रिपोर्ट

रुसी सेनामा पुगेका नेपालीको कथा : युक्रेनको मोर्चामा खटिँदा कोही मारिए, कोही जेलमा सड्दै

तिलकुमारीले छोराको ५० मिनेट लामो अन्तवार्ता सुनिन् । यसका केही अंश नेपालीमा छन् । त्यसपछि उनले परिवारलाई लेखेका तीनवटा चिठी निकालिन्, जुन अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत पठाइएको थियो । तिलकुमारी चिठी आफैँ पढ्न सक्दिन थिइन् । उनका छोरी ती पढेर उनलाई सुनाउन तयार थिएनन्, किनकि ती निकै भावुक बनाउने खालका थिए ।

रुसी सेनामा पुगेका नेपालीको कथा : युक्रेनको मोर्चामा खटिँदा कोही मारिए, कोही जेलमा सड्दै

गत अक्टोबरमा प्रतीक पुनले रुसी कमान्डरबाट युक्रेनको जापोरिझिया क्षेत्रको मोर्चामा जाने आदेश पाए । तर, २१ वर्षे ती युवासँग लडाइँको कुनै अनुभव थिएन ।

ती नेपाली विद्यार्थी रुसी सेनामा गएको २ महिना पनि भएको थिएन र उनी भाषा बुझ्दैनथे । बन्दुक र गूगल अनुवाद भएको सेलोफोन लिएर उनी बिहान ३ बजेतिर रातले छोपेको खेतबारीमा सावधानीपूर्वक हिँडिरहेका थिए ।

त्यही बखत उनी एक घाइते रुसी सैनिकसँग ठोक्किए । पुनले आफ्नो गूगल अनुवाद एप्स खोले । उनी ती व्यक्तिलाई यो सोध्न चाहन्थे कि आफूजस्तो रुसी सेनामा भर्ती भएको नेपाली समूह उनले देखेका छन् कि छैनन्, जो आफ्नो परिवारलाई पठाउने पर्याप्त पैसा कमाउन आफूलाई थाहै नभएको युद्धमा सामेल छन् ।

पुन आफ्नो कुरा बुझाउन खोज्दै मात्रै थिए, त्यही बेला युक्रेनी सेना आएर दुवैलाई आत्मसमर्पण गर्न आदेश दिए । पुन अहिले पश्चिमी युक्रेनको जेलमा छन् । त्यहीँबाट उनले सीबीसी न्यूजसँगको अन्तवार्तामा भनेका छन्, “म बिहान ३/४ बजेतिर मोर्चामा पुगेँ । त्यसै दिउँसो पक्राउ परेँ । मलाई हर-क्षण, हर-चीज र हर-कदमप्रति पछुतो छ ।”

नेपालको दुर्गम पहाडी गाउँबाट मस्को हुँदै युक्रेनको युद्ध मोर्चामा पुग्ने बाटोमा अन्य थुप्रै नेपाली पनि हिँडेका छन् । कतिले ठीक यही बाटो प्रयोग गरेका छन् भन्ने अनुमान गर्न गाह्रो छ, किनकि ती फरक-फरक रुट हुँदै आएका छन् ।

युद्ध अवधिमा रुस र युक्रेन दुवैले विदेशी नागरिकलाई आफ्नो सैन्य श्रेणीमा भर्ती गरेका छन् । युक्रेनले क्यानडा, अमेरिका र युरोपका लडाकुलाई भर्ना गरेको बताइन्छ । रुसले भने क्युवा, नेपाल र भारतजस्तो न्यून आयस्तर भएका देशबाट भर्ती गरेको छ ।

नेपाली भर्तीबारे सीबीसी न्यूजले रुसी रक्षा मन्त्रालयलाई प्रश्न सोधेको थियो । तर, त्यसको कुनै जवाफ आएको छैन । र, कुनै सार्वजनिक भनाइ पनि बाहिरिएको छैन ।

कम्तीमा ४० मारिइसके

नेपाली अधिकारी र अभियन्ताहरु रुसी सेनामा सयौंको सङ्ख्यामा नेपाली भर्ना भएको बताउँछन् तर, रुसमा लडेका एक पूर्वनेपाली सिपाही आफू सहभागी तालिम शिविरमा मात्र सम्भवत: २००० नेपाली रहेको अनुमान गर्दछन् ।

यसरी भर्ती हुनेमा विद्यार्थी, मजदुर र नेपाली सेनाकै पूर्वसिपाही छन् । ती सबैलाई प्रतिमहिना २८०० डलरको तलब भुक्तानी र एक वर्ष सेवा पूरा गरेपछि रुसी पासपोर्ट दिने आकर्षक प्रलोभन दिइएको छ । केही मामिला यस्ता छन् कि दलाल प्रयोग भएका छन् तर, दलालले केही डलर उल्टै भर्नाका लागि लिएका छन् ।

अन्य केही जस्तै पुन यो भन्छन् कि उनले अग्रमोर्चामा चिकित्सा सहयोग गर्न पछाडि बस्ने सोचेका थिए । तर, अरु धेरैलाई उनीहरू कुन कामका लागि भर्ना भएका हुन् भन्ने कुरामा कुनै भ्रम थिएन । उनीहरू यो बुझ्थे कि जोखिम धेरै छ तर, उनीहरू कारबाहीमा मारिए पनि रुसी सरकारले ठूलो रकम भुक्तानीको बाचा गरेको थियो ।

नेपाली अधिकारी भन्छन्— युद्ध यताको अढाइ वर्षमा रुसी सेनामा सेवारत ४० भन्दा बढी नेपाली मारिइसकेका छन् । पुनजस्तै अरु केही युक्रेनी जेलमा छन् । पुन हिरासत बसेको १० महिनाभन्दा धेरै भयो ।

पुनले सीबीसी न्यूजलाई भने कि उनी सन् २०२३ मा विद्यार्थी भिसामा मस्को पुगेका थिए । उनले रुसी भाषा सिकेर व्यवस्थापन कोर्स पूरा गर्ने भनिएको थियो तर, उनको वास्तविक योजना भने काम खोज्नु थियो ।

उनले सीबीसी न्यूजलाई भनेका छन्, “नेपालमा कुनै अवसर नै छैन । हामी सबै जनता काम खोज्न विदेश नै जानु पर्दछ ।”

मध्यपूर्व, मलेसिया, रुसलगायत देशमा लाखौं नेपाली आप्रवासी कामदार छन् । सन् २०२३ मा तिनले १० खर्बभन्दा बढी रेमिटेन्स नेपाल पठाएका थिए, जो संयुक्त राष्ट्रसङ्घका अनुसार देशको कूल ग्राहस्थ उत्पादनको करिब एक तिहाइ हो ।

पुन आफूले पठाएको रेमिटेन्सले आफ्नी आमा र ३ जना बहिनीलाई सहयोग गर्न चाहन्थे । जो केही वर्षअघि पुनका पिताको मिर्गौला रोगबाट मृत्यु भएपछि बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन् ।

यो परिवार काठमाडौंबाट करिब ४५० किमी उत्तरपश्चिम दाङको बिजौरी गाउँको हो । पुनकी आमा तिलकुमारीले छोराको बारेमा केही सूचना प्राप्त गर्न पनि निकै सङ्घर्ष गर्नु परिरहेको छ । भर्खरै उनी नेपालका घुमाउरा र धुलाम्ये सडकमा १८ घण्टा बस चढेर राजधानी काठमाडौं पुगिन् ।

जब उनी बसबाट ओर्लिइन्, उनका आँखा आँसुले भरिएका थिए । रुँदै उनले आफ्नो छोराको अवस्थामा सोध्न थालिन् । उनी कैदी आदानप्रदान कसरी हुन सक्दछ भनेर जान्न उत्सुक थिइन् ।

ऊ आँखा चिम्लेर गयो

तिलकुमारी निरक्षर छिन् । उनी भन्छिन् कि उनलाई युक्रेनमा रुसी हस्तक्षेपबारे केही पनि थाहा थिएन । उनले आफ्ना परिवारका अन्य सदस्यबाट छोरा सेनामा भर्ती भएको सुनिन् । उनले छोरोलाई फोन गरेर फिर्ता आउन भनिन् । पैसाको पछि नलाग्न भनिन् ।

छोराले भने, “मर्नु छ भने जहाँ पनि मरिन्छ, चिन्ता नगर्नू ।”

उनले सीबीसी अन्तर्वार्तामा भनिन्, “कुनै सीप र अनुभव बिनै युद्धमा जाने ऊ कति मुर्ख भएको हो । ऊ पैसाको लोभमा आँखा चिम्लेर गयो ।”

तिलकुमारीले छोराको ५० मिनेट लामो अन्तवार्ता सुनिन् । यसका केही अंश नेपालीमा छन् । त्यसपछि उनले परिवारलाई लेखेका तीनवटा चिठी निकालिन्, जुन अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत पठाइएको थियो ।

तिलकुमारी ती चिठी आफैँ पढ्न सक्दिन थिइन् । उनका छोरीहरू ती पढेर उनलाई सुनाउन तयार थिएनन्, किनकि ती निकै भावुक बनाउने खालका थिए ।

“दिनरात रोएर मेरा आँसु सुकिसके,” उनले सीबीसी न्यूजका अनुवादकले चिठ्ठीका केही अंश पढेर सुनाएपछि भनिन् । “उसले गलत बाटो रोज्यो । म के भनौँ ? त्यहाँका जनताले उसलाई बचाए हुन्थ्यो,” उनले भनिन् ।

नेपाल सरकारले पुनलाई युक्रेनको जेलमा बन्दी नागरिकका रूपमा पहिचान गरिसकेको छ । उनलाई पश्चिम युक्रेनमा रुसको पक्षमा लडेका सयौं युद्धबन्दी र उनी जस्तै अन्य नेपालीसहित राखिएको छ ।

यता २४ वर्षीय विवेक खत्री पनि ठीक यस्तै अवस्थामा छन् । उनी पनि युद्धमोर्चामा गएको केही दिनमा घाइते भएका थिए ।

टिकटक भिडिओद्वारा मोहित

पुनजस्तै क्षेत्रीले पनि सन् २०२३ को शरद याममा मस्को आएर रुसी भाषा अध्ययन गर्न थालेका थिए । उनले काठमाडौंमा साइकोलोजी पढेका थिए । उनी आफ्नो पढाइलाई निरन्तरता दिने सोचमा थिए ।

तर, उनले यो सोचे कि म गएँ भने परिवारलाई आर्थिक रूपमा राम्रो भरथेग पुग्छ । उनको परिवार धान र तरकारी उब्जाउने कृषि कार्यमा संलग्न छ ।

खत्रीले जेलबाट सीबीसी न्यूजलाई भने, “म धनी परिवारको हैन । सबैले आफ्नो जीवन राम्रो बनाउन त चाहन्छ नै ।”

उनले अघिल्लो वर्ष २०२३ मा अनलाइनमा रुसी सेनामा जागिरको विज्ञापन हेरेका थिए । टिकटकजस्ता सामाजिक सञ्जालमा त्यस्ता भिडिओलाई आकर्षक रूपमा सम्पादन गरिएको हुन्छ । ती चौतर्फी फैलिरहेका हुन्छन् । नेपालमा पनि त्यो नआइपुग्ने कुरै भएन ।

विज्ञापनमा जाडोको पोशाक लगाएर सैनिकले तालिम लिइरहेको देखाइन्छ । भर्नाका लागि उमेर, रुसी भाषा जरुरी नभएको बताइन्छ र आकर्षक तलबको प्रलोभन दिइएको हुन्छ ।

खत्रीले यो भनेका छन् कि उनले त्यही भिडिओ हेरेर सम्झौतामा हस्ताक्षर गरेका थिए, जो रुसी भाषामा थियो, के भनिएको थियो, राम्ररी बुझेका समेत थिएनन् ।

सम्झौतापछि उनलाई सन् २०२३ को अगष्टमा आधारभूत तालिमका लागि पूर्वी युक्रेनको दोनेत्स्क पठाइयो । त्यहाँ उनले बन्दुक चलाउन र ग्रिनेड फाल्न सिके । त्यसपछि अक्टोबरमा उनलाई दोनेत्स्कको एक सहर अभ्दिइभाका पठाइयो । त्यहाँको एक महिना लामो युद्धपछि उनी रुसको कब्जामा परे ।

उनको भनाइमा कमान्डरले उनलाई अझै दुई/तीन दिन बाँचेमा युद्धमोर्चा पछाडिको अर्को स्थानमा पठाउने बताएका थिए । तर, उनी र उनको युनिट तुरुन्तै फायरिङमा पर्‍यो ।

उनले भने, “अचानक एउटा गोली मेरो खुट्टामा लाग्यो । मेरो दिमाग शून्य भयो ।”

उनी अन्धकारमा केहीबेर लड्खडाउँदै हिँडे, आफ्नो युनिटका बाँचेकाको खोजी गर्दै । तर, उनीको जम्काभेट युक्रेनी टुकडीसँग भयो । तुरुन्तै उनलाई बन्दी बनाइयो । उनलाई आफू मात्रै बाँचेकोझैँ लाग्थ्यो ।

“मैले तिनीहरूलाई तुरुन्तै भनेँ कि म नेपाली हुँ । म रुसी भाषा बुझ्दिनँ,” उनले भने ।

शवको पर्खाइमा मृतकका परिवार

कैदमा परेका खत्रीको स्थिति एउटा हो, अन्य भर्तीवालाको भाग्य झन् डरलाग्दो छ । काठमाडौंका स्थानीय समाचार माध्यमले कम्तीमा ४३ जनाको मृत्यु भइसकेको बताउने गरेका छन् । अवशेष पहिचानका लागि डीएनए परीक्षण भइरहेकोले यो सङ्ख्या अझै बढ्न सक्दछ ।

गत वर्ष रुसमा टीना घिमिरेका पति पद्‌मबहादुर मारिए । तर, उनको शव अझै आएको छैन । हिन्दू परम्परामा आफन्तको दाहसंस्कार नहुनु ठूलो समस्या हो ।

घिमिरे भन्छिन् कि उनका श्रीमान्‌ले १७ वर्ष नेपाली सेनामा काम गरेका थिए, भिसाका लागि दलाललाई हजारौं डलर तिरेर रुस उडेका थिए । दलालले सेनामा हैन, सुरक्षा गार्डको जागिर हो भनेका थिए, दलालले झुट बोले ।

उनले भनिन्, “मोर्चाका पठाइँदैछ भन्ने थाहा पाएपछि उनी बेलारुसबाट भागेका थिए । त्यसको ५ दिनपछि फेरी कब्जा गरेर मोर्चामा पठाउँदैछन भन्ने फोन आयो । मैले अन्तिम पटक श्रीमान्‌को आवाज सुनेको त्यही हो ।”

अहिले उनी घरेलु कामदार छिन् । यसबाट कमाएको आम्दानीले ३ छोरा-छोरीको पालनपोषण गर्दैछिन् । उनका श्रीमान्‌ले रुसमा कमाएको पैसा त्यहीको बैंक खातामा फसेको छ । उनले आफ्नो ३ वर्षे छोरालाई बुबा मारिएको बताएकी छैनन् ।

गत डिसेम्बरमा नेपाल प्रहरिले १२ नेपालीलाई रुसमा मानव तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो । सोही महिना नेपाल सरकारले रुसलाई नेपाली नागरिक थप भर्ती लिन बन्देज गर्न र मारिएका परिवारका सदस्यलाई क्षतिपूर्ती दिन माग गरेको थियो ।

युक्रेनमा मारिएका रुसी सिपाहीका परिवारले ७१ हजार डलर पाउँछन् तर, नेपाली परिवारले पाउने क्षतिपूर्ति कति हो र त्यसको प्रक्रिया कति लामो हुन्छ , प्रष्ट छैन ।

रुसमा श्रम अनुमति बन्देज

विदेश काम गर्न जानुअघि नेपाली नागरिकले श्रम अनुमति लिनु पर्दछ । अघिल्लो वर्षदेखि नेपाली अधिकारीले रुसका लागि त्यस्तो अनुमति दिन रोकेका छन् । उनीहरूलाई यो डर छ कि अन्य कामको श्रम अनुमति लिएर ती सेनामा भर्ती हुन्छन् ।

नेपालकी परराष्ट्रमन्त्री आरजू राणा देउवा सेप्टेम्बरमा क्यानडाको औपचारिक भ्रमणमा हुँदा सीबीसी न्यूजले टोरन्टोमा अन्तर्वार्ता गर्‍यो । उनले भनिन् कि केही मानिस युक्रेन युद्धमा फसेका छन् । उनीहरूले अफगानिस्तान युद्धमा संयुक्त राष्ट्रसङ्घमा पाएजस्तो सुरक्षा पाउने सोचेका थिए ।

उनी त्यहाँ नेपाली नागरिक आफ्नो सरकारले रोक्दारोक्दै र थाहा पाइ-पाइकन भएको बताउँछिन् । उनी भन्छिन्, “यो यस्तो युद्ध हो, जसमा उनीहरूको कुनै सरोकार छैन । संसारमा अरु धेरै काम छन्, जहाँ त्यस्तो जोखिम छैन ।”

उनले यो स्वीकार गरिन् कि त्यहाँ नेपालीको स्थिति के छ भन्ने धेरै आन्तरिक सूचना नेपाल सरकारसँग छैनन् । त्यसका लागि नेपाल सरकार रुसी रक्षा मन्त्रालयमै निर्भर छ ।

सेनामा भर्ना भएका आफ्ना नागरिक फिर्ता लान भारतले रुसलाई दबाब दिने गरेको छ । नेपालको त्यस प्रकारको दबाब वा अन्तर्राष्ट्रिय प्रभाव छैन ।

रुसी सेनामा भएका नेपाली नागरिकले सामाजिक सञ्जालमार्फत आफ्नो सरकारलाई युद्ध मोर्चाको दयनीय अवस्था र नेपाल फर्किने वातावरणका लागि माग गर्दछन् ।

अधिकारीहरू भन्छन् कि रुससँगको सम्झौता शर्त पूरा गरेर करिब १७० नेपाली फर्किएका छन् । तर, यो सवाललाई पछ्याइरहेकी एक स्थानीय अभियन्ता कृति भण्डारी भन्छिन्, “गृष्ममा फर्किएकाहरू अझै सम्झौता अवधिमै छन् ।

अझै जाने पक्का

३६ वर्षीय विक्रम मल्लले युक्रेन युद्ध सुरु हुनुअघि एक भ्रमण अवधिको ड्यूटी पूरा गरेका थिए । आफू सामेल तालिम शिविरमा १५०० देखि २००० नेपाली हुन सक्ने उनको अनुमान छ ।

उनी दुई सन्तानका पिता हुन् । उनी आफू केका लागि अनुबन्धित हुँदैछु भन्ने थाहा भएको बताउँछन् । उनी यो भन्छन् कि  नेपालको गृहयुद्धको बेलामा किशोरअवस्थामा नै माओवादी विद्रोहमा लडेको अनुभव लिएर उनी त्यहाँ गएका हुन् । “मसँग अरु देश जान शिक्षा र सीप छैन । मैले जानेको भनेको त्यही एउटा बन्दुक चलाउन हो ।”

उनलाई त्यहाँ निमोनियाजस्तो रोग लागेको र त्यस कारणले लड्न नसक्ने भएपछि नेपाल फर्किन बाध्य भएको बताउँछन् । अहिले उनी निको भएका छन् र पर्यटक भिसा लिएर रुस फर्किन चाहन्छन् । सरकारी बन्देजको कारण उनी बस चढेर भारत जाने र त्यहाँबाट मस्को उड्ने विचारमा छन् ।

“मलाई थाहा छ कि मेरो परिवार धेरै चिन्तित छ तर, म आफ्नो ज्यानभन्दा पनि परिवारको पालनपोषण कसरी गर्ने भन्ने अझ धेरै चिन्तामा छु,” उनले भने ।

सीबीसी न्यूजबाट 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved