दलाल र मेनपावरको ठगी

कुवेत जानुपर्ने मान्छेलाई अजरबैजानको श्रम स्वीकृति, पार्लरमा काम तर, दिइएन दाम

श्रम स्वीकृतिमा नेपाल सरकारको छापसमेत छैन । उक्त श्रम स्वीकृतिपत्रमा भएको क्यूआर स्क्यान गरेर हेर्दा त्यो खाली देखिन्छ । यसरी हेर्दा त्यहाँ वैदेशिक रोजगार विभागको लेटरहेड दुरुपयोग गरिएको छ । उनले पछि थाहा पाइन् कि आफूलाई कुवेतको पार्लरमा पुर्‍याउन बनाइएको डकुमेन्ट सबै फेक थियो ।

कुवेत जानुपर्ने मान्छेलाई अजरबैजानको श्रम स्वीकृति, पार्लरमा काम तर, दिइएन दाम

काठमाडौं । काठमाडौंको एक ब्यूटीपार्लरमा काम गरेर दैनिकी टारिरहेकी सनिता माझीलाई अफर आयो— कुवेतबाट ब्यूटीसियनको अफर आएको छ, युरोपको जस्तै तलब छ । गए लाइफ बन्छ । नेपालमा जति दु:ख गरे पनि भविष्य छैन ।

यसपछि सनिता सोचमा परिन्, के गर्ने, के नगर्ने ? लागत के-कति लाग्छ, विदेश जाने प्रक्रिया के-कस्तो छ, उनले सबै बुझिन् ।

“राम्रो डिमान्ड आएको थाहा पाएपछि सबै बुझेर गाउँमा ममीलाई भनेर दुई लाख ५० हजार ऋण खोज्न लगाएँ । ममीले ३ महिनाको लागि सयकडा ५ रुपैयाँका दरले गाउँमा खोजखाज गरेर ऋण लिएर मलाई पठाइदिनुभयो, अनि मैले बुझाएकी थिएँ,” सनिताले सुनाइन् ।

भिसा आएपछि तीन महिना कुर्नुपर्‍यो प्लेन टिकट

ममीले पैसा व्यवस्थापन गरिदिएपछि सनिताले २०८१ वैशाख पहिलो साता कुवेतमा ब्यूटीसियनका लागि आवेदन दिइन् ।

त्यसपछि जेठ पहिलो साताभित्र त भिसा आयो तर, प्लेनको टिकटका लागि भने तीन महिना कुर्नुपर्‍यो ।

उनले आवेदन दिँदैखेरि १ लाख बुझाएकी थिइन् । “पैसा बुझाएको केही दिनमा भिसा आयो भनेर म्यानपावरले भनेको थियो,” सनिताले भनिन् ।

भिसा आएको खबर पाएपछि उनी पार्लरको जब छाडेर आफन्तको डेरामा उडानको दिन पर्खँदै बसिन् ।

जेठ ६ गते आएको सनिताको भिसा पेपर ।

भिसा आएलगत्तै पूर्वसर्तअनुसार उनले थप एक लाख बुझाइन् । “जति छिटो पैसा बुझायो, त्यति छिटो टिकट आउँछ भन्नुभयो । मैले थप एक लाख भिसा आएपछि दिएँ,” उनले भनिन् ।

पैसा बुझाएपछि उनले एक हप्ताभित्र प्लेनको टिकट आउँछ भन्ने वचन पाएकी थिइन् तर, कुर्नुपर्‍यो तीन महिना । “मैले सपिङ र सबै तयारी गरेर बसेँ तर, तीन महिनासम्म टिकट नै आएन,” उनले भनिन् ।

यसबीचमा सनिताले म्यानपावरका मान्छेलाई निरन्तर फोन गरिन् तर, फोन कहिले व्यस्त हुन्थ्यो, कहिले स्वीच्ड अफ त कहिले उठ्दैनथ्यो ।

निरन्तरको ताकेतापछि एकपटक फोन उठ्यो, सनिताले जवाफ पाइन्— तिम्रो उडान अर्को हप्ता फिक्स हुन्छ ।

एक हप्ता बित्यो तर, उडन भएन । न फोन नै आयो, न आफूले गर्दा उठ्यो । कहिले सनितासँगै जाने अरुले पैसा नबुझाएकाले ढिला भयो भन्ने बहना बनाइँथ्यो त कहिले कोटा नपुगेको !

अन्ततः गत साउन २९ गते (अगस्ट १३, २०२४) तीन महिनापछि उडानको डेट तोकिएको टिकटको फोटो सनिताको ह्वाट्एसपमा आयो ।

तीन महिनापछि आएको सनिताको टिकट ।

यसबेलासम्म सयकडा ५ रुपैयाँका दरले ममीले काढेर पठाएको पैसा सनितासँग सकिइसकेको थियो । पुलिस रिपोर्ट, मेडिकल रिपोर्ट, भाषा, अन्तर्वार्ता, एजेन्टलाई कमिसन गर्दागर्दै उनीसँग पैसा रित्तियो ।

२ लाख त उनले म्यानपावरमै बुझाइन् । “सुरुमा ऋण लिएको पैसा काठमाडौंमै सकियो । टिकट आएको थाहा पाएपछि फेरि ५० हजार ऋण काढेर ममीले पठाइदिनुभयो,” सनिता सुनाउँछिन् ।

तयारी कुवेतको तर, श्रम स्वीकृति हात पर्‍यो अजरबैजानको

सनिताले कुवेतका लागि तयारी गरेकी थिइन् तर, श्रम स्वीकृति भने अजरबैजानको दिइयो; त्यो पनि ‘फेक’ ।

उनलाई मास्टर जबकी एजेन्ट शान्ति केसीले एयरपोर्ट गेटमै भेटेर प्लेन टिकट, पासपोर्ट र केही कागजातलगायतका एजेन्टा थमाइदिइन् ।

उनको हातमा अजरबैजानको श्रम स्वीकृत देखेपछि कतिले उनलाई सोधे— अजरबैजान जान लागेको हो ?

तर, उनी जाँदै थिइन् कुवेत । सबै प्रोसेस कुवेतकै लागि भएको थियो तर, श्रम स्वीकृति भने अजरबैजानको ‘फेक’ हात पर्‍यो ।

उनी दुखेसो पोख्छिन, “मेरो त यति धेरै पैसा खर्च भइसकेको थियो । जसरी भए पनि विदेश जानु थियो । त्यसपछि उनीहरूले भनेअनुसार नै गर्नु मेरो बाध्यता थियो ।”

कुवेत जाने तयारी गरेकी सनितालाई प्राप्त भएको अजरबैजानको श्रम स्वीकृति ।

त्यसो त सनितालाई एजेन्ट शान्ति केसीले थमाइदिएको डकुमेन्ट पनि लिगल देखिँदैन । “उनीहरूले जे-जे गरे/भने, त्यसैगरी म कुवेत गएँ,” उनले भनिन् ।

सनितालाई दिइएको श्रम स्वीकृतिमा नेपाल सरकारको छापसमेत छैन । उक्त श्रम स्वीकृतिपत्रमा भएको क्यूआर स्क्यान गरेर हेर्दा त्यो खाली देखिन्छ ।

यसरी हेर्दा त्यहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको लेटरहेड दुरुपयोग गरिएको छ । म्यानपावरकै कारण उनले बोर्डिङ पाससमेत पाइनन् ।

अजरबैजान होटेलले पठाएको भनिएको रोजगार प्रस्ताव ।

यो कुरा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि मात्र थाहा पाइन् । उनी भन्छिन्, “धेरै रिक्वेस्ट गरेँ, रोएँ । त्यत्रो ऋण छ, जसरी पनि विदेश त जानैपर्छ भनेर रोइ-कराइ गरेँ तर, केही भएन ।”

त्यतिबेलासम्म उनको प्लेन छुट्ने समय भइसकेको थियो । अन्तिममा सनिताको अनुनय-विनयपछि उनलाई बोर्डिङ पास मिल्यो । त्यतिन्जेलसम्म म्यानपावरका मानिस कोही सनिताको सम्पर्कमा आएनन्, उनीहरूको मोबाइल स्वीचअफ थियो ।

युएईको शारजाह एयरपोर्टमा पुगेपछि सनिताको ह्वाट्सएपमा एउटा एसएमएस आयो— कहाँ पुग्यौ बहिनी ? नेपाल एयरपोर्टमा छिर्न दिए त ? त्यो एसएमएस एजेन्ट भनिने शान्ति केसीको थियो ।

दुबई एयरपोर्टबाट ट्रान्जिट यात्रा

त्यहाँबाट एजेन्टले भनेअनुसार नै सनिताले नेपालबाट शारजाह पुगेको डकुमेन्ट लुकाइन् र एजेन्टले दिएको एयरपोर्टबाट कुवेतसम्मको प्लेन टिकटसहितको डकुमेन्ट निकालिन् ।

सनिताका अनुसार एजेन्ट शान्ति केसीले शारजाहदेखि कुवेतसम्मको त्यो डकुमेन्ट बिस्कुटभित्र लुकाएर दिएकी थिइन् । उनी भन्छिन्, ‘दुवैदेखि कुवेतसम्मको डकुमेन्ट बिस्कुटभित्र लुकाएर दिएको थियो, कसैले सोध्यो भने खाजाको लागि बिस्कुट बोकेको भन्नु भनेको थियो ।’

शारजाहबाट उनी सोही डकुमेन्टकै आधारमा कुवेत पुगिन्, त्यहाँ लिन आए एक पुरुष ।

सनिता सुनाउँछिन्, “एउटा मान्छेले कुवेत एयरपोर्टबाट ब्यूटीपार्लर कम्पनीको साहुको घरमा लगिदियो । भोलिपल्ट पार्लरमा लग्यो तर, त्यो कम्पनी जस्तो पनि लाग्थेन । सानो पार्लर थियो ।”

त्यहाँ तीन/चार जना काम गर्ने केटी थिए । उनीहरूसँग कुरा गर्दा सनिताले थाहा पाइन् कि त्यो पार्लर उनको कामको सम्झौतापत्रमा लेखिएअनुसार थिएन ।

उनलाई आफू फसेको बल्ल थाहा भयो । उनी सुनाउँछिन्, “जे भए पनि त्यत्रो ऋण लागेको छ यहाँ आउनलाई, काम गर्छु सोचेर काम गरेर बसेँ तर, एक महिना काम गरे पनि तलब दिएन । उल्टै कोठा भाडाको ५० दिनार तिर्न लगायो । खाना खर्च आफैँले बेहोर्नुपर्छ भनियो ।”

कुवेतस्थित नार्जिस ब्यूटी सलोनसँग गरिएको रोजगार सम्झौता ।

सनिताको सम्झौता पत्रअनुसार उनलाई पठाइएको नार्जिस ब्यूटी सलोन फर लेडिजमा आधारभूत पारिश्रमिक १७० दिनार (नेपाली करिब ७५ हजार) दिने लेखिएको छ । जहाँ खान बस्न कम्पनीले दिने उल्लेख गरिएको छ । साथै, ड्युटी समय ८ घण्टा तोकिएको छ भने हप्तामा एक दिन बिदा पनि लेखिएको छ । तर, सनिताले त्यहाँ १२ घण्टा काम गर्नुपर्थ्यो ।

एक महिनाको अवधिमा उनले एकदिनपनि छुट्टी पाइनन् । खान बस्न आफ्नै । उनी कुवेतको नार्जिस ब्यूटी सलोन फर लेडिजमा काम गर्न थालेको २० दिन जति भएको थियो । एक दिन अचानक साहुनीले बाहिर ननिस्कनु पुलिसले पक्रन्छ भनिन् । सनिता सुनाउँछिन्, “म त छक्क परेँ किन मलाई त्यस्तो भन्यो थाहा छैन । मैले त श्रम स्वीकृति लिएर त्यत्रो पैसा बुझाएर पो गएकी थिएँ ।”

उनले पछि थाहा पाइन् कि आफूलाई कुवेतको सो पार्लरमा पुर्‍याउनको लागि बनाइएको डकुमेन्ट सबै फेक थियो । उनको भिसा पनि सकिएछ । अब उनलाई झन् पीर पर्‍यो । बुढाबुढी बाबाआमालाई घर बनाइदिने र आफ्नो भविष्य बनाउने सपना बोकी ब्यूटीसियन सिकेर विदेश गएकी सनिता अब जुनसुकै बेला पनि कुवेत प्रहरीको फन्दामा पर्न सक्ने थिइन् ।

डरै-डरमा उनले आफूलाई लुकाउँदै आइरहेकी थिइन् । सोही क्रममा सनिता नेपालभ्युजको सम्पर्कमा आइन् । हामीले उनलाई पठाउने म्यानपावर र एजेन्टलाई सम्पर्क गरेर नेपाल फर्कायौँ ।

म्यानपावरका डाइरेक्टर भन्छन्- मान्छे कहिले उड्यो, थाहा छैन

मास्टर जबका डाइरेक्टर वासुदेव अधिकारी सनिता उडेकोबारे आफूलाई थाहा नपएको बताउँछन् ।

“डिमान्ड आएको सही हो, भिसा लागेको नि सही हो । तर, मान्छे (सनिता माझी) कहिले र कसरी उडाइयो, थाहा छैन,” उनले नेपालभ्युजसँग भने ।

म्यानपावरका डाइरेक्टर अधिकारी सबै दोष शान्ति केसीलाई लगाएर उम्किन खोजिरहेका छन् । उनी आफू यस प्रकरणमा अनभिज्ञ रहेको र केही थाहा नभएको बताउँछन् । यद्यपि, शान्ति केसी आफ्नो पार्टनर रहेको उनले स्वीकार गरे ।

अधिकारी भन्छन्, “शान्तिलाई म चिन्छु, मेरो पुरानो पार्टनर पनि हो । योभन्दा पहिला सत्य म्यानपावरमा सँगै काम गरेका छौँ । त्यति बेला पनि शान्तिले यसै गरी गैरकानूनी रूपमा मान्छेहरू विदेश पठाएकी रहिछन् । त्यति बेला पनि मैले नै कुरा मिलाउन परेको थियो । यो घटनालाई पनि मिलाइदिनुपर्‍यो ।”

मास्टर जब म्यानपावरका डाइरेक्टर अधिकारी हामीसँग यो घटना मिलाउनको लागि बारम्बार अनुरोध गर्छन् । कहिले उनी भेटेर सल्लाह गर्ने बताउँछन् त कहिले कल गरेर कुरा मिलाउने प्रयासमा छन् ।

उता घटनाको मुख्य पात्र शान्ति केसी २ लाख रुपैयाँ मात्र तिर्ने बाँकी पैसाको विषयमा आफूसँग कुरा नगर्नु भनी धम्क्याउँछिन् । उनी भन्छिन्, “काम गरिरहेको मान्छेलाई उचालेर नेपाल बोलाउने अनि अहिले पैसा फिर्ता दे भन्ने, २ लाख दिन्छु अरू कुरा मसँग नगर्नू ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved