ऊर्जा निर्यात गरेर शक्तिशाली मुलुक बन्ने भुटानको लक्ष्य, रियायन्ससँग सम्झौता

नेपालभ्युज

ऊर्जा निर्यात गरेर शक्तिशाली मुलुक बन्ने भुटानको लक्ष्य, रियायन्ससँग सम्झौता

थिम्पु । ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।

आठ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्ठित मुलुक भुटान चीन र भारतको बीचमा छ र विकासभन्दा ‘कुल राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने नीतिका लागि परिचित छ ।

यद्यपि उक्त नीतिले सरकारलाई व्यापक बेरोजगारीको समस्या समाधान गर्न सहयोग प्रदान गरेको छैन र यसले हजारौँ युवालाई मुलुक छाड्न प्रेरित गरेको छ ।

विद्युत् परियोजना यो प्रवृत्तिलाई उल्ट्याउने व्यापक प्रयासको एउटा हिस्सा हो । यसमा आर्थिक वृद्धि गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास समावेश छ । योमध्ये धेरै चर्चित विशेष आर्थिक क्षेत्र ‘गेलेफु माइन्डफुल सिटी’ पनि समावेश छ ।

‘भुटान ऊर्जा स्रोतमा धनी छ र भारतको मागले यो साझेदारीलाई अझ महत्त्वपूर्ण बनाउँछ’, भुटानको सरकारी स्वामित्वको ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्ट (डिएचआई) का प्रमुख कार्यकारी उज्ज्वलदीप दाहालद्वारा जारी वक्तव्यमा भनेका छन् ।

यो परियोजनाले भारतीय अर्बपति अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स समूहलाई डिएचआईसँग मिलेर भुटानमा सात सय ७० मेगावाट जलविद्युत् र पाँच सय मेगावाट सौर्य परियोजनाहरू निर्माण गर्न प्रतिबद्ध गरेको छ ।

साकार भएमा यी परियोजनाहरू भुटानको हालको दुई हजार चार सय ४४ मेगावाट जडित क्षमताको आधाभन्दा केही बढी हुनेछ । भुटानको हालको दुई हजार चार सय ४४ मेगावाटको ९९ प्रतिशतभन्दा बढी जलविद्युत् हो ।

सम्झौतामा लगानीको लागत तथा चम्खार्चु–१ नामक जलविद्युत् परियोजना कहिले सम्पन्न हुनेछ भन्ने कुरा खुलाइएको छैन । सम्झौताले आगामी दुई वर्षभित्र सौर्य प्लान्ट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । संयुक्त विद्युत् उत्पादनको केही भाग भुटानको मुख्य कूटनीतिक र व्यापारिक साझेदार भारतमा निर्यात गरिनेछ ।

‘हामी हरियाली भविष्यमा योगदान पुर्याउँदै भुटानमा सबैभन्दा ठूलो भारतीय खेलाडी बन्ने आशा गर्छौं’, अनिल अम्बानीले वक्तव्यमा भनेका छन् – यो साझेदारीमा म भुटानलाई भारतका एक अर्ब ४० करोड जनतामा आफ्नो खुशी निर्यात गर्न पनि आह्वान गर्दछु । परियोजनाको निर्माण कहिले सुरु हुनेछ र यसको कूल अनुमानित बजेट कति हुनेछ भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved