अमेरिकामा ४७औं राष्ट्रपति निर्वाचित हुन अब ७ दिन मात्र बाँकी छ । यो निर्वाचनबारे पहिलोपटक मतदान गरिरहेका युवा कसरी सोचिरहेका होलान् ? देशको राजनीतिक परिदृश्य र भविष्यबारे तिनका बुझाइ कस्तो छ ?
यसपटक अमेरिकामा ८० लाख नयाँ मतदाता थपिएका छन् । यी युवाका लागि सन् २०२४ को राष्ट्रपतीय निर्वाचन जीवनको एक महत्त्वपूर्ण सम्झना बन्नेछ । जस्तो कि स्कूल-कलेजमा यिनले लोकतन्त्र, मताधिकार, निर्वाचन र अमेरिकी लोकतन्त्रको इतिहासबारे पढ्दै आएका छन् । अब व्यवहारमै लोकतान्त्रिक प्रक्रियामा सामेल हुनेछन् ।
जीवनको उत्तरार्धका लागि पहिलो मतदान एक सुखद कथा जस्तो बन्नेछ । तिनले आफ्ना सन्तानलाई भन्नेछन्, “मैले सन् २०२४ मा पहिलोपटक मताधिकार प्रयोग गरेको थिएँ ।”
जीवनको पहिलो मतदान अवश्य नै एक रोमाञ्चक अनुभूति हो । त्यो पनि एक लामो लोकतान्त्रिक परम्परा भएको देशको नागरिकका लागि । ती मानिसका लागि जसले भविष्यमा देशको लोकतन्त्रलाई निरन्तरता दिनु पर्नेछ ।
जर्जिया विश्वविद्यालयका १८ वर्षीय लुक निटो अहिले शिक्षकबाट अमेरिकी निर्वाचन र सरकार निर्माणको सम्बन्धबारे पढ्दैछन् । उनीहरूलाई लोकतान्त्रिक मुलुकमा निर्वाचनअघि सार्वजनिक बहस कसरी हुनु पर्दछ भन्ने सिकाइँदैछ ।
लुक भन्छन्, “लोकतन्त्र अहिले निक्कै नाजुक अवस्थामा छ ।”
पछिल्ला दशकमा अमेरिका र ब्राजिलको लोकतन्त्रमा कसरी अधिनायकवादी प्रवृत्ति देखा परे भनेर शिक्षकले उनीहरूलाई पढाएका थिए । लुक भन्छन्, “कक्षामा मैले जे पढेँ, त्यसका आधारमा पनि मेरो मत प्रभावित हुन्छ ।”
लुक निटोका बुबा सन् १९९९ मा भारतबाट अमेरिका आएका थिए । अमेरिकी जीवन उनको परिवारलाई भारतको भन्दा उन्नत र गुणस्तरीय लाग्दछ । उनीहरूसँग घर छ । दुईवटा कार छन् । अमेरिकी जीवन र मताधिकारबारे निटोका मातापिता दुबै सचेत छन् । उनीहरूले बच्चैदेखि उनलाई निर्वाचन र उम्मेदवारबारे सिकाउँदै आएका छन् ।
लोकतान्त्रिक मुलुकमा हुने निर्वाचन र विजेता उम्मेदवारका नीतिले जीवनलाई कसरी प्रभावित गर्दछ भन्ने शिक्षा उनीहरू आफ्ना सन्तानलाई बेलैमा दिन चाहन्छन् ।
निटो अगाडि भन्छन्, “मैले फक्स न्यूजमा कमला ह्यारिसको प्रश्नोत्तर सुनेँ । मलाई उनले मेरै थेसिस पढेजस्तो भान भयो । मैले कक्षाकोठामा ट्रम्प र बोल्सोनारोकालीन अमेरिका र ब्राजिलको तुलनात्मक अध्ययन गरेको थिएँ । मैले यो कुरा मेरा साथीहरूलाई पनि भनेँ ।’
लोकतन्त्रबारे स्कूलमा पढेका कुरा र राष्ट्रपतीय निर्वाचनको मैदानबीच के कति कुरा मिल्छन् वा मिल्दैनन्, यी युवा जीवनमा पहिलोपटक परख गर्दैछन् । तसर्थ, मतदानको दिनको प्रतीक्षामा मात्र छैनन्, निर्वाचन प्रक्रिया र बहसलाई उत्तिकै महत्त्व दिएर नियालिरहेका छन् ।
भर्जिनियाकी अबी लिटोञ्जुवा १८ वर्षकी छन् । उनले स्कूलमा एक राजनीतिक कार्यपत्र लेखेकी थिइन् । त्यसमा उनले आफू कस्तो प्रणालीमा विश्वास गर्दछिन् वा गर्दिनन् भनेर प्रष्ट्याउन खोजेकी थिइन् ।
उनी भन्छिन्, “मलाई आफ्नो विश्वासअनुरूपको राजनीतिक वातावरण पाउन गाह्रो भइरहेको छ । म आफैँ कुनै खास निर्णयमा पुग्न सकिरहेकी छैन । मेरो मत मेरो परिवारको विरासतबाट प्रभावित हुन सक्दछ ।”
उनी सन् २०१६ को निर्वाचन परिणामको दिन सम्झना गर्दै भन्छिन्, “त्यतिखेर म १० वर्षकी थिएँ । निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेको समाचार हेर्दै बिहान-बिहानै मेरी आमा रुनुभएको थियो । मलाई अनौठो लागेको थियो । ट्रम्पले जित्दा आमा किन रुनुपर्ने होला भनेर, त्यतिखेर मैले बुझिनँ । पछि बुझेँ, आमाको चिन्ता महिला अधिकारमा थियो, रिपब्लिकनहरूले गर्भपतन अधिकार खोस्लान् भन्नेमा थियो । मेरो बुबा एक आप्रवासी हो, बुबाको चिन्ता भने ट्रम्पले लिन सक्ने आप्रवासन नीतिमा थियो ।”
नर्थ क्यारोलिनाका हन्टर क्लोत्स्की १९ वर्षका भए । जीवनमा पहिलोपटक मताधिकार प्रयोग गर्न उनको मानसिक तयारी पूरा भएको छ । उनको कलेजमा प्यालेस्टिनी समर्थक विद्यार्थीले प्रदर्शन गरिरहन्छन् । तिनले अमेरिकी झण्डा च्यातेका र प्यालेस्टिनी झण्डा उठाएका दृश्य हन्टरले देखेका छन् । उनी कलेजका अभिव्यक्ति स्वतन्त्रता समूहका अध्यक्ष पनि हुन् ।
हन्टर क्लोत्स्की भन्छन्, “मलाई लाग्छ, मानिसले आफूलाई लागको कुरा बोल्न पाउनुपर्छ । म अभिव्यक्ति स्वतन्त्रताका लागि सबैलाई प्रेरित गर्न चाहन्छु । तर, तोडफोड र हिंसा भने हुनु हुँदैन । त्यो कानुनको उल्लङ्घन हो ।”
उनी अगाडि थप्छन्, “सन् २०१२ यताका सबै चुनावमा म बुबासँग मतदानको दिन बुथ जाने गरेको छु । तसर्थ, मलाई राम्रो ज्ञान छ कि मतदान कति ठूलो अधिकार हो ।”
हन्टर क्लोत्स्कीको विचारमा यहुदी जनताको आत्मनिर्णयको अधिकारको रक्षा प्रयासमा अमेरिकाले सहयोग गर्नु पर्दछ । त्यसका लागि उनी डोनाल्ड ट्रम्प उचित राष्ट्रपति हुन सक्दछन् भन्ने ठान्दछन् ।
फ्लोरिडाका १८ वर्षीय सिन ग्रिन्सवर्थलाई ट्रम्पको व्यक्तित्व असाध्यै प्रेरणादायी लाग्दछ । उनी ट्रम्पका कार्यक्रममा हेर्न जाने गर्दछन् । सन् २०१५ मा जब ट्रम्पले रिपब्लिकन प्राइमरीमा भाग लिएका थिए, ग्रिन्सवर्थले त्यतिखेरैदेखि फलो गर्न थालेका थिए । ट्रम्पको व्यक्तित्व ग्रिन्सवर्थलाई निकै चामत्कारिक र बलियो लाग्दछ । उनको विचारमा ट्रम्प देशको राष्ट्रपति हुन उपयुक्त व्यक्तित्व हुन् ।
एरिजोना विश्वविद्यालयकी १९ वर्षीया ब्रुकी औगुइलार्ड राजनीतिशास्त्रकी विद्यार्थी हुन् । उनीहरूको कक्षामा अमेरिकी राष्ट्रपतिहरूको बारेमा बहस हुन्छ । प्रतिहप्ता दुई राष्ट्रपतिबारे पक्ष, विपक्षमा बाँडिएर तर्कवितर्क गरिन्छ । उनीहरूले बहसपछि आफ्ना प्राध्यापकलाई ती राष्ट्रपतिले आफ्नो युगलाई कसरी विकसित गरे भनेर निष्कर्ष पेश गर्नु पर्दछ ।
ब्रकी भन्छिन्, “यस्ता कक्षाले मलाई राजनीतिक विचारधारा बुझ्न मद्दत गरेको छ । म कन्जर्भेटिज्म र लिबरल डेमोक्रेसी दुबै बुझ्ने प्रयासमा छु । म आफूलाई वाम रुझान राख्ने व्यक्ति ठान्दछु ।”
उनी थप्छिन्, “मलाई लाग्छ कि रिपब्लिकन र डेमोक्र्याटिक पार्टीलाई मात्र किन भोट दिने ? यसपटक मैल बबी केनेडीलाई भोट दिने सोच बनाएकी थिएँ । उनको दुबै पार्टी माथिको आलोचनाले मेरो मन छोएको थियो । उनले अमेरिकी मध्यम वर्गको राम्रो प्रतिनिधित्व गर्लान् भन्ने सोचेकी थिएँ तर, जब बाइडनले उम्मेदवारी फिर्ता गरे, मलाई केनेडीबारे संशय उत्पन्न भयो । जब कमला ह्यारिसको नामाङ्कन भयो, मैले सबै संशय गुमाएँ । म अहिले पुरै उत्साहित छु । मलाई कमलाको बारेमा धेरै कुरा थाहा थिएन । तर, उनको बारेमा यथासम्भव बुझ्ने अवसर प्राप्त भयो । म अहिले कमला ह्यारिसबाट प्रभावित छु ।”
आम नागरिकजस्तै जीवनमा पहिलोपटक मतदान गर्दै गरेका युवाको दृष्टिकोण पनि फरक-फरक छ । आप्रवासी परिवारका नयाँ मतदाताले कमला ह्यारिसलाई छनोट गर्ने सम्भावना बढी छ भने उद्यमशीलता मन पराउने साहसी रैथाने युवा ट्रम्पको व्यक्तित्वबाट प्रभावित देखिन्छन् ।
कतिपयलाई निर्वाचन परिणामपछि सन् २०२० मा जस्तै फेरि हिंसा भड्किने त हैन भन्ने चिन्ता लागेको छ । सन् २०२१ जनवरी ६ को क्यापिटल हिल हिंसाको स्मरण युवा मतदातामा आघातजस्तो बनेर बसेको छ ।
क्यालिफोर्नियाका एलिजावेथ मिरान्डीलाई लाग्छ कि राम्रो होला भनेर भोट हाल्ने हो । स्थिति झनै बिग्रियो भने भोट हालेको के अर्थ भयो ? मिरान्डीको विचार अमेरिका यतिखेर न्यून आय र उच्च बजार मूल्यको चपेटामा छ । जसले जिते पनि नयाँ राष्ट्रपतिको ध्यान त्यतातिर हुनु पर्दछ ।
निर्वाचन आउन ७ दिन बाँकी हुँदा सर्वेक्षणहरूले डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच हाराहारीको प्रतिस्पर्धा देखाइरहेका छन् ।
अक्सर अमेरिकी मतदाता अर्थतन्त्र, आप्रवासन र राष्ट्रवादको भावनाबाट प्रभावित हुने गर्दथे । यसपटकको निर्वाचनमा यी मुद्दाका अतिरिक्त रुस-युक्रेन र मध्यपूर्वको युद्धले पनि प्रभावित गर्न सक्नेछ ।
अमेरिकी युवा राष्ट्रले दिएको सुविधा र अवसरबाट मात्र प्रेरित छैनन्, उनीहरूले देशका जटिलता तथा राष्ट्रका सम्भावना र चुनौती पनि बुझ्न खोजेको जस्तो देखिन्छ ।
(द वासिङ्गटन पोष्टको सहयोगमा)
Facebook Comment
Comment