बुढापाकाका कुरा सुन्दा ज्ञानगुण पाइन्छ भन्ने अर्थ लाग्नेगरी नेपाली भाषामा रहेको उखान आफ्नो अनुभव नयाँ पुस्तामा सार्ने मौखिक प्रचलनको अर्थ र महत्त्व बुझाउने सन्दर्भमा निकै महत्त्वपूर्ण छ ।
हाम्रो समाजको ज्ञान हस्तान्तरणको अनौपचारिक प्रक्रिया यसरी नै हरेक घर-घरमा बुढाबुढीबाट आफ्ना सन्तानमा सर्ने परम्परामा आधारित छ । विद्यालयबाट या गुरुकुलबाट हस्तान्तरण हुने ज्ञानभन्दा बढी प्रभाव त यस्तै अघिल्लो पुस्ताले नयाँ पुस्तामा सार्दै जाने ज्ञानमा आधारित छ ।
कृषि, पशुपालन, भान्साका कुरा, खाद्य संस्कृति, पारिवारिक कुल, गोत्र र नातागोताको सञ्जाल सम्बन्ध, बजार, जडिबुटीको प्रयोगका साथै जन्मदेखि, मृत्युसम्मका संस्कार र सामाजिक सम्बन्धहरू, आर्थिक तथा राजनीतिक शक्तिका कुरा पनि यस्तै पुस्तान्तरण हुँदै आएका ज्ञानमा आधारित रहेर नै मान्छेले नयाँ आवश्यकताअनुसार परिमार्जित गर्दै गएर बनेका हुन् । यसमा वास्तुकलादेखि वाद्यवादन र ज्ञानका सबै विधा पनि पर्छन् । श्रुति परम्परा र पछि लेख्य परम्पराले शिलालेखले पनि ज्ञान परम्पराको जानकारीलाई जीवित राख्छन् ।
अहिले विश्वव्यापी रूपमा राजनीतिमा लोकप्रियतावादको जगजगी छ । उत्तरसत्यको युगमा अल्पज्ञान, परम्परा र शास्त्रसँग नाता तोडेका जस्ता उत्तेजनाप्रेरित नेता र तिनका अन्ध अनुयायीहरूको बोलवाला हुँदै गएको छ । हाम्रै सन्दर्भमा पनि नेपाल राज्यको निर्माण र विकास, आधुनिक युगसुहाउँदो राजनीतिक विचारधारामा आधारित राजनीतिक क्रान्ति र आन्दोलनहरूका उपलब्धिलाई निषेध गर्ने, आफ्नै वर्गको स्वार्थ बुझ्न असमर्थ भीडले राजनीतिलाई डोर्याउने जोखिम बढ्दै गएको छ ।
निकट विगतको इतिहासमा समाज परिवर्तनका लागि भएका अनेक बलिदान र त्यागको इतिहास मेट्न, राजनीतिलाई आदर्शच्युत बनाएर आफ्नो निजी वर्गोत्थानमा लिप्त राजनीतिक नेतृत्वका कारण पनि मानिसहरूले इतिहासप्रति लाञ्छना गर्ने खतरा बढेको छ ।
हाम्रो पुस्ता र त्योभन्दा पहिलेको पुस्ता, हामीभन्दा पछि २०४७ देखि २०६३ सम्मका सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरूमा सहभागी पुस्ताका अदम्य साहस, खर्च भएको उमेर र ऊर्जाको अवमूल्यन हुँदै गएको छ । यस्तो अवस्थामा नयाँ पुस्तालाई इतिहासका ती घटना र हाम्रा अग्रजले गरेका योगदानको मूल्य सम्झाउन पनि त्यस कालखण्डको इतिहासलाई अभिलिखित गर्न जरुरी भएको छ ।
यसै क्रममा अभिलेखिकरणको त्यो खाँडललाई केही हदसम्म पुर्न र पञ्चायतीकालमा राजनीतिक आन्दोलनमा लागेर बलिदान गरेका र अहिले जीवनको उत्तरार्धमा पुगेका वामपन्थी ज्येष्ठ नागरिकको भेला यही कात्तिक ९ र १० गते पोखरामा गरियो । म आफैँ पनि यो कार्यक्रम आयोजनाका लागि तयारीको काममा सक्रिय रहेकोले मेरा अनुभवहरू यहाँ सेयर गर्न चाहन्छु ।
यस्तो आयोजना गर्ने विचारको विकासचाहिँ दुई भिन्न-भिन्न विचार र उद्देश्यको मिलनबाट भएको थियो । २०६४ तिर लमजुङका मानव अधिकारवादका क्षेत्रमा सक्रिय युवा राम भण्डारीले काठमाडौंबाट तत्काल सक्रिय गण्डकी विद्यार्गी परिषद्को मुखपत्रका रूपमा २०२६ तिर चार/पाँच पात प्रकाशित भएर बन्द भएको लालुपातेको पुन:प्रकाशन गर्न पहल गरेका थिए ।
त्यसै सन्दर्भमा भण्डारीले मलाई गण्डकीको वामपन्थी आन्दोलनको इतिहास लेख्न उक्साएका थिए । त्यतिबेला केही पुराना कमरेडसँगको संवाद, केही आफ्ना अनुभव र केही पुराना डकुमेन्ट्स खोजेर मैले सरसर्ती गण्डकीको कम्युनिष्ट राजनीतिको इतिहास लेखेँ र त्यो लालुपातेमा प्रकाशित भयो । लालुपाते त्यसपछि निस्केन । म पनि अरु काममा लागिरहेँ ।
त्यही बीचमा मैले मेरो पुस्तक ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा, गोर्खा भर्तीको नालिबेली’ लेख्ने क्रममा धेरै ब्रिटिश गोर्खा र तिनका परिवारका सदस्यसँग संवाद गरेको थिएँ । पोखरा, धरान, इटहरी, विराटनगर, काठमाडौं, तनहुँ र बुटवल पक्लिहवासम्म गएर गरिएका कुराकानीका आधारमा नै मैले त्यो पुस्तक तयार पारेको थिएँ । त्यसक्रममा भएका कुराकानी र पछि पुस्तक प्रकाशित भएपछि विद्वान् मित्रहरूबाट प्राप्त प्रतिक्रियाले मलाई मौखिक इतिहासको महत्त्वबारे धेरथोर जानकारी भयो । र, म आफूले गरेको कामले उत्साहित भएको थिएँ ।
त्यही समयको सेरोफेरोमा मानवाशास्त्री सुरेश ढकाल, सिनेमासम्बन्धी विज्ञ अनुप सुवेदीसहित हामीले लमजुङको चिशङ्कुमा माओवादी जनयुद्धका समयमा भएका केही घटनाका पीडित, धनकुटाको खोकु-छिन्ताङ क्षेत्रमा २०३६ कात्तिकमा सरकारले गरेको कम्युनिष्ट समर्थकको हत्याकाण्डका पीडितसँग लामो कुराकानी र त्यसको डकुमेन्ट्री बनाउने काममा सहकार्य गरेका थियौँ । यसले पनि मलाई ओरल हिस्ट्रीको महत्त्व बुझ्न सहयोग गरेको थियो । र, मलाई आफूले तत्कालीन नेकपा मालेको भूमिगत सञ्जालमा बसेर काम गरेको २०३६ देखि २०४६ सम्मको अवधिको इतिहास लेखिएन भन्ने कुराले पिरोलेको थियो (मैले फिक्सनका रूपमा आफ्नो उपन्यास ‘आधा जून’मा चाहिँ त्यसको केही अंश अवश्य लेखेको थिएँ ) । यो हुटहुटी फेरि गतवर्ष नेपाल रिडर्सको सम्पादक भएर काम गर्न थालेपछि बढ्दै गयो ।
२००७ सालको क्रान्तिमा बन्दीपुर कब्जा गर्न जानेहरूको समूहमा लक्ष्मिभक्त उपाध्याय (तनहुँको रिसिङ गाउँका) पनि रहेछन् । उनीलगायत बन्दीपुरका केही अगुवाहरू २००८ सालबाटै कम्युनिष्ट पार्टीप्रति आकर्षित भएका रहेछन् । र, विस्तारै पार्टीमा जोडिएका रहेछन् । सोही आन्दोलनका कमाण्डरहरू निर्मल लामा र चित्रबहादुर गुरुङ त पछि कम्युनिष्ट पार्टीका नेता नै भए । लामा गण्डकी प्रदेश बाहिरका भए पनि गुरुङ पर्वतका थिए । पछि एकदेव आले, एमएस थापा, टेकनाथ बराल, पुष्पकमल सुवेदी, चित्रबहादुर केसी, वाचस्पती देवकोटा, सोमनाथ प्यासी, त्रिलोचन ढकाल, दीनानाथ शर्मा, बाबुराम भट्टराई, पृथ्वीसुव्बा गुरुङ, केशवलाल श्रेष्ठ, तिलक पराजुलीलगायतले आन्दोलनमै लागेर देशभर एउटा परिचय बनाए ।
यसरी गण्डकी प्रदेशमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने हजारौं कार्यकर्ता र समर्थकले क्रान्ति र परिवर्तनको नेतृत्व गरे । उनीहरूका योगदानको अभिलेख भने अझै पनि राम्रोसँग भएको छैन ।
माओवादी जनयुद्धको समयमा भएका सैन्य र फौजी कारबाहीमा सामेल भएर या जीवन आहुति दिएर गणतन्त्र प्राप्तिका लागि योगदान दिनेको सूची त निकै लामो हुनेछ । त्यसअघि पनि पर्वतको चुवा र तत्कालीन स्याङ्जा जिल्लामा पर्ने कृष्तिको मनि एक्सन काण्ड, तनहुँ र गोर्खाका किसान आन्दोलनहरू, दोवामा भएको गणतन्त्र घोषणा, पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी आन्दोलन, २०२६ मा पोखरामा भएको साहित्यिक कार्यक्रम, आदि अनेक सन्दर्भ छन्, जसले कम्युनिष्ट राजनीतिको इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
गण्डकीमा पुष्पलालबाट प्रभावित भएका र कुनै न कुनै रूपमा बनारसमा पुगेर उनबाट दीक्षा लिएकाहरूले नै कम्युनिष्ट आन्दोलनको जग बसालेका हुन् । पुष्पलाल समूहबाट अलग भएर गण्डकी धौलागिरी क्रान्तिकारी कम्युनिष्ट दल माले समूह बनाएका जयप्रकाश बाँस्तोला र पुष्पकमल सुवेदीहरू, सोमबहादुर बोगटी, केपी भट्टराई, आरसी अधिकारी, सोमनाथ प्यासीहरू, काठमाडौंको गण्डकी विद्यार्थी परिषद्मा सङ्गठित भएर योगदान गरेका वाचस्पती देवकोटा, सोमनाथ घिमिरे, शरणविक्रम मल्लहरू, बुर्जुवा शिक्षा बहिष्कार भन्दै गाउँ-गाउँमा गएर शिक्षकका रूपमा सक्रिय रहेका कृष्णप्रसाद आचार्य, रामराज रेग्मी, खगेन्द्र संग्रौला, प्रेमराज अधिकारी, रामबाबु, प्रभात तथा अमर सुवेदीहरू, नेकपा चौम, नेकपा माले, नेकपा मशाल र मसाल समूहको स्कूलबाट हुर्केकाहरूसमेत अनेक थरि इतिहास बोकेका वामपन्थी क्रान्तिकारीका योगदानको पनि उत्तिकै महत्त्व छ, जसको अझै राम्रोसँग अभिलेख उतारिएको छैन ।
यसैबीच गण्डकीकै पुराना वामपन्थी नेताहरू कृष्णप्रसाद आचार्य, मोहनबहादुर केसी, रामराज रेग्मी, लेखनाथ पोख्रेलहरूले पनि पुराना वामपन्थी कार्यकर्ताको एउटा पूनर्मिलन कार्यक्रम आयोजना गर्न सरसल्लाह गरिरहेको भन्ने थाहा भयो । सल्लाह भएपछि हामी पोखरामा गण्डकी क्षेत्रमा रहेर पञ्चायत कालमा कम्युनिष्ट आन्दोलनमा योगदान गरेका ७० वर्ष माथिका साथिहरूको एउटा भेला आयोजना गर्ने निर्णयमा पुग्यौँ । त्यही क्रममा यो कार्यक्रम सम्पन्न भएको हो । यहाँ उपस्थित ज्येष्ठ वामपन्थीबाट केही लिखत विवरण र केही भिडिओ रेकर्डिङ गर्दै अभिलेख तयार पार्ने र त्यसका आधारमा एउटा पुस्तक र डकुमेन्ट्री तयार पार्ने प्रयास गरिँदै छ ।
यसले अरु क्षेत्रका साथीहरूमा पनि यस्तो कार्यक्रमको लागि उत्साहित गरेको खण्डमा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा ठूला घटना र बडे नेताहरूको भूमिकाभन्दा पर भुइँ तहका कार्यकर्ताको भूमिकाको अभिलेख तयार पार्न मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ ।
इतिहासमा शक्तिमा पुगेका नेताहरूको भूमिकाको बढाइचढाइ गर्ने तर, आम जनसमूहले नै इतिहास निर्माण गर्छ भन्ने मान्यतालाई स्थापित हुन नदिने प्रयास भई नै रहन्छ । शक्तिमा हुने या प्रधानमन्त्री अथवा पार्टी अध्यक्ष अथवा त्यस्तै शक्तिमा पुगेकाहरू आम जनसमूहको समर्थन र सहयोग बिना त्यस्तो पदमा पुग्न सक्दैनन् भन्ने बिर्सने मनोरोग लेखकहरूमा समेत पाइन्छ । शक्तिसँग धन र सत्ताको ग्ल्यामर जोडिएर आउने हुँदा शक्तिशालीका पक्षमा नै विचार बन्छ । बनाउन लगाइन्छ । यस सम्बन्धमा सोभियत सङ्घको कम्युनिष्ट पार्टीको इतिहास स्टालिनले आफूअनुकूल लेख्न लगाएको सन्दर्भ स्मरण हुन्छ ।
हामीकहाँ पनि पुष्पलाल, केशरजंग रायमाझी, मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, माधवकुमार नेपाल, जेएन खनाल, सिपी मैनाली र बाबुराम भट्टराईका थाप्लामा सम्पूर्ण इतिहास निर्माणको जस थोपर्ने तर, शेल्टर दिएर केही दिन पहिले एमाले नेता विन्दा पाण्डेले लेखेझैँ आफ्नो गाँस कटाएर १०३ पैसा जम्मा गरेर पार्टीलाई लेबी बुझाउने आश्रयदातालाई बिर्सने परम्परा छ । पृथ्वीनारायण शाह र कालु पाण्डेको गुणगान गाउने र बिसे नगर्चीहरूलाई बिर्सने गरेजस्तै कम्युनिष्ट या प्रजातान्त्रिक आन्दोलनमा पनि त्यस्तो रोग छ ।
हाम्रो प्रयास इतिहास लेखनलाई साधारण मानिसको योगदान र भूमिकाका आधारसम्म लैजाने भन्ने नै हो । यस्तो भेलाले अवश्य पनि त्यसतर्फ फर्कन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।
लेखनको बिट मार्नु अगाडि गण्डकीका वामपन्थीहरूको भेलाले पारित गरेको प्रस्तावको भूमिकामा लेखिएको निम्न कुरा यहाँ कोट गर्नु उपयुक्त हुनेछ । प्रस्तावको थालनीमा भनिएको छ :
हामी यस गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेपालको कम्युनिष्ट आन्दोलनका विभिन्न घटकमा संलग्न रहेर खासगरी राजाको निरङ्कुश शासनविरुद्ध नेपालमा सामन्तवाद र साम्राज्यवादी शोषणको अन्त्य गर्दै जनवादी व्यवस्था स्थापना गर्न र समाजवादी व्यवस्थाको जग तयार पार्न भूमिका खेलेका ज्येष्ठ वामपन्थी नागरिकहरू यही कात्तिक ११ र १२ गते पोखरामा भेला भयौँ ।
दुई दिनसम्म चलेको भेलामा सहभागी हामी वामपन्थी ज्येष्ठ नागरिकहरू नेपालको कम्युनिष्ट तथा जनवादी आन्दोलनले नेपाली समाजलाई सामन्तवादबाट मुक्त गर्न, पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्न गणतन्त्रको प्राप्तिका लागि गरेको योगदानप्रति गर्व महसुस गर्छौँ ।
विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक बनेको समयमा नेपालमा सरकार, संसद् र सडकमा पनि वामपन्थी शक्तिको शक्तिशाली उपस्थिति छ । यसका लागि यसका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठलगायत पहिलो पुस्तादेखि आजको पुस्तासम्मका क्रान्तिकारीका योगदानलाई उच्च सम्मान गर्छौँ ।
भूमिगत पेशेवर भएर, प्रवासमा बसेर, विभिन्न पेशाको आवरणमा बसेर र जेल-नेल खाएर आन्दोलनलाई अघि बढाउन सक्रिय रहनेहरू र उनीहरूका परिवारको योगदानको उच्च कदर गर्छौँ । आगामी दिनमा पनि कम्युनिष्ट आन्दोलनका आदर्शहरूको रक्षा, प्रचारप्रसार र आन्दोलनभित्र देखा पर्ने विचलनहरूका विपक्षमा उभिइरहने र आफू जुन जुन दलमा छ, त्यहीँबाट स्वतन्त्र रहनेहरूले स्वतन्त्र रूपमा नै वामपन्थी आन्दोलनको विकास र रक्षाका लागि पयत्नरत रहने प्रण गर्दछौँ ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विभिन्न रूपमा सामेल भएर सक्रिय योगदान गर्नेहरूका त्याग र बलिदानको अभिलेख तयार पार्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ ।
Facebook Comment
Comment