देखिन्थ्यो, देश प्रेम ।

त्यही प्रेमधाराबाट उत्प्रेसित हुँदै मान्छेहरू उही प्रश्न दोहोर्‍याउँथे- के बन्ला त नेपाल ?

हाइकिङमा होस् या अनौपचारिक जमघटमा, चाडपर्वमा होस् या पारिवारिक भेटघाटमा, जहाँसुकै आउने त्यही बन्ला त नेपाल भन्ने प्रश्न र त्यस वरिपरि भएका छलफल, चासो र सन्दर्भहरू नै यो लेखका मुख्य विषयहरू हुन् ।

कहाँ टेक्ने, कहाँ समाउने ?

अमेरिकामा भेटिने नेपालीलाई सोध्ने मेरा प्रश्न हुन्थे– तपाईंहरूको विचारमा कसरी बन्छ त नेपाल ? नेपाल बनाउने यात्राको पहिलो सिँढी कुन हो ? विकासको यात्रामा कहाँ टेक्ने, कहाँ समाउने ?

मेरा प्रश्नभन्दा सरल हुन्थे उनीहरूका जवाफ । उनीहरू भन्थे– देश बनाउनु छ भने प्रारम्भमा असाधारण सपना देख र त्यसलाई पूरा गर्न इमान्दार भई (अ)साधारण प्रयत्नहरू प्रारम्भ गर  ।

विकास आफैँमा अग्लो सिँढी चढेजस्तै हो । टेक्ने ठाँउमा समायो भने पनि लडिन्छ । समाउने ठाँउमा टेक्यो भने पनि लडिन्छ । गलत ठाँउमा फड्किन खोज्यो भने पनि लडिन्छ । नसमाइ हिँड्यो भने पनि लडिन्छ । त्यसैले विकासको सिँढी चढ्दा ठीक ठाँउमा समाउनुपर्छ र ठिक ठाँउमा टेक्नुपर्छ ।

विकास र समृद्धिको शिखर टेक्न तीनवटा मुख्य काम गर्नुपर्छ । पहिलो, राजनीतिक सुधार । दोश्रो, रणनीतिक क्षेत्रहरूको पहिचान र लगानी । तेश्रो, उत्पादन र वितरणको समन्यायिक सन्तुलन ।

जब राजनीतिक सुधार हुन्छ, स्वभावतः पार्टीहरू सुसंस्कृत र लोकतान्त्रिक हुन्छन् । त्यसको जगबाट क्षमतावान् नेतृत्वको जन्म हुन्छ । जसले राज्य र नागरिकलाई एउटै सपना र स्वार्थमा एकाकार गर्छ । परिणाम, उत्पादनमुखी वातावरण बन्छ । रणनीतिक महत्त्वका क्षेत्रहरू खुल्छन् । क्षमतावान् नेतृत्वले जब सपना देख्न थाल्छ, स्वभावतः त्यो सपनाले आशा र उत्प्रेरणा सृजना गर्छ । त्यसपछि असाधारण परिणाम देखिन थाल्छ । त्यसैले भनिन्छ, ‘राजनीतिक सुधार समृद्धिको पहिलो सिँढी हो ।’

यहाँ राजनीति सुधार भनेको पार्टीहरूको सुधार मात्र होइन, यो लोकतन्त्रको सुधार हो, यो राज्य चरित्रको सुधार हो, यो राज्य सञ्चालनका नीति र प्रवृत्तिहरूको सुधार हो, लोकतान्त्रिक र स्थिर सरकार, प्रभावकारी संरचना, निष्पक्ष प्रशासन र सुशासनको प्रत्याभूति, राजनीतिक सुधारका आधारभुत काम हुन् ।

यसैगरी राजनीतिक सुधार भनेको शासकीय सुधार पनि हो । नीति र प्रवृत्तिको सुधार पनि हो । यसका लागि हाम्रो पुरानो कर्मचारी प्रशासनलाई फेर्नुपर्छ । हामीसँग विदेशमा काम गरेका र उन्नत शिक्षा प्राप्त युवाहरूको जमात छ । त्यसलाई देश फर्काउनुपर्छ । उत्साही, क्षमतावान् र इमान्दार युवाहरूलाई सरकारी सेवामा ल्याउनुपर्छ ।

समृद्धिको यात्रामा सबैको सहभागिता र स्वामित्व आवश्यक छ । अन्यथा, जहिलेसम्म नागरिक र राज्यका सपनाहरू आधारभूत रूपमै समावेशी बन्दैनन्, समृद्धि असम्भव छ । अतः राजनीतिक सुधारको सर्वाधिक महत्त्वपूर्ण पक्ष हो, राज्यको पूर्ण लोकतान्त्रिकरण र समावेशीकरण ।

त्यसैगरी राजनीतिक सुधारकै अर्को महत्त्वपूर्ण पक्ष हो समावेशीकरण । समृद्धिको यात्रामा सबैको सहभागिता र स्वामित्व आवश्यक छ । अन्यथा, जहिलेसम्म नागरिक र राज्यका सपनाहरू आधारभूत रूपमै समावेशी बन्दैनन्, समृद्धि असम्भव छ । अतः राजनीतिक सुधारको सर्वाधिक महत्त्वपूर्ण पक्ष हो, राज्यको पूर्ण लोकतान्त्रिकरण र समावेशीकरण ।

तर, यो परम्परागत राजनीतिक नेतृत्वबाट सम्भव छैन । त्यसैले समृद्धिको पहिलो सर्त हो, प्रगतिशील र लोकतान्त्रिक राजनीति ।

त्यसपछि राज्यले आर्थिक रणनीतिमा काम गर्नुपर्छ । अर्थविद्हरू भन्छन्– यसका लागि खुल्ला आर्थिक नीति, रणनीतिक लगानीका क्षेत्रहरूको पहिचान, पूर्वाधारको विकास, उत्पादन वृद्धि, लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता आर्थिक रणनीतिका महत्त्वपूर्ण पक्षहरू हुन् ।

यसमा कम्पनी दर्ता प्रक्रिया, बैंकिङ सेवा, कर प्रणाली र बजार लगानीमैत्री हुनुपर्छ । दलहरूले बन्द हड्ताललाई निरुत्साहित गर्नुपर्छ । सेवा प्रदायक संस्थाहरूमा राजनीतिकरणको अन्त्य आवश्यक छ । किन भने राष्ट्रिय पुँजीको विकासका लागि उत्पादनका क्षेत्रहरूको पहिचान, लगानी प्रोत्साहन र बजारीकरण आवश्यक हुन्छ । त्यसका लागी राज्यका संरचनाहरूले निष्पक्ष कामगर्न पाउनुपर्छ ।

अनि मात्र औद्योगीकरण र रोजगारी सृजना हुन्छ । अनि मात्र मान्छेको आम्दानी बढ्छ । तर, समृद्धिका लागी उत्पादन (आम्दानी) बढेर मात्र हुँदैन । समृद्धिलाई सार्थक बनाउन आम्दानीको वितरण गर्ने न्यायपूर्ण र समावेशी पद्धति पनि चाहिन्छ । मूलतः गरिब देशले जनताको खाद्य सम्प्रभुता र पोषणमा ध्यान दिनुपर्छ । सामाजिक सुरक्षाका क्षेत्रहरू बढाउनुपर्छ ।

किन भने गाँस, बास, कपास, शिक्षा, स्वास्थ र सुरक्षा समृद्धिका आधारस्तम्भ हुन् । यी यसकारण महत्त्वपूर्ण छन् कि समन्यायिक वितरण बिना स्थिरता र शान्ति असम्भव हुन्छ । र, शान्तिबिना समृद्धि असम्भव हुन्छ ।

समृद्धिको गन्तव्य

मसँगै धरान, हात्तीसार पढेका दुईजना मित्रहरूसँग योपटक अमेरिकामा रमाइलो भेटघाट भयो । उनीहरू थिए, मोहन ढकाल र कृष्ण सापकोटा । वासिङ्टन स्टेटमा बस्ने उनीहरूसँग मेरो निकै लामो अन्तरालमा भेट भएको थियो । रमाइलो के भने हाम्रो कुराकानीमा पनि घुमिफिरी उही प्रश्न आउँथ्यो समृद्धिको ।

म सोध्ने गर्थेँ- यहाँका नेपालीले भनेको समृद्धि कसरी प्राप्त होला ?

साथीहरूको आशय थियो, यसका लागि तीन चरणमा काम गर्नुपर्छ । पहिलो चरणमा हामी विकासशील राष्ट्र बन्ने हो । दोश्रो चरणमा हामी मध्यम आय भएका एसियाली देशको स्तरमा पुग्नपर्छ । त्यसपछिको चरणमा हामीले भेट्नुपर्छ युरोपेली लक्ष्य । यद्यपि, समृद्धि एकैपटक प्राप्त हुँदैन । यो निरन्तरको यात्रा हो । यो निरन्तरको पहल हो ।

यसका लागी कति वर्ष चाहिएला ?

हामीले हाम्रै जीवनमा समृद्धि प्राप्त गर्ने हो । अतः २५ वर्षमा तीनवटै सिँढी चड्नुपर्छ ।

कुनै बेला नेता र सरकारी मन्त्रीहरू भन्थे- सन् २०२२ सम्ममा हामी विकासशील राष्ट्रको सूचीमा चढ्ने हो । तर, यस्तो महत्त्वपूर्ण काममा हामी असफल भयौँ, किन ? यो प्रश्नमा मेरा मित्रहरूको जवाफ थियो- त्यो त मात्र सरकारको उडन्ते कुरा थियो । उडन्ते कुरा गरेर समृद्धि प्राप्त हुँदैन । त्यसलाई प्राप्त गर्ने प्रक्रिया र रणनीति स्पष्ट हुनुपर्छ ।

त्यो भनेको के हो ? त्यसका लागि के गर्नुपर्छ ? मैले अमेरिकामा भेटेका ईन्जिनियर डा. कमल गौतम् होऊन् कि व्यवसायी मित्र हरि दाहाल; सशील पाने होऊन् कि मुगलसम्राट; सबैको साझा धारणा थियो नेपालको समृद्धि असम्भव छैन तर, त्यसका लागि मुख्य कुरा हो- सुशासन । जो आफैँमा विकास रणनीतिको महत्त्वपूर्ण पाटो हो ।

योबीचमा अपवादलाई छोडेर हाम्रो आर्थिक वृद्धि एसियामै सबैभन्दा न्यून रह्यो । विकास योजनाहरू आधा-अधुरै रहे । भ्रष्टाचार तीव्र भयो । परिणाम आएन । त्यसैले अन्तर्राष्ट्रिय लगानी निरुत्साहित भयो । पैसाजति भ्रष्टाचारमा सक्ने अनि पैसा नभएको बहाना गरेर विकास हुन्छ कसरी ?

साथीहरूसँग मेरो प्रश्न थियो- तर, विकासका लागि पैसा कहाँबाट आउँछ ? किन भने काम गर्नलाई पैसा त चाहिन्छ । मित्र सुशीलको भनाइ थियो- पैसाभन्दा महत्त्वपूर्ण हुन्छ राजनीतिक गम्भीरता, प्रतिबद्धता र सुशासन । हाम्रो दुर्भाग्य, २०४६ सालयता झन्डै तीन दर्जनपटक सरकार परिवर्तन भए । तर, न त राजनीतिक गम्भीरता देखियो, न त प्रतिबद्धयता, न त सुशासन ।

त्यसैले नै योबीचमा अपवादलाई छोडेर हाम्रो आर्थिक वृद्धि एसियामै सबैभन्दा न्यून रह्यो । विकास योजनाहरू आधा-अधुरै रहे । भ्रष्टाचार तीव्र भयो । परिणाम आएन । त्यसैले अन्तर्राष्ट्रिय लगानी निरुत्साहित भयो । पैसाजति भ्रष्टाचारमा सक्ने अनि पैसा नभएको बहाना गरेर विकास हुन्छ कसरी ?

अवश्य नै, राजनीतिक स्थायित्व, लोकतन्त्र र सुशासन भयो भने पैसा जुटाउन अप्ठ्यारो पर्दैन । मुख्य कुरा नेतृत्व रचनात्मक र विश्वासिलो हुनुपर्छ । किनभने देशमा सुशासन हुने हो भने नेपाललाई सहयोग गर्न विश्व तयार छ । त्यसैले नेतृत्वले जब असाधारण प्रयत्न सुरु गर्छ, पैसाको खाँचो पर्दैन ।

साथीहरूको कुरा सुनेपछि मेरो प्रश्न हुन्थ्यो- के अमेरिकामा बस्ने नेपाली देशमा लगानी गर्न तयार छन् ?

सबैको एउटै जवाफ हुन्थ्यो- उचित वातावरण भए अवश्य नै । तर, नेपालमा पैसा कमाउनेलाई वर्गशत्रु ठानिन्छ । कुनै काम सुरु गर्दा ‘डन’हरू रिझाउनुपर्छ । प्रशासनिक झमेला र भ्रष्टाचार पाइलैपिच्छे छ । सरकारी कार्यालयमा उत्प्रेरित गर्नेभन्दा निराश बनाउनेहरू धेरै भेटिन्छन् । जब लगानीको सुरक्षा र सुशासनको प्रत्याभूति हुँदैन, लगानी कसरी आउँछ ?

भनिन्छ, अहिलेकै अवस्थामा युवा पलायन रोक्न र गरिबी घटाउन वार्षिक थप दशलाख युवालाई रोजगारी दिनुपर्छ । कृषि, पर्यटन, पूर्वाधार विकास र औद्योगीकरणका माध्यमबाट यस्तो रोजगारी सृजना गर्न सकिन्छ । तर, त्यसका लागि लगानी चाहिन्छ । र, लगानीको वातावरण नबनाइ त्यो सम्भव छैन ।

अहिले वार्षिक दशलाख रोजगारी थप्ने हो भने दश वर्षमा सयलाख रोजगारी प्राप्त हुन्छ । यसैगरी ग्रामीण गरिबीको अन्त्यका लागि भूमिसुधार महत्त्वपूर्ण हुनसक्छ । नेपालको ग्रामीण गरिबी कृषिमा आश्रित छ । अतः भूमिसुधारका माध्यमबाट थप पचासलाख गरिबीलाई सम्बोधन गर्न सकिन्छ ।

तर, यहीँनेर कस्तो भूमिसुधार भन्ने प्रश्न आउँछ । हामीलाई कम्युनिष्टहरूले भनेजस्तो समाजवादी मोडेलको भूमिसुधार हैन, मिश्रित मोडेलको भूमिसुधार आवश्यक छ । यस्तो भूमिसुधार, जहाँ किसानले जीविकाका लागि पनि जमिन प्राप्त गरून् । साथसाथै, ठूला ठूला कृषि फार्महरू बनाऊन् र कृषि उत्पादनका परियोजना चलाउनलाई पनि जमिन प्राप्त होस् ।

जब हामी वार्षिक सरदर दश लाख नयाँ रोजगारी सृजना गर्न सक्छौँ, यसको अर्थ हामीसँग काम हुन्छ, आम्दानी हुन्छ र अधिकतम् मान्छेको जीवनमा समृद्धिको नयाँ घाम उदाउँछ । जसले हामीलाई एसियाली विकासको स्तरमा लैजाने छ ।

तर, नागरिक र राज्यको साझोदारी बिना औद्योगीकरण, उत्पादन वृद्धि र रोजगारी सम्भव हुँदैन । खासगरी निजी सम्पत्तिको पूर्ण सुरक्षा, स्वतन्त्रता र प्रतिस्पर्धा उत्पादन वृद्धि र औद्योगीकरणका आधार हुन् ।

के साँच्चै समृद्धि सम्भव छ ? अमेरिकामा बस्ने नेपालीहरूको साझा धारणा छ- अवश्य नै सम्भव छ । तर, यसका लागि थोरै-थोरै रकमको सदुपयोग गर्ने विकास नीति चाहिन्छ । समयमा काम गर्ने र जनताको सहभागिता बढाउने नेतृत्व चाहिन्छ । आर्थिक अनुशासन विकासको पहिलो र सबैभन्दा महत्त्वपूर्ण सर्त हो ।

हामीले अहिलेसम्म श्रमिकको कुरा गर्‍यौँ । कम्युनिष्टहरूले सदैव मजदुरको हकहितलाई प्रोत्साहित गरे । तर, उत्पादन वृद्धिका लागि पुँजी र श्रम दुवैको महत्त्वलाई स्वीकार नगरी कसैले लगानी गर्दैन । लगानी नगरी रोजगारी सृजना हुँदैन । र, रोजगारी सृजना नगर्ने हो भने हाम्रो श्रम पलायनलाई कसैले रोक्न सक्ने छैन ।

के साँच्चै समृद्धि सम्भव छ ? अमेरिकामा बस्ने नेपालीहरूको साझा धारणा छ- अवश्य नै सम्भव छ । तर, यसका लागि थोरै-थोरै रकमको सदुपयोग गर्ने विकास नीति चाहिन्छ । समयमा काम गर्ने र जनताको सहभागिता बढाउने नेतृत्व चाहिन्छ । आर्थिक अनुशासन विकासको पहिलो र सबैभन्दा महत्त्वपूर्ण सर्त हो ।

साथीहरू भन्छन्, सुन्दा अपत्यारिलो लाग्ने यस्तै लक्ष्य हिजो अरु देशहरूले पचास वर्षमा हासिल गरेका थिए । ज्ञान र विज्ञानको तीव्र प्रसारणले हिजो पचास वर्षमा हासिल भएका लक्ष्यहरू आज पच्चिस वर्षमा हासिल हुन सम्भव छ । अन्यथा हामीसँग पर्खिनका लागी बाँकी विकल्पहरू छैनन् ।

अवश्य नै, हामी आगामी पच्चिस वर्षमा त्यहाँ पुग्न सक्छौँ, जहाँ कोरिया, मलेसिया, चीन, भारत, सिंगापुर र अरुहरू छन् । यसका लागि सक्षम राजनीतिक नेतृत्व, योजनाबद्ध विकास र सुशासन आवश्यक पर्छ ।

‘समृद्धि’ कोरा विकासे कुरा होइन, यो राजनीतिक कुरा हो । त्यसैले राजनीतिक पुनर्गठन आजको अहम् मुद्दा हो ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved