ज्यानबाहेक केही जोगिएन, जीवनभर जोडेको घरबार क्षणभरमा खण्डहर ! (भिडिओ)
६ दिनसम्म पुगेन सरकार
रोशी खोलाले वस्तीलाई खण्डहरमा परिणत गर्यो । स्थानीयको जीवनभरको कमाइ र सपना बगेर बगर बने। मेला-पर्म गरेर जोडेको घरखेत आँखै अगाडि ढलेर हरायो, उनीहरूले ज्यान मात्र बचाउन सके। आँसु पुछ्ने कोही छैन । त्यस्तो प्रलयमा पनि ६ दिनसम्म पनि राज्य पुगेको छैन ।
काभ्रे । ११ असोज, शुक्रबारको दिन । पानी परिरहेको थियो । ठीकैको वर्षा थियो । कतिबेला पानी रोकिएला र काममा जाउँला भनेर पर्खिएर बसेका थिए, काभ्रेको रोशी किनाराका बासिन्दा ।
तर, पानी पूरै रोकिएन, घरी दर्किन्थ्यो, घरी सिमसिम पर्थ्यो । दर्के पानी आइरहे पनि घर छेउको रोशी खोला सामान्य थियो ।
बर्खा सकिएपछि पनि दशैंको मुखमा लगातार वर्षा हुनु स्वाभाविक थिएन । अघिल्लो रातदेखि नै लगातार झरी परिरहेको थियो ।
‘सोह्र श्राद्धमा झरी पर्नु ठीकै हो । पितृलाई तर्पण दिने बेला हो,’ स्थानीयले भन्दै हाँसोमै उडाइरहेका थिए । तर, त्यो हाँसो साँझपख बगेर जानेछ भन्ने कसैले सोचेको थिएनन् ।
झरी परे पनि मानिसहरू हिँडडुल गरिरहेकै थिए । आफ्नो दैनिकी चलाइरहेकै थिए । पानी परे पनि फाट्टफुट्ट सवारीसाधन चलेको थिए ।
पानी परेकाले क्रसरको काम भने रोकिएको थियो, टिप्परहरू भने पार्किङमै थन्किएका थिए ।
रोशी खोलाकै किनारमा वस्ती छ, भूँमेडाँडा । भूँमेडाडा पनौती नगरपालिका १२ र ८ मा पर्छ । पनौतीबाट माथि लागेलगत्तै खोला किनारमा वस्ती भेटिन्छ । कलाती, चलाल गणेशस्थथान, भालेश्वरमा धेरैजसो घरहरू रोशी खोला किनारामै थिए ।
विनाशको रात
शुक्रबार साँझसम्म रोशी खोला सामान्य नै थियो । धमिलो बगे पनि खासै ठूलो बाढी थिएन । स्थानीयलाई डर थिएन, किनभने हरेक बर्खामा यस्तै हुन्थ्यो ।
६, ७ बजेपछि रोशी खोलाको दृश्य बदलियो । खोलामा पानीको बहाव बढ्दै गयो । सधैँको बर्खामा आउने बाढी जस्तै गरी बगिरहेको थियो ।
राति १० बजेतिर अलि बढी गड्गडाउँदै बग्यो, रोशी खोला । ठाडो खोलामा ढुङ्गामुढा बगाउँदै ल्याल्यो । तै पनि स्थानीय डराएनन् । किनकि डरलाई जितेरै खोलाको बगरलाई सिरानी बनाएर उनीहरू वर्षाैँदेखि निदाउँदै आएका थिए ।
त्यसमाथि यसभन्दा पहिले कहिल्यै ठूलो बाढी आएको थिएन । खोलामा ढुङ्गामुढा बगाउँदै ल्याउँदा पनि स्थानीयले बाढीको खतरा महसुस गरेनन् ।
यसपटक पनि ठूलो बाढी नआउने उनीहरूको अनुमान थियो । सधैँ जस्तै उनीहरू आफ्नो घरको आँगनमा, बगरमा बसेर सुस्ताउँथे । यसअघि बाढी आएको पनि थिएन । खोलामा भेल उर्लिरहँदा उनीहरू ढुक्कले सुते ।
यत्तिकैमा घर अगाडिको खोला पारीबाट ठूलो आवाज आयो । स्थानीयले घर बाहिर गएर हेरे, ठूलो पहिरो गएछ । तल पनि पहिरो झरिरहेको थियो ।
पहिरोको आवाजले सुतेका स्थानीयको चैन बिथोल्यो । स्थानीय उठेर बाहिर आएर हेरे । त्यतिबेला पहिरोले खोला आफ्नो बाटो बग्न छाडेर वस्ती पछाडिको खेतमा बगिरहेको थियो ।
कोकोहोलो मच्चियो । केही मिनेटमै वस्तीमा भागाभाग भयो । मोबाइलको लाइट बालेर घरबाट निस्किए, ज्यान जोगाउन । उनीहरूले के गर्नुपर्ने हो, थाहा पाएनन् । सामान उठाउन त परै जाओस्, ज्यान जोगाउन पनि हम्मे-हम्मे पर्यो ।
जीवन बचाउने दौड, रातभरको सङ्घर्ष
कोकोहोला मच्चिएपछि साढे पौने १२ बजे राति स्थानीयको भागाभाग भयो । लालाबाला च्यापेर ज्येष्ठ नागरिकलाई डोर्याउँदै भागे ।
त्यति बेलासम्म पहिराले खोला थुनेर घरपछाडि खेतमा बगिसकेको थियो । उनीहरू थुनिएको खोलाको लेदो माटो बालुवाको बगर तरे । खोला तर्दा घुँडाघुँडा गाडिन्थ्यो । अलिलि बाढी पनि बगिरहेकै थियो । त्यो छिचोलेर गाउँलेहरूमाथि डाँडामा उक्लिए ।
रातिको १२ बजे वस्तीका सबै मानिस घर छाडेर माथि डाँडामा आइपुगे । अचानक ठूलो बाढी आएपछि उनीहरूले केही पनि सामान निकाल्न पाएनन् । मात्रै जिउ ज्यान बचाउन उनीहरू घरबाट भागेका थिए ।
डाँडामा पुग्न पनि सजिलो कहाँ थियो र ! पहिरो गएको थियो । पहिरो गएको ठाउँबाटै भीरभीरै माथि डाँडामा बसेर आफ्नो घर हेर्न थाले ।
हेर्दा हेर्दै बाढीले वस्ती डुबायो । उनीहरूकै आँखा अगाडि घर, टहरो र अरु सबै सामान बाढीले डुबायो । र, बगायो । केही घरहरू ढाल्यो । घर छेउमा रोकिएका केही टिप्परहरू बगायो । केही पुरिए ।
तटीय क्षेत्रका अधिकांश घर बाढीमै हराए । केहीको अवशेष मात्र रह्यो । बजारका चार/पाँचतले चिटिक्क देखिने घरसमेत ढले । जिल्लाको रमणीय गाउँमा गनिने मेलम्ची रोशी खोला किनारका वस्ती बाढीले एकै रातमा बगर बनायो ।
सुन्दर वस्ती क्षणभरमै बगरमा परिणत भयो । केहीबेर अघिको सद्दे घर हेर्दाहेर्दै बगर बनेपछि उनीहरूको मुटु चिरियो ।
बाढीमा बुडेको र ढलेको आफ्नो घर हेर्दै भक्कानिए । आँखै अगाडि घर बग्दै गएको देख्नु पर्दाको पीडा शब्दमा वर्णन गर्न नसकिने थियो । बाढी अझै पनि गड्गडाउँदै बगिरहेको थियो । पानीको धारले वस्ती र खेतलाई एकै झट्कामा बगरमा परिणत गरिदियो ।
राति सुरक्षित ठानिएको डाँडो पनि पहिरोले धम्क्याउन थालेपछि उनीहरूले फेरि पनि भाग्नुपर्ने भयो, जहाँबाट उनीहरू रोशीको बाढीको ताण्डव हेरिरहेका थिए ।
त्यहाँ पनि खतरा भएपछि रातको अँध्यारोमा पानीको परवाह नगरी उनीहरू पनौती बजारतिर दौडिए । त्यो रात त्यो वस्तीमा बस्नको लागि अन्तिम घडी रहेछ ।
उर्लिएर आएको रोशीले छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्रानको लेदोमात्र होइन, नदी किनारा वरपरका घरवस्ती र केही मानिसलाई नै आफैसँग लगेर गयो ।
सम्पत्तिमा घर-खेत थियो, ‘खण्डहर’ भयो
पनौती १२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा वस्ती खण्डहर बन्यो । अधिकांश घरहरू बगरमा परिणत भए । बाँकी घरहरू पनि बस्न नमिल्ने अवस्थाका बने ।
बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली त्यस खोला छेउमा रहेका घर, स्कूल, टिपर, डोजरसम्म बगाएर लग्यो । “हामी जोगियौँ तर, सबै गुमायौँ । अब कसरी उठ्ने हो थाहा छैन,” पीडितहरूको चित्कार छ ।
भूँमेडाडाँका नवराज केसी भन्छन्, “घर मात्र होइन, जीवनभरको कमाइ भन्नु यही घर थियो, त्यो पनि जोगिएन । गयो, सबै गयो ।”
अहिले नवराजको सम्पत्तिको नाउँमा शरीरमा एकसरो लुगाबाहेक केही छैन । बाढीले साढे एकतले पक्की घर लडाइदिएको छ ।
वीरबहादुर तामाङको अवस्था पनि त्यस्तै छ । वीरबहादुरको पनि जीवन अब शून्यबाट सुरु गर्नेबाहेक विकल्प छैन । भूकम्पपछि बनाएको साढे २ तले घर ढलेको छ ।
बाढीले छोडेर गएको केवल भग्नावशेष घर छ । जीवनभरको मेहनतको कमाइको त्यो हालत देख्दा उनको उनको छाती चिरिन्छ ।
“केही सामान पनि निकाल्न पाइएन । सम्पत्ति भनेकै घर थियो, त्यो ‘खण्डहर’ भयो । ज्यानबाहेक केही जोगिएन,” उनी भन्छन् । अहिलेसम्म उद्धार र राहतमा कोही नआएको उनीहरूको गुनासो छ ।
स्थानीयले ५०, ६० लाख रुपैयाँसम्म लगानी गरेर घर बनाएका थिए । घर बनाउँदा लागेको ऋण तिर्न अझै बाँकी छ । तर, उनीहरूसँग अब केही छैन ।
बगर बीचमा ढलेर आधा पुरिएको हरियो रङको घर उमेश तामाङको थियो । तर, उनी त्यो घर ठडिइहाल्ला कि भन्ने आशले हरेक दिन त्यही ठाउँमा हेर्न पुग्छन् । ढलेको घर के उठ्थ्यो ? उठ्दैन ! जीवनभर कमाएको सम्पत्ति स्वाहा भएपछि उनको मनले पत्याउन भने मानेकै छैन ।
उमेशजस्ता सीता लामा पनि आफ्नो घर पहिलेजस्तै उठिदिएहुन्थ्यो भन्ने सपना देख्छिन् । घरको निशाना रहेको बगरको बिहान बेलुकै परिक्रमा गर्छिन् ।
आवाज छ त त्यही रोशीको एकोहोरो सुस्साहटको । कति मेहनतले सिङ्गारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उनको अझै आँसु थामिएको छैन । भन्छिन्, “मेरो सर्वस्व गयो । म मात्रै किन बाँचेँ ।”
बालबच्चा लिएर पारि गएँ, त्यसपछि ठूलो बाढी आयो
मीरा केसीको भने घरको पहिलो तल्ला लेदोले भरिएको छ । घरको अगाडि खेतबाट सिधै रोशी खोला बगिरहेको छ । बाढीबाट बचेका एक गाई र दुई भैँसी घर अगाडि बाँधिएको छ ।
उनको घरसँगै २ घर बचेको छ । तर, भुइँतल्लामा क्षति पुगेको छ । बाहिर पिँढी र पालीमा क्षति भएकाले केही घर टेको लगाएर राखिएको छ । घर बाहिरबाट सग्लै भए पनि अगाडिबाट खोला बग्छ । पछाडिबाट पनि खोला बगिरहेको छ ।
बचेको घर खोलाको बीचमा परेपछि उनीहरू अन्योलमा छन् । मीरा भन्छिन्, “घर त बच्यो । सामान भने अब उठाउन पाउनेछौँ । अहिले त छिमेकीको घरमा बसेका छौँ । पछि कहाँ जाने केही थाहा छैन ।”
अहिले बस्तभाउको लागि खुवाउन पानीसमेत नपाएको उनको गुनासो छ । शुक्रबारको रातिको त्रासदी उनी फेरि सम्झिन पनि सक्दिनन् । उनले घरमा बुढा ससुरा र सासू थिए ।
उनी भन्छिन्, “विपद्का बेला हिम्मत र आँट आफैँ आउँदो रहेछ । पहिला ससुरालाई पारि कटाएँ । त्यसपछि सासूलाई लिन आएँ । सासूलाई पारि तारेँ । अनि बालबच्चा लिएर गएँ । सबैजना पारी तर्नेबित्तिकै खोला बढ्यो । धन्नले बाँचियो ।”
‘खण्डहर’ बगरमा केही भेट्ने आशा
रोशी किनारका बासिन्दाको त्यहाँ केवल घर र सामान मात्र थिएन । त्यो बाढीले पुराना याद, सपनाहरू र युगौँदेखि जोगाएर राखिएको सम्पत्तिसमेत बगायो । केही भेटिन्छ कि भनेर घर भएको ठाउँमा बाढी गएको तीन दिनपछि मङ्गलबार आइपुगेकी थिइन्, सलिना गुरुङ ।
उनी रोशी खोलाको डिलैडिल अगाडि लाग्दै थिइन् । पहिले हिँड्ने सडक बगाइसकेको थियो । सडक छेउमा बनेका घर पनि कहाँ गए ? उनी आफ्नो घर भएको ठाउँमा पुग्दा सबैतिर खोला र ढुङ्गेबगर मात्रै भेटिन् ।
सलिनाले भनिन्, “रित्तो ज्यान लिएर राति भागेका थियौँ, केही बाँकी छ कि भनेर हेर्न आएको । यहाँ आउँदा सरसामान पाउनु त परेको कुरा घरको नामो निशाना भेटिएन ।”
अहिले आफ्नो पूरा परिवार पनौतीमा आफ्नो माइतीमा आश्रय लिइरहेको सुनाइन् ।
पनौतीबाट मल्पी हुँदै माथि लाग्दा हृदय चिर्ने दृश्यहरू देखिन्छन् । भूँमेडाँडा कलाँती, भालेश्वर क्षेत्र तहसनहस भएका छन् । माथि गुरुङ गाउँ पुग्दासम्म प्रायः सबै घरहरू बाढीले नराम्ररी प्रभावित भएका छन् ।
दर्जनौँ घरहरू बस्नै नमिल्ने गरी ध्वस्त भएका छन् । कसैको एउटा पाखो मात्रै बाँकी छ । कुनै त ढल्किएर भत्किनै लागेको देखिन्छ ।
बाढीले गाउँमा गरेको क्षति अकल्पनीय छ, जुन अहिलेसम्म पनि बाँचेकाहरूका लागि एक दुस्वप्नजस्तो छ । रोशी खोलामा पानीको बहाव वर्षा रोकिएपछि केही घटेको छ । तर, गाउँको त्रासदी भने अझै घटेको छैन ।
जीवनको उत्तरार्धमा भोगेको विनाश
७० वर्षीय साइँली श्रेष्ठ र ९१ वर्षीय बालकुमारी श्रेष्ठ देउरानी जेठानी हुन् । उनीहरू जीवनको लगभग उत्तरार्धमा पुगिसके ।
अहिलेसम्मको जीवन त्यही माटोमै खनिखोस्री, सुख-दु:खमा बित्यो । रोशी खोला छेउकै वस्तीको ढुङ्गा माटोको घरमा उनीहरूको खुसी भरिएको थियो ।
छिमेकीको जस्तै सिमेन्टकै घर बनाउने इच्छा त थियो तर, पैसा थिएन । पैसा कमाएर सिमेन्टकै घर हाल्ने सपना ठूलो सपना थियो । तर, भएको ढुङ्गा माटोको घर पनि बाढीले चुँडेर लगिदियो ।
दुवै वृद्धाहरूलाई नातिहरूले बोकेर भगाए । ज्यान बचाएर भाग्न सफल भए । रोशीकै काखमै बसेका उनीहरू वर्षौँदेखि एउटै विश्वासमा थिए । रोशी बढ्दैन । यसरी बौलाउँदैन । उनीहरूलाई थाहा भएसम्म २०३८ सालभन्दा यता रोशीमा बाढी आएको थिएन । त्यो बेलामा पनि यत्रो बाढी नभएको उनीहरू सुनाउँछन् ।
साइँली भन्छिन्, “२०३८ सालमा बाढी आएको थियो । त्यसपछि ठूलो बाढी कहिल्यै आएन । त्यतीबेला बाढी आएपनि खोलामै बग्यो । अहिलेजस्तो बस्तीमा पसेन ।”
उमेरले ९० काटेकी बालकुमारीको लागि बाढीको घटना सपना जस्तो भएको छ । उनी भन्छिन्, “यही ठाउँमा सानैमा बिहे गरेर आएँ । साना झुपडीदेखि पक्की घरहरू बने । सानो गोरेटोबाटोबाट पिच सडक बने । जीवनको अन्त्यमा यी सबै देखिएका विकाशहरू एकैछिनमा बगाएर लग्यो ।”
फोन सम्पर्क टुट्यो, बिजुली पनि छैन
विपद् बाजा बजाएर आउँदैन । रोशी किनारका बासिन्दाले यो कुरा सुनेका थिए । तर, भोगेका थिएनन् । शुक्रबार रातिको आँखा अगाडि यी सबै विपत्तिको उनीहरूले मन ढुङ्गा बनाएर सामना गरे ।
बाढीले आफ्नै घर बगाएको टुलुटुलु हेर्नेबाहेक अरू विकल्प उनीहरूसँग थिएन । तर, राम्ररी त्यो पनि हेर्न पाएनन् । बाढी आउनेबित्तिकै केही बिजुलीका पोल ढले । बत्ती गयो । चारैतिर अँध्यारो । मधुरो प्रकाशमा पनि देखिएका जति दृश्यहरू नियालिरहेका थिए ।
भूँमेडाँडामा पक्कीदेखि कच्ची घर बगाए पनि पुल भने जोगिएको छ । वारि र पारि वस्ती जोड्ने पुल बाँकी छ तर, वस्ती भने आधा सखाप भएको छ ।
तर, सडक भने तीनसय किलोमिटर बढी बगरमा परिणत भएको छ । किनकि सडक खोलाकै किनारमा थियो । बिजुलीका पोल ढलेका छन् ।
बिजुली अवरुद्ध भएको छ । टेलिफोनका टावरहरूसमेत बिजुली जान नसक्दा फोन सम्पर्क टुटेको छ । उद्धारमा समेत अवरोध भएको छ ।
नपत्याउँदो खोलाले बगायो
हरेक विपद् झेलेकालाई त्यसको कारण थाहा हुन्छ । रोशी किनारबासीलाई यत्ति मात्रै थाहा छ, “बाढीले घर खेत बगायो । उठिबास लगायो ।”
नपत्याउँदो खोलाले उनीहरूको सारा सपना हुरीझैँ एकैरातमा उडाएर लग्यो । तर, अहिलेसम्म थाहा छैन, बाढी कसरी आयो ? के कारण आयो ? खास कारण उनीहरूले पत्तो पाएका छैनन् ।
उनीहरूलाई यत्ति मात्र थाहा छ कि बाढीले घर, खेत सबै बगायो । एक रातमै उनीहरूको जिन्दगीको सम्पूर्ण सपना हुरीझैँ उडाएर लग्यो । बाढीको कारण के हो भनेर कसैले ठ्याक्कै पत्तो पाएको छैन । तर उनीहरूले एक कुरा बुझेका छन्— समयमै भाग्न सकेका थिए । यदि भाग्न ढिला भएको भए उनीहरूको ज्यान पनि बच्न गाह्रो हुन्थ्यो ।
रोशी किनार पूरै ‘खण्डहर’
पनौती ८ मल्पीमा पनि बाढीले ठूलो क्षति गरेको छ । मल्पीका प्रह्लाद केसी भन्छन्, “हामीले कसैको केही बिगारेका थिएनौँ । घर खोलाभन्दा निकै टाढा थियो तर, पनि बाढीले धेरै घर बगायो ।”
मल्पीमा दिनेश बस्नेतको साढे २ तले पक्की घर, राम केसी र राजु केसीको रिभर साइड रिसोर्ट र नजिकैको दाजुभाइ क्याफे बाढीले बगाएको छ । फुटबल मैदानसमेत चिरिएर खोला बनेको छ, जहाँ खेलकुद गर्थे । अहिले त्यो ठाउँ खोलाले खाल्डो बनाएको छ ।
प्रल्हाद केसी र विजय कार्कीको कुखुरा फार्म, राममणि केसीको २ तले ट्रसमा रहेको होटल, अनि तामाङ समुदायका चार घरको नामोनिसान समेत बगाएर लगेको छ ।
टिप्परहरू बगरमा पुरिएका छन् । बाढी पीडित तामाङ समुदायका स्थानीयहरू भन्छन्, “ज्यान बच्यो, त्यही चित्त बुझाएका छौँ । लगाएको लुगा बाहेक केही सम्पत्ति बाँकी छैन । न घर रह्यो, न खेत नै ।”
कारण ढुङ्गाखानी र क्रसर
बाढी पहिरोले पनौतीमा मात्र २० जनाको मृत्यु भएको छ । वडा नं. १, २, ४, ७, ८, ११ र १२ का करिब ७ सय परिवार बिचल्ली बनेका छन् । वडा नं. १२ का मात्रै ३ सय घरधुरी विस्थापित भएका छन् ।
ठूलो क्षति भएको पनौती १२ मा खोला किनारमा आधा दर्जन ढुङ्गाखानी उद्योग छन् । ढुङ्गाखानी तथा क्रसर उद्योगकै कारण पनौतीको रोशी बजारमा यसपटक बाढी पहिरोले बढी क्षति गरेको कतिपय स्थानीय बताउँछन् ।
क्रसर र ढुङ्गाखानी उद्योगले जथाभाबी उत्खनन गर्दा बाढीपहिरोको जोखिम बढेको भन्दै स्थानीयले पहिलेदेखि नै ध्यानाकर्षण गराएका थिए ।
स्थानीय भन्छन्, “खानीबाट निस्किने धूलो-माटो खोलामै फालिन्थ्यो । त्यसैले खोला पुरिँदै गएको थियो । झरीले पानीको सतह बढाउँदा खोला वस्तीमा पसेर ठूलो क्षति भयो ।”
कलाँतीलगायतका क्षेत्रमा भने प्राकृतिक कारणबाटै पहिरो गएको स्थानीयको भनाइ छ । विपद् गएको ६ दिन बितिसक्दासम्म पनि राज्यको संयन्त्र नपुगेको स्थानीयहरूको गुनासो छ।
Facebook Comment
Comment