एनपीएलका लागि अहिलेसम्म अनुबन्ध भए १८ विदेशी खेलाडी, यस्तो छ उनीहरुको क्षमता

हालसम्म पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले ३-३ तथा अन्य टोलीले २-२ विदेशी खेलाडी अनुवन्ध गरिसकेका छन् । अहिलेसम्म टिमले भित्र्याएका विदेशी खेलाडीबारे जानौं ।

एनपीएलका लागि अहिलेसम्म अनुबन्ध भए १८ विदेशी खेलाडी, यस्तो छ उनीहरुको क्षमता

काठमाडौं । नेपाललाई क्रिकेटमय बनाउन टी–२० फ्रेन्चाइज लिग आयोजना हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको तयारी धुमधामका साथ चलिरहेको छ । यो लिग आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

यस लिगमा ८ फ्रेन्चाइज टोलीको सहभागिता हुनेछ । सहभागी हुने आठै टोलीले धमाधम विदेशी खेलाडी पनि अनुबन्ध गरिरहेका छन् । एनपीएलको फ्रेन्चाईज टोलीले ४ देखि ६ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

टेस्ट राष्ट्रबाट ४ विदेशी खेलाडी मात्र खेलाउन पाइने सर्त छ । यसमा पछिल्लो दुई वर्षमा टेस्ट राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडी गणना हुनेछन् । यस्तै, टेस्ट राष्ट्रबाट सन्न्यास लिएको २ वर्ष पुरा भएको वा पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय खेल नखेलेका टेस्ट राष्ट्रका खेलाडी यो संख्यामा गणना हुने छैनन् ।

टेस्ट राष्ट्रबाट ४ वर्तमान खेलाडी मात्र राख्न पाइने प्रावधान भए पनि एसोसिएट खेलाडीको विषयमा क्यानले नियम केही खुकुलो गरेको छ । लिगमा हरेक टोलीले प्लेइङ–११ मा कम्तिमा ४ विदेशी खेलाउनै पर्ने प्रावधान छ ।

यद्यपि, सबै खेलाडी लिगको पूरा समय उपलब्ध नहुने भएकाले क्यानले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न अनुमति दिएको छ । एनपीएलका टोलीले अब कम्तिमा १६ देखि अधिकतम २० खेलाडी राख्न पाउने छन् । जसमा १ मार्की, १० अक्सनबाट, १ ट्यालेन्ट हन्टबाट तथा विदेशी खेलाडी ४ देखि ६ जनासम्म टोलीमा समावेश गर्न पाउनेछन् ।

हालसम्म पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले ३-३ तथा अन्य टोलीले २-२ विदेशी खेलाडी अनुवन्ध गरिसकेका छन् । अहिलेसम्म टिमले भित्र्याएका विदेशी खेलाडीबारे जानौं ।

विराटनगर किंग्स

विराटनगर किङ्गसले अहिलेसम्म ओमान र क्यानडाका कप्तानलाई टिममा जोडेको छ । विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने रहेका छन् । यसले केभिन ओब्रायनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

अकिब इलियास


विराटनगर किंग्सले ओमानको राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इलियासलाई टोलीमा अनुबन्ध गरेको छ । अकिबले ओमानको तर्फबाट ३२ एकदिवसीय र ५६ टी–२० खेलमा खेलिसकेका छन् ।

निकोलस किर्तन

विराटनगर कंग्सले अर्का विदेशी खेलाडी क्यानडाका कप्तान निकोलस किर्तनलाई टोलीमा जोडेको छ । विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय अलराउण्डर किर्तनलाई अनुबन्ध गर्यो ।

उनले क्यानडाका लागि १८ ओडीआई र २५ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतकसहित ५६४ रन बनाएका छन् ।

कर्णाली याक्स

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । यसले अहिलेसम्म पाकिस्तान र हङकङका दुई खेलाडी अनुबन्ध गरेको छ ।

हुसेन तलात

कर्णाली याक्सले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसेन तलातलाई अनुबन्ध गरेको छ । २८ वर्षिय हुसेन तलातले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी-२० आईमा डेब्यू गरेका थिए ।

बाबर हायात

कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रुपमा हङकङका ब्याटर बाबर हायातलाई अनुबन्ध गरेको छ । बुधबार कर्णाली याक्सले ३२ वर्षीय खेलाडी हायतलाई भित्राएको घोषणा गरेको हो ।

बाबरले हङकङको लागि ७९ टी २० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई शतक र १० अर्धशतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।

बाबरको आगमनले टोली थप मजबुद भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

लुम्बिनी लायन्स

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतका नन्दन फड्निस छन् । टोलीमा पूर्व क्रिकेटर शक्ति गौचनले कन्सल्टेन्ट प्रशिक्षकको भूमिका निभाउनेछन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनीको मार्की खेलाडी हुन् । यसले पनि अहिलेसम्म दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

टम मुर्स

लुम्बिनी लायन्सले टम मुर्सलाई अनुबन्ध गरेको छ । लेफ्ट ह्याण्डेड विकेटकिपर ब्याट्सम्यान मुर्सले कुल १४७ टी–२० खेल खेलेका छन् । उनले बीपीएल, एलपीएल, र पीएसएलजस्ता चर्चित टी–२० फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

बेन कटिङ

लुम्बिनी लायन्सले अष्ट्रेलियाका अलराउण्डर बेन कटिङलाई पनि टोलीमा अनुबन्ध गरेको छ।  विष्फोटक ब्याटिङ तथा तीव्र गतिका बलरका रुपमा कटिङ प्रसिद्ध छन् ।

भारतको आईपीएलमा पनि मुम्बई इण्डियन्स, सनराईजर्स हैदराबाद, कोलकता नाई राईडर्स लगायतका टोलीबाट कटिङले खेलिसकेका छन्।

उनले अष्ट्रेलियाका लागि ४ एकदिवसीय र ७ टी–२० आई खेलेका छन् । सन् २०११–१२ मा न्यूजिल्याण्डविरुद्धको टेस्ट टोलीमा छनोट हुने मौका पाएपनि खेल्न भने पाएनन् । सोही वर्ष उनले श्रीलंकाविरुद्धको एकदिवसीय र टी–२० सिरिजमा अष्ट्रेलियाका लागि डेब्यू गरेका थिए ।

पोखरा एभेन्जर्स

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल पोखराका मार्की खेलाडी हुन् । भारतका राजीव कुमार यसको प्रमुख प्रशिक्षक बनेका छन् । पोखरा अभेन्जर्सले अहिलेसम्म तीन विदेशी खेलाडी भित्र्याइसकेको छ ।

एन्डरसन फिलिप

पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई अनुबन्ध गरेको छ । ट्रिनिडाडका २८ वर्षीय  क्रिकेटर फिलिपले वेस्ट इण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । फास्ट बलर फिलिपले १ सय ४० किलोमिटर प्रतिघण्टाको औसत गतिमा बलिङ गर्न सक्छन् ।

आन्द्रेस गौस

पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर ३० वर्षीय आन्द्रेस गौसलाई पनि अनुबन्ध गरेको छ । दायाँ हाते ब्याटर गौसले उमेर समूहमा दक्षिण अफ्रिकाका लागि खेलेका थिए ।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । सन् २०२४ मा अमेरिकाको तर्फबाट क्यानडाविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए ।

बास डी लिडे

पोखरा एभेन्जर्सले अका विदेशी खेलाडी नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेलाई पनि अनुबन्ध गरेको छ । २४ वर्षीय लिडे नेदरल्यान्ड्सका हुन् । उनले ३८ टी-२० आई खेलेका छन् । जसमा ६९७ रन बनाएका छन् ।

सुदूपश्चिम रोयल्स

टोलीमा दीपेन्द्र सिंह ऐरी मार्की खेलाडीको रुपमा छन् । जगत टमाटा टोलीका मुख्य प्रशिक्षक हुन् । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ । यसले अहिलेसम्म तीन विदेशी खेलाडीसँग अनुबन्ध गरिसकेको छ ।

ब्राण्डन म्याकमुलन

सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्राण्डन म्याकमुलनलाई टोलीमा अनुबन्ध गरेको छ । उनलाई सबै फर्म्याटका खेलमा विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङका लागि चिनिन्छन् ।

उनीसँग विश्वकप क्रिकेट लिग–२ को दौरान नेपालमा खेलेको अनुभव पनि छ । स्कटल्याण्डका लागि उनले २२ एकदिवसीय खेल र १६ टी-२० आई खेलेका छन् ।

सेफ अलि जेब

सुदूरपश्चिम रोयल्सले इङ्ग्लिस क्रिकेटर सेफ अलि जेबलाई पनि अनुबन्ध गरेको छ । २६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपूर अनुभव छ । गत महिना सम्पन्न इङ्ग्ल्यान्डको टी-२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफ काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित रहँदै आएका छन् ।

सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यू गरेपछि इङ्ग्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेलेका थिए । टी-२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका थिए ।

स्कट कुगेलेइन

सुदूरपश्चिम रोयल्सले तेस्रो विदेशी खेलाडीका रुपमा न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ ।

न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि २०आई तीनै फर्म्याटमा खेलेका स्कटको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ ।

तीव्र गतिको बलिङ गर्ने स्कटसँग तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव पनि छ । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् ।

टि २० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन उनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन् ।

चितवन राइनोज

चितवनको मुख्य प्रशिक्षक भारतका उमेश पट्वाल हुन् । यो टिमको मार्की खेलाडीका रुपमा भने कुशल मल्ल रहेका छन् । चितवनले अहिलेसम्म दुई विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

मर्रस्यंट डी ल्यांग

चितवन राइनोजले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्यांगको उचाइ ६.७ फिट छ ।

यी दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी मानिन्छन् । उनले १५१ टी–२० खेल खेलेका छन् । उनीसँग ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको अनुभव छ ।

त्यसैगरी मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामावाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीमा समेत उनले प्रतिनिधित्व गरिसकेका छन् ।

उनले सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यू गरेका थिए । उक्त खेलमै उनले सात विकेट लिएका थिए । सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यू गरेका थिए ।

तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका थिए । सन् २०१७ देखि उनले ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन् ।

ल्यूक मार्टिन बेनकेन्स्टाईन

इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईन चितवन राइनोजका आवद्ध भएका अर्का विदेशी खेलाडी हुन् । उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् ।

जनवरीमा भएको यु–१९ विश्वकपमा १९ वर्षीया बेनकेन्स्टाईनले इङ्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । ब्याटिङ र बलिङ दुवैमा निपुण बेनकेन्स्टाईनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए ।

त्यस्तै, सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान सुपर लिग पीएसएलको फाइनलमा पुर्‍याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वेको प्रतिनिधित्व गरेका थिए । त्यस्तै, उनका काका ब्रेट र बोयडले पनि व्यावसायिक क्रिकेट खेल्थे ।

जनकपुर बोल्ट्स

जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरको मार्की खेलाडीको रुपमा आशिफ शेख छन् । यसले पनि अहिलेसम्म दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

जिम्मी निसम

जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउन्डर जिम्मी निसमलाई आबद्ध गरेको छ । विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङका लागि चर्चित निसमलाई टोलीमा जोड्न पाउँदा जनकपुर उत्साहित छ ।

निसमले न्युजिल्याण्डका लागि ७९ टी-२० आई, ७६ ओडीआई र १२ टेस्ट खेलेका छन् । उनले इन्डियन प्रिमियर लिगलगायत विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

जोशुआ ट्रोम्प

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । अहिले अमेरिकाबाट खेल्ने ट्रोम्पलाई दायाँ हाते ब्याटर र दायाँ हाते मेडियम पेस बलरको रुपमा चिनिन्छ । उनले अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट पनि खेलिसकेका छन् ।

उनलाई अमेरिकी क्रिकेटमा नयाँ राइजिङ स्टारको रुपमा लिइएको छ । उनका जुम्ल्याह म्याथ्यु ट्रोम्प पनि अमेरिकामा नै क्रिकेट खेल्छन् ।ट्रोम्प १६ वर्षको उमेरमा परिवारसँगै दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट टेक्सस सरेका थिए ।

काठमाडौं गुर्खाज

काठमाडौं गुर्खाजको मार्की खेलाडीमा करण केसी छन् । वसन्त शाहीलाई यो टिमको मुख्य प्रशिक्षक भनिएको छ । काठमाडौंले अहिलेसम्म दुई विदेशी खेलाडी भित्र्याएको छ ।

माइकल लेभिट

काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । लेभिटले भिडिओ सन्देशमा गुर्खाज परिवारमा सहभागी हुनु पाउँदा गर्व लागेको र गोर्खे शैलीमा लडेर क्रिकेट मैदानमा इतिहास रच्ने बताएका छन् ।

२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी-२० आई खेल खेलिसकेका छन् । गत फेब्रूअरीमा कीर्तिपुरमा नेपालविरूद्धको टी-२०आई बाट लेभिटले डेब्यू गरेका थिए ।

जेर्राड इरासमस

काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरासमसलाई पनि अनुबन्ध गरेको छ । इरासमसलाई आफ्नो टोलीमा जोड्न पाउँदा खुसी भएको काठमाडौं गुर्खाजले बताएको छ ।

इरासमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी २० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले ब्याटिङ र बलिङमार्फत टोलीलाई योगदान पुर्याउन सक्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved