काठमाडौं । मानिसहरू दशैं मान्न उपत्यका छाड्दै थिए । दशैंको मुखमै देशले सामना गर्नुपरेको प्राकृतिक विपत्तिको डर कायमै थियो ।
भत्किएका/बिग्रिएका बाटाहरू र बेलाबखतमा खरिरहने पहिरोको भयलाई बेवास्ता गर्दै गाउँ फर्किने मानिसहरूको पङ्क्ति ठूलै थियो, त्यहीँ मिसिएका थिए मेरा आमा र भाइबहिनी पनि ।
एक महिना अघिदेखि घर जानको लागि आमाले किनमेल थालिसक्नुभएको थियो । आमाको योजना थियो- यसपटक त ममीलाई यो लग्दिन्छु, ड्याडीलाई त्यो लग्दिन्छु । गाउँ गएर यो ठाउँ जाने हो, यसो गर्ने हो, उसो गर्ने हो ।
साथीहरूले एसएमएस गर्थे, सोध्थे- पूजा कहिले जाने घर ? टिकट काटिस् ?
मेरो रिप्लाई हुन्थ्यो- यसपटक जान्नँ यार, आमा-भाइबहिनी मात्रै पठाउँछु ।
बाढी तथा पहिरोले बिगारेको बाटोको अवस्था के कस्तो छ ? कुन राजमार्ग/सडक कुन अवरुद्ध छ ? कुन खुल्यो ? गाडी जान सक्छ कि सक्दैन ? यसबारे म स्वयम् अपडेट नै थिएँ, बेला-बेला यसबारे समाचार/स्टोरीहरू लेखिरहन्थेँ । त्यसैले त आमा-भाइबहिनीहरूलाई घर पठाउन डर भएन, मैले उनीहरूलाई कुन बाटो कसरी पठाउने चाँजोपाँजो मिलाइसकेकी थिएँ ।
दैनन्दिन दशैं नजिकिन थाल्यो । २१ गतेको लागि टिकट मिलाएँ । त्यस दिन सबेरै उठेँ, भाइ-बहिनी उठाएँ र म पसलतिर लागेँ ।
अरुबेला ९ नबजेसम्म ओछ्यान नछोड्ने म त्यो दिन सुतिरहन मन मानेन । पसल पुग्नेबित्तिकै आमाले किनेर ल्याउनुभएकाे सानी रोजी (कुकुरको बच्चा) मसँग झुन्डिन थाली ।
आमा सामान प्याक गर्नमा व्यस्त हुनुन्थ्यो । सानी रोजी अब गाउँ जानेवाला थिई । हुन त म जनावरहरूसँग नजिकिन चाहँदिनँ ।
जनावरहरू आफैँमा प्यारा र निर्दोष हुन्छन् । उनीहरूसँग नजिकिएँ भने छोड्न गाह्रो हुन्छ मलाई तर, काठमाडौंकाे डेराको बसाइँ उनीहरूलाई साथमै राख्न सकिँदैन ।
त्यसैले आमाले रोजीलाई किनेर ल्याउनुभए पनि म रोजीबाट टाढा नै बस्थेँ । चल्न आयो भने पिटेर धपाउँथेँ । तर, त्यस दिन म आफैँ रोजीसँग एकछिन खेलेँ ।
उसलाई साबुन-पानीले मिचिमिची नुहाइदिएँ । नुहाउँदा लुत्रुक्क परेकी रोजी झन् मायालाग्दी देखिएकी थिई ।
एकछिनमा भाइ-बहिनी पनि रेडी भएर सामान लिएर आइपुगे । इन्ड्राइभबाट ट्याक्सी बोलाएर सबैलाई चढाइपठाएँ ।
भाइले मेरो ‘स्ट्राेङनेस’मा शङ्का गरिरहेको थियो, उसलाई लागेको थियो अब दिदी रुनुहुन्छ ! तर, म रोइनँ ।
ट्याक्सीभित्र बसेपछि भाइ बोल्यो, “दिदी तपाईंलाई कस्तो कस्तो लागेको छैन ?”
सधैँ सँगै दशैंमा ड्याडीको हातबाट टीका थाप्ने दिदी यो वर्ष घर नजाने हुँदा उसलाई पक्कै केही बितेको हुँदो हो ।
परिवारका सबै सदस्य दशैं मनाउनका लागि घरमा जम्मा हुँदै गर्दा छोरी एक्लै काठमाडौंकाे डेरामा कसरी बस्छिन् ? आमालाई सायद यस्तै प्रश्नले लखेटेको थियो ।
निर्दोष आँखाले उहाँले एकटक मलाई हेरिरहनुभएको थियो । हत्तपत्त भनेँ, “केही लागेको छैन त्यस्तो । यहाँ अफिस जानचाहिँ ढिला भइसक्यो । कतिबेला अफिस पुग्नु जस्तो लागिराछ ।”
म दशैं मनाउन घर हिँडेका आमा र भाइ-बहिनीको मन खिन्न पार्न चाहन्नथेँ । एकछिनमा ट्याक्सी गुड्यो । अब भने मलाई बल्ल लाग्दै थियो, यो वर्षको दशैं मैले एक्लै काट्नपर्छ ।
ट्याक्सी गुडेसँगै मेरा नयन भरिन थाले । पसलमा सटर तानेँ । अब एक्छिन रुन्छु अनि मन हल्का हुन्छ, त्यसपछि अफिस जान्छु सोचेर पछाडिको ढोकाबाट पसलभित्र छिरेँ ।
मेरो पछि-पछि आमाको साथी पनि भित्री छिर्नुभयो । आफ्नै परिवारको सामु त आँसु लुकाउने म अझ अरुको छेउमा कसरी कमजोर बन्न सक्थेँ र ? यताउति हेरर आँखाको आँसु आँखामै बिलाएँ ।
त्यसपछि ढोकामा चाबी लगाएर अफिसका लागि निस्किएँ । बाटोमा छँदा मनमा अनेकन् कुराहरू खेलिरह्याे । पोहोरकै दशैंमा घर जान आमासँग झगडा गरेर, रोएर पैसा मागेको सम्झिएँ ।
दशैंमा घर जानका लागि गरेको सपिङ्गकाे तडकभडक पनि सम्झिएँ । गाडी चढेपछि फेसबूकमा फोटो पाेस्ट्याउँदै खुसी भएर लेखेको स्टाटसकाे पनि याद आयो ।
“आफ्नै गाउँ फर्की आएँ” भन्ने गीतमा टिकटक बनाउँदै घर गएको झझल्को पनि आयो । तर, यस वर्ष भने मलाई आफूसँगै छुटेका पुराना साथीहरूसँग भेट्न पाउने खुसी, गाउँघरको रमझम, लिङ्गे पिङको रफ्तार, बाल्यकाल बितेको स्थान केही केहीले छोएन ।
यो वर्ष सबै-सबै फरक थियो । यो वर्ष मैले मलाई नै फरक पाइरहेकी थिएँ । यो पूजामा पोहोरको जस्तो जिद्दीपन थिएन, थियो त केवल जिम्मेवारी; त्यो पनि परिवारको ।
चाडबाडको बेला सबैलाई घर पठाएर आफू एक्लै बस्नुपर्दा मन भारी भइरहेको थियो नै । अफिस पुगेँ । ‘फेस्टिभ मुड’मा रहेका सबै साथीहरू दशैंका योजना बुनिरहेका थिए ।
कोही गाउँ जानेवाला थिए, कोही काठमाडौंमै परिवारसँग दशैं मनाउने बताउँथे । सम्झिएँ, पाेहाेर साल म पनि ‘फुल फेस्टिभ मुड’मा थिएँ ।
घरमा होस् या अफिसमा दशैं नजिकिएसँगै गाउँघरको कुरा खुब निक्लिन्थ्यो ।
“मैले त आज सबैलाई घर पठाइदिएँ, अब यो दशैंमा त एक्लै हो । अफिस आउने काम गर्ने । रुममा नि के गरेर बस्नु,” मैले भनेँ ।
दाहिने साइटको कुनाबाट ईश्वर सरको आवाज आयो- “ए कसरी बस्न सक्छौ हौ पूजा, परिवार नि छैन, साथीहरू नि छैनन् । म त मरे नि सक्दिनँ । एक्लै हिँडेरै भएपनि दशैंमा त घर पुग्छु ।”
उहाँको कुराले पनि छोयो तर, हाँस्दै जवाफ दिएँ- “बसिहालिन्छ नि, मलाई त तेस्ताे केही लाग्दैन ।”
दिउँसोतिर हजुरबुवाको फोन आयो । मैले आमाहरू यहाँबाट बिहानै हिँडिसक्नुभएकाे सुनाए ।
उताबाट आवाज आयो, “अरूको पो घरमा सबै जना छन् र चाडबाडमा घर आउँछन् । तिम्रो त कोही छैन अनि कहाँ आउँछौ त !”
यति भनिरहँदा हजुरबुवाको स्वर मलिन थियो । उहाँको आवाजमा गहिरो निराशा र गुनासा थिए । हुन पनि २० वर्षमा यो पहिलो दशैं हो, जहाँ म हजुरबुबासँग छैन ।
उहाँ भन्दै हुनुन्थ्यो, “अब हामी पनि आज कि भोलि भइसक्यौँ । बेलुका सुत्दा भोलि देख्न पाइन्छ कि पाइँदैन भन्ने चिन्ता लाग्छ । तिमीहरूको मायाले ७६ वर्षसम्म सकुशल नै छु । अब अर्को दशैंमा टीका लगाइदिन पाउँछु कि पाउँदिनँ । त्यो पनि थाहा छैन ।”
कुरा गरिन्जेल मैले सके जति आफूलाई सम्हालेँ । हजुरबुबाले मलाई पशुपतिले रक्ष गरून्, सोचेको सबै पूरा होस् भन्दै दशैंमा टीका लाउँदा दिने आशिषस्तै आशीर्वाद दिनुभयो ।
बिस्तारै साथीहरू पनि लाखापाखा लाग्नुभयो । डेरा र पसल जस्तै अफिस पनि शून्य भयो । अब न मसँग आमा र भाइ-बहिनीहरू छन्, न त साथीहरू नै । साथीहरूले घर पुगेको, परिवारसँग बसेको, खाएको सबै फोटो भिडिओहरू फेसबूक स्टोरी, रिल्स, वालहरूमा छरपस्ट्याउन थालेका छन् ।
अनि म भने त्यहाँ रियाक्ट र कमेन्ट गर्दै बसेको छु । यतिबेला काठमाडौं शून्यसरह छ । सडकहरू खाली भएका छन् । सटरहरू बन्द छन्; मेरो मनझैँ ।
Facebook Comment
Comment