श्रीलंकाली वामपन्थको चामत्कारिक विस्तार, पूर्वविद्रोही बने राष्ट्रपति

करिब ६० वर्षअघि स्थापित र सधैँ किनाराको सानो दल रहँदै आएको जेभिपीले यसपटक पाएको मत आश्चर्यजनक छ । सशस्त्र विद्रोहद्वारा कम्युनिष्ट राज्य स्थापना गर्ने यसका संस्थापक नेताको उद्देश्य पूरा नभए पनि दिसानायकेले भोटबाट त्यो सपना पूरा गरेका छन् ।

श्रीलंकाली वामपन्थको चामत्कारिक विस्तार, पूर्वविद्रोही बने राष्ट्रपति

काठमाडौं । भनिन्छ, राजनीतिमा कुनै नयाँ शक्तिको उदय हुनका लागि असाधारण स्थिति चाहिन्छ । सामान्य र नियमित अवस्थामा परम्परागत शक्ति संरचना नै क्रियाशील र निर्णायक हुन्छन् ।

कुनै एक अवस्थाको शक्ति संरचना अर्को अवस्थाका लागि स्वीकार्य नहुन सक्दछ । तर, त्यस्तो परिवर्तन कसैको रहरले हैन, परिस्थितिको उपजका रूपमा प्राप्त हुन्छ ।

सन् १९४५ मा विस्टन चर्चिलको दलले बेलायतमा बहुमत गुमाएको थियो, जबकि दोस्रो विश्वयुद्धमा चर्चिलको अद्वितीय भूमिका व्यापक प्रशंसित भएको थियो । चर्चिलले देशलाई युद्धमा कुशल नेतृत्व दिएको ठानिन्थ्यो ।

दोस्रो विश्वयुद्ध स्थगनपछिको पहिलो आम निर्वाचनमा जब चर्चिलको पार्टी हार्‍यो, तब विश्लेषकले यस्तो निष्कर्ष निकाले— मतदातालाई लाग्यो होला, उनी युद्धकालका सर्वोत्कृष्ट थिए, शान्ति र पुनर्निर्माणकालमा देशलाई अर्कै प्रकारको व्यक्तित्व चाहिन्छ । युद्धकालको च्याम्पियन शान्तिकालको आवश्यकता नबन्न सक्दछ ।

भर्खरै सम्पन्न श्रीलंकाली राष्ट्रपतीय निर्वाचनले ठीक त्यस्तै अनौठो नतिजा दिएको छ । जेभिपी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनी नेशनल पिपुल पावरका साझा उम्मेदवार थिए, जसलाई श्रीलंकाली भाषामा ‘जेजेबी’ भनिन्छ । खासमा यो वामपन्थी, कम्युनिष्ट, प्रजातान्त्रिक समाजवादी र सामाजिक लोकतन्त्रवादी दलहरूको एक साझा मञ्च हो । दिसानायके यसैको साझा उम्मेदवार थिए ।

यो गठबन्धन सन् २०१९ मा निर्माण गरिएको थियो, त्यसयता यसले श्रीलंकाली राजनीतिमा तेस्रो स्थानको भूमिका गर्दै आएको छ । यो गठबन्धनमा २८ वटा वामपन्थी राजनीतिक समूह तथा सङ्गठन सामेल छन् ।

सन् २०२२ को जनविद्रोह र राजपाक्षे परिवारको पतनपछिको स्थितिका लागि श्रीलंकाली जनताले वामपन्थी समूहको गठबन्धनलाई रुचाएको देखिएको छ ।

राष्ट्रपतीय निर्वाचनको मैदानमा ३८ उम्मेदवार खडा भएका थिए । तीमध्ये दोस्रो स्थानमा सजिथ प्रेमादास आएका छन् । बहालवाला राष्ट्रपति रनिल विक्रमासिंहे तेस्रो भए । उनी सन् २०२२ मा जनविद्रोहद्वारा राजपाक्षे परिवारको शासन फालिएपछि देशको नेतृत्व गरिरहेका पाका राजनीतज्ञ हुन् । उनले अप्ठ्यारो स्थितिमा देशलाई सम्हालेका थिए ।

अनुरा कुमारा दिसानायके भने ‘जेभिपी नेता’ हुन् । यो श्रीलंकाली राजनीतिको सबैभन्दा कट्टरपन्थी मार्क्सवादी-लेनिनवादी समूह हो ।

सन् २०१९ देखि नै दिसानायके पार्टी र गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्दै आएका थिए । सन् २०१९ मा उनी ३.१६ प्रतिशत मात्र मत प्राप्त गरेर तेस्रो स्थानमा थिए । उक्त निर्वाचनमा गोताबाया राजपाक्षे र सजिथ प्रेमादासबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

सजिथ प्रेमदासा पूर्वराष्ट्रपति रणसिंगे प्रेमादासका छोरा हुन् । सन् १९९३ मा रणसिंगेको तमिल पृथकतावादी सङ्गठन लिट्टेले हत्या गरेको थियो ।

श्रीलंकाली संसद्‌मा जेभिपी गठबन्धनको जम्मा ३ सिट थियो । त्यसमध्ये एक दिसानायके आफैँ थिए । उनी २००० यता संसद् रहँदै आएका थिए । सन् २००४ मा उनी चन्द्रिका कुमारातुङगा सरकारमा मन्त्रीसमेत थिए । उनी सन् २०१४ मा जेभिपी प्रमुख भएका थिए ।

जन विमुक्ति प्यारामुना (जेभिपी) सन् १९६८ मा सिलोन कम्युनिष्ट पार्टीबाट फुटेर बनेको एक हाङ्गो हो । यसले सशस्त्र सङ्घर्षमार्फत कम्युनिष्ट राज्य स्थापना गर्ने लक्ष्य राखेको थियो ।

यो समूहले श्रीलंकामा कम्युनिष्ट राज्य स्थापनाका लागि दुई पटक सशस्त्र विद्रोहको नेतृत्व गरेको थियो । सन् १९७१ र सन् १९८७ मा । तर, यी दुवै विद्रोह असफल भएका थिए ।

सन् १९७१ को विद्रोहमा यसले ७६ जना प्रहरीलाई कब्जा गरेको थियो । यसको सशस्त्र टुकडी रेडगार्डले त्यस्तो कारबाही गरेको थियो । यस्तो विद्रोहको असफलतापछि जेभिपीका संस्थापक नेता रोहना बिजेबिपराले पक्राउ परेका थिए । उनले ७ वर्ष जेलमा बिताएका थिए ।

जेलबाट छुटेपछि सन् १९८२ को राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका उनले ४.१६ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेका थिए । तर, सन् १९८७ मा बिजेबिराले अर्को सशस्त्र विद्रोहको प्रयत्न गरे । यो विद्रोह दमन गर्न श्रीलंकाली सेनाले विशेष अप्रेसन सञ्चलान गरेको थियो । यो विद्रोहमा करिब ५० जना मारिएका थिए । जेभिपीले संसद् भवनमा बम हानेको थियो ।

सन् १९८९ नोभेम्बर १२ मा बिजेवीराको हत्यासँगै यो विद्रोह अन्त्य भएको थियो । सन् १९९० को दशकबाट जेभिपी शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो ।

करिब ६० वर्षअघि स्थापित र सधैँ किनाराको सानो दल रहँदै आएको जेभिपीले यसपटक पाएको मत आश्चर्यजनक छ । यद्यपि, यसमा गठबन्धन साझेदार दल र समूहहरूको पनि भूमिका हुन सक्दछ तर, गठबन्धनको सबैभन्दा ठूलो घटकका रूपमा जेभिपी देखिएको छ ।

यसले सन् २०२२ को जनविद्रोहपछिको नयाँ स्थितिमा श्रीलंकाली मतदातामा वामपन्थी तथा कम्युनिष्ट रुझान बढेको प्रष्ट सङ्केत गर्दछ ।

बेलायतमा चर्चिललाई युद्धकालको नायक भनिएजस्तो राजपाक्षे परिवार श्रीलंकामा युद्धकालको नायक थियो । दाजुभाइ महिन्द्रा राजपाक्षे र गोताबाया राजपाक्षेले लिट्टेविरुद्धको सैन्य कारबाहीलाई निर्णायक बनाउन कठोर भूमिका लेखेका थिए ।

सन् २००९ मा लिट्टे नेता भिल्लुपिलाई प्रभाकरणको मृत्युसँगै तमिल पृथकतावादी आन्दोलन अन्त्य भएको मानिएको थियो । यसको क्रेडिटस्वरूप राजपाक्षे परिवारले करिब डेड दशक श्रीलंकाली राजनीतिमा हालीमुहाली जमाएको थियो ।

तर, शान्ति र पुनर्निर्माण युगको नेतृत्व उनीहरूले गर्न सकेनन् । मूलतः अस्वाभाविक रूपमा बढ्दो सार्वजनिक ऋण, चीनप्रतिको रुझान, हब्बनटोट बन्दरगाहको व्यावसायिक असफलता, परिवारवाद र आर्थिक सङ्कटले राजपाक्षे परिवारलाई श्रीलंकाली राजनीतिको मूलधारबाट बाहिर धकेलिदियो ।

दिसानायके देशको इतिहासमा पहिलो कम्युनिष्ट राष्ट्रपति भएका छन् । सशस्त्र विद्रोहद्वारा कम्युनिष्ट राज्य स्थापना गर्ने यसका संस्थापक नेताको उद्देश्य पूरा नभए पनि दिसानायकेले भोटबाट त्यो सपना पूरा गरेका छन् ।

जो होस्, श्रीलंकाली राजनीतिमा कम्युनिष्ट तथा वामपन्थी शक्तिको भूमिकालाई अब कसैले नजरअन्दाज गर्न सक्ने छैन, जो दशकौंको सङ्घर्षबाट पनि पूरा भएको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved