बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति, आठ जना विद्यार्थीको मृत्यु

नेपालभ्युज

बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति, आठ जना विद्यार्थीको मृत्यु

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ ।

अविरल वर्षाका कारण बाढिपहिरो आएदेखि विद्यालय पूर्ण रूपमा बन्द गरिएको छभने विद्यालयले अर्को सूचना जारी नगरेसम्म क्षतिग्रस्त विद्यालयबाट पठनपाठन नगराइने सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन् ।

एकाइ प्रमुुख देवकी ढकालका अनुसार बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा १४, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालयमा क्षति पुगेको छ ।

उनका अनुसार बाढीपहिरोबाट विद्यालयमा धेरै क्षति पुगेको स्थानीय तह रोशी, पनौती र बेथानचोक हुन् । उनले भनिन्, ‘रोशी, पनौती र बेथानचोकका अधिकांश विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ती विद्यालय तत्काल सञ्चालन गर्नसक्ने अवस्था छैन ।’

एकाइका अनुसार बाढीपहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेलमा एकजना विद्यार्थीको मृत्यु भएको छ ।

सरकारले शुक्रबार तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।

जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा पछिल्लो विवरण अनुसार बाढीपहिरोमा परी जिल्लामा ७२ जनाले ज्यान गुमाएका छन् । पाँचजना अझै बेपत्ता छन् भने ७५ जना घाइते भएका छन् ।  ।

मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिला रहेका छन् । सोबाहेक घटनामा हालसम्म ३१ महिला, २५ पुरुष, आठ बालक र छ बालिकाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहलेसमेत राहत रकम घोषणा गरेका छन् । बाढीपहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै भएको अवरुद्ध छ भने प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved