काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले गृहमन्त्री फेर्न चाहेको चर्चा सुरु भएको छ । अहिले रमेश लेखक गृहमन्त्री छन् । उनी गृहमन्त्री बनेको जम्माजम्मी १०० दिन कटेको छ ।
तर, यसबीचमा उनका केही कदम विवादित बने । खासगरी आफूअनुकूल प्रहरी सरुवा गरेको, विपद्मा आकस्मिक सही निर्णय लिन नसकेको, पार्टीभित्र संस्थापन पक्षको मात्रै सुझाव सुनेको लगायतका कुरा सुनिए ।
त्यसपछि खासगरी संस्थापनइतर पक्षले गृहमन्त्री फेर्नेबारे छलफल सुरु गरेको बताइन्छ । संस्थापनइतर पक्षमा पनि खासगरी गगन थापा प्यानलले यो छलफल सुरु गरेको हो ।
यो पक्षले आफ्नो प्यानलमा यसबारे छलफल गर्ने गरेको छ । गगननिकट एक नेता भन्छन्, “यसबीचमा उहाँ (गृहमन्त्री रमेश लेखक) माथि प्रश्नहरू पनि उठे । सबैका सुझाव सुन्ने काम पनि भएन । त्यसकारण फेर्नुपर्छ भन्ने छलफल भएको हो । तर, यो कार्यान्वयनमा गइहाल्छ भन्ने होइन ।”
त्यसो त रमेश लेखक पार्टी सभापति शेरबहादुर देउवा अर्थात् संस्थापन पक्षीय नेता हुन् । भनिन्छ— उनी देउवाका दाहिने हात हुन् । अझ बढी नै आलोचनात्मक भाषा प्रयोग गर्नेहरू त उनलाई ‘देउवाका गोजीका मान्छे’समेत भन्दछन् ।
जे होस्, उनी देउवाका निर्णय र उनका अभिव्यक्तिविरुद्ध कहिल्यै जाँदैनन् । त्यसैले पनि देउवाले पछिल्लो मन्त्रिपरिषद्मा उनलाई गृहमन्त्री दिएका हुन् ।
यही कारण आफूहरूको सुझाव नसुनिएको गगन प्यानलको ठम्याइँ छ । गगन समूहले संस्थापन पक्षकै नेता नै भए पनि हुने तर, गृहमन्त्री फेर्नुपर्ने भन्दै छलफल सुरु गरेको हो । उनीहरूले एनपी साउद (नारायणप्रकाश साउद) को नाम लिएको स्रोत बताउँछ ।
साउद पनि देउवानिकट नेता नै हुन् । कांग्रेसकै प्रमुख समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा साउद परराष्ट्रमन्त्री थिए । गगन प्यानलले देउवानिकट नै भए ‘रमेशभन्दा एनपी ठीक’ भनेर त्यो निष्कर्ष निकालेको बताइन्छ ।
यद्यपि, यो छलफलको निष्कर्ष पार्टी सभापति देउवालाई सुनाइएको छैन । अहिले गगन भारतमा छन् । यो छलफल उनी भारत जानुभन्दा अगाडि नै गरिएको हो ।
कांग्रेस नेता मीनबहादुर विश्वकर्मा भन्छन्, “कांग्रेसभित्र मन्त्री फेर्नेबारे कुनै औपचारिक तथा अनौपचारिक छलफल भएको छैन । कोही नेताहरूले व्यक्तिगत रूपमा भन्नुभयो होला ।”
गगन समूहले प्रस्ताव गरेको भनिएका एनपी साउद पनि त्यसबारे आफूलाई जानकारी नभएको बताउँछन् । उनले नेपालभ्युजसँग भने, “यसबारे मलाई थाहा छैन । यो कुरा मेरो कानमा परेको छैन ।”
यसमा संस्थापनइतर पक्षकै अर्का नेता शेखर कोइराला पक्ष पनि ‘हुँदैन’ भन्ने पक्षमा छैन । अझ कोइराला त वर्तमान सरकारको आलोचना गर्ने नेतामध्ये पर्दछन् । उनले वर्तमान सरकारलाई ‘फेल’ हुन छुट नभएको र मन्त्रीहरू बढी ‘एक्सन-ओरिन्टेड’ हुनुपर्ने बताउँदै आएका छन् ।
यता सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) ले पनि कांग्रेसभित्रको मन्त्री फेर्न चाहेको चर्चाबारे थाहा छैन । प्रमुख सचेतकसमेत रहेका एमाले नेता महेशकुमार बर्तौला भन्छन्, “प्रधानमन्त्रीज्यूकहाँ त्यस्तो सल्लाह आएको थाहा छैन ।”
Facebook Comment
Comment