अहिलेको पुँजीवादी प्रणालीप्रति व्यापक असन्तुष्टि छ । यसले धेरै धनी र गरिब देशलाई नयाँ आर्थिक प्रारूप खोज्न प्रेरित गरेको छ ।
यथास्थितिवादका प्रतिरक्षकले अमेरिकालाई पुँजीवादको चम्किलो ताराका रूपमा प्रस्तुत गर्न छोडेका छैनन् । अमेरिकी अर्थतन्त्रले युरोप र जापानलाई पछाडि छोडेको छ । अमेरिकाको वित्तीय बजार सधैँ प्रभावशाली छ ।
यद्यपि, अमेरिकी नागरिक पनि पश्चिमको अन्य भागमा जस्तै निराश छन् । मुस्किलले एक तिहाइभन्दा केही बढी अमेरिकी मात्र यो विश्वास गर्दछन् कि उनीहरू आफ्ना अभिभावकभन्दा धनी हुनेछन् । राज्यले अझ धेरै सुरक्षा सञ्जाल निर्माण गर्नुका बाबजुद सरकारलाई विश्वास गर्नेको अनुपात गिर्दो छ ।
७० प्रतिशत अमेरिकी अहिलेको प्रणाली भत्काउनु पर्दछ वा ठूलो परिवर्तन चाहिन्छ भन्ने विश्वास गर्दछन् । युवा पुस्ता सबैभन्दा धेरै निराश छ । ३० वर्षमुनिका अधिकांश अमेरिकी पुँजीवादको तुलनामा समाजवादप्रति सकारात्मक धारणा राख्दछन् ।
भारतदेखि पोल्यान्डसम्मका धेरै देशले समाजवादका लागि आफ्ना विगतका असफल प्रयास अझै बिर्सेका छैनन् । डोनाल्ड ट्रम्प र जो बाइडनले नै स्वतन्त्र व्यापार नीतिविरुद्ध विद्रोह गर्दा ती अचम्मित हुन्छन् । र, तिनले चीनबाट थप प्रेरणा खोज्न सक्दैनन् ।
सन् १९७० को दशकको उत्तरार्धमा चीनको कम्युनिष्ट पार्टीले निजी क्षेत्रमा आर्थिक शक्ति हस्तान्तरण गर्न थाल्यो । त्यसपछि सुरु भएको ‘आर्थिक चमत्कार’ राष्ट्रपति सी चिनफिङको पालोमा कमजोर हुँदैछ ।
चीन आफ्नो पुरानो ‘कमाण्ड एण्ड कन्ट्रोल’ तरिकातिरै फर्किँदैछ । सत्तारुढ पार्टीको आँखामा धेरै शक्तिशाली बनेका व्यवसाय दण्डित हुँदैछन् । भारी ऋण, बुढ्यौली जनसङ्ख्या र अति पहुँच राज्यको कारण चीनको अर्थतन्त्र चमत्कारिक बाटोबाट तल झरेको छ ।
यद्यपि, यस्ता केही प्रमुख देश पुँजीवादबाट पछि हटिरहेका देखिन्छन्, स्वीट्जरल्यान्ड, ताइवान, भियतनामलगायत आय बक्रका अन्य देश छन्, जहाँ पुँजीवादले अझै पनि राम्रो काम गर्दैछ । तिनका उदाहरण अनुकरण गर्न लायक छन् ।
यिनका सरकारले आर्थिक स्वतन्त्रतालाई महत्त्व दिन्छन् । अर्थतन्त्रको व्यवस्थापन र व्यवसायको नियमनमा आफ्नो भूमिकालाई सीमित गर्दछन् । तिनले ठूलो सार्वजनिक ऋण र घाटा गम्भीर जोखिम हुन् भनेर बुझेका छन् । तिनले सार्वजनिक वित्तलाई सावधानीपूर्वक खर्च गर्दछन् । ती अर्बपतिको गतिशीलता र फाइदाका लागि तय गरिने अमेरिकीजस्ता नीतिबाट जोगिन खोज्दछन् ।
अमेरिकी प्रगतिशीलहरू प्रायः डेनमार्क, नर्वे र स्वीडेनजस्ता स्क्यानडिनेभियन देशलाई समाजवादी स्वर्गका रूपमा चित्रण गर्ने दृष्टिकोण प्रस्तुत गर्दछन् । यी देश अमेरिका जतिकै धनी छन् तर, सम्पत्तिको अझ बढी समान वितरण, सबैका लागि सस्तो स्वास्थ्य सेवा र नि:शुल्क कलेज शिक्षा प्रदान गर्न सफलता पाएका छन् ।
तर, स्वीट्जरल्यान्ड राजनीतिक वामपन्थीहरूले बिरलै उदाहरण दिने त्यस्तो देश हो, जुन स्क्यान्डिनेभियन सामाजिक लोकतन्त्रभन्दा अझ बढी धनी र एकदमै निष्पक्ष छ । यसको करिब ७०० बिलियन डलरको अर्थतन्त्र नोर्डिकका सबै देशको भन्दा ठूलो हो । स्वीट्जरल्यान्डले वित्तीय सङ्कट सामना गरिरहने नोर्डिक सामाजिक लोकतन्त्रभन्दा बढी सुव्यवस्थित सरकार, कम कर, अधिक वित्तीय स्थीरताका साथै व्यापक लोककल्याणकारी लाभ प्रदान गर्दछ ।
स्वीट्जरल्यान्डसँग उच्च औसत आयको गौरव पनि छ भने आय असमानता स्क्यानडिनेभियन देशसँग तुलनीय भएको छ । यहाँ औसत पारिवारिक सम्पत्ति ६ लाख ८५ हजार डलर छ, जुन नोर्डिक देशहरूको भन्दा ठीक दोब्बर हो । स्वीट्जरल्यान्ड उच्च खुसीयाली तथा जीवनस्तर सूचक भएका ५ देशभित्र पर्दछ ।
यसको सफलताको सबैभन्दा आश्चर्यजनक पक्ष; यो एक छरितो राज्य हो । यसले जिडीपीको ३५ प्रतिशत मात्र सार्वजनिक खर्च गर्दछ । जबकि स्वीडेनमा यो ५५ प्रतिशत छ ।
स्वीस स्वास्थ्य प्रणालीमा नागरिकले निजी प्रदायकबाट स्वास्थ्य बिमा खरिद गर्नुपर्दछ तर, गरिबका लागि व्यापक अनुदान छ । यसका विश्वस्तरीय विश्वविद्यालयले वार्षिक औसत १ हजार डलर शुल्क लिन्छन् । यसका स्नातकको ऋण अन्य देशको तुलनामा निकै कम हुन्छ ।
स्वीट्जरल्यान्डको सीमाना तुलनात्मक रूपमा खुला छ । यसले यो भूपरिवेष्ठित देशलाई विश्वव्यापी प्रतिस्पर्धी कम्पनीको ‘इन्क्युबेटर’ बन्न मद्दत गरेको छ । यसको ४० प्रतिशत जनसङ्ख्या विदेशमा जन्मिएको हुन्छ ।
एक आर्थिक संस्था ओइसीका अनुसार स्वीट्जरल्यान्ड ‘निर्यात परिष्करण’ मा जापानपछि दोस्रो स्थानमा छ । यसले बायोमेडिसिन र डिजिटल हार्डवेयरजस्ता जटिल उत्पादन निर्यात गर्दछ । यसका गुणस्तरीय विश्वविद्यालय र अनुसन्धान केन्द्रले आर्थिक प्रगतिलाई अगाडि बढाउँछन् ।
तेलबाहेक सबै क्षेत्रमा स्वीस कम्पनी फस्टाउँदा छन् । सेयर बजार पुँजीकरणमा युरोपका शीर्ष १०० मध्ये १५ वटा स्वीस कम्पनी छन्, जुन कुनै पनि नोर्डिक प्रतिस्पर्धी देशको भन्दा धेरै हो ।
स्वीस अर्थतन्त्र यसको सङ्घीय राजनीतिक प्रणालीजस्तै विकेन्द्रित छ । यसका धेरै जसो प्रतिष्ठित निर्यात प्रान्तबाट आउँछन् । सैन्य चक्कु स्वेज, घडी बर्न र चिज फ्रिनबर्गमा बन्छन् । प्रत्येक ३ मध्ये २ वटा रोजगार साना कम्पनीले दिन्छन् ।
प्रत्येक ६ मध्ये १ स्वीस नागरिक मात्र सरकारको काममा हुन्छन्, जो नोर्डिक देशहरूको भन्दा ठीक आधा हो । स्वीस नागरिक राज्यबाट लाभ उठाउनुभन्दा आफैँ काम गर्न रुचाउँछन् । सन् २०१६ को जनमत सङ्ग्रहमा स्वीस मतदाताले २५ सय डलर मासिकको आय ग्यारेन्टी प्रस्ताव भारी मतदानका साथ अस्वीकार गरेका थिए । त्यसलाई उनीहरूले ‘केही नगरिकन पाइने पैसा’ भनेर आलोचना गरेका थिए ।
पछिल्लो दशकमा अधिकांश धनी देशको विश्वव्यापी निर्यात आय घट्यो तर, स्वीट्जरल्यान्डको वृद्धि जारी नै छ । स्वीस फ्राङ्कको मूल्य अन्य कुनै पनि मुद्राको तुलनामा छिटो बढिरहेको छ तर, पनि स्वीस निर्यात वृद्धिमा छ । ग्राहक स्वीस सामानका लागि महङ्गो मूल्य तिर्न खुसी देखिन्छन् । यस्तो आर्थिक प्रवाहले स्वीस अर्थतन्त्रलाई बलियो बनाएको छ ।
पछिल्लो दशकमा फ्राङ्कको मूल्य वृद्धि सुस्त बनाउन केन्द्रीय बैंकले ब्याजदरमा व्यापक कटौती गरेको थियो । यसको कारण ‘लगानी बुम’ थियो । कर्पोरेट तथा घरेलु ऋण जिडीपीको २८० प्रतिशत पुगेको थियो । यस्तो उच्च वृद्धिले भविष्यका लागि क्रेडिट तथा बैंकिङ जोखिम बढाउँथ्यो ।
विश्वले स्वीस मोडेलको आर्थिक विकासलाई बेवास्ता गर्ने गरेको छ । सायद यसको पुरानो र म्याद गुज्रिएको ‘ट्याक्स हेभन’ प्रतिष्ठाको कारणले, यहाँ अवैध कर्महरू बैंक गोपनीयता कानूनका पर्दा पछाडि लुक्दछन् भन्ने ठानेर !
सन् २०१५ मा अन्य देशका सरकारको दबाबका करण स्वीस सरकार आफ्ना बैंकहरूको खाता छानबिनका लागि सहमत हुनु परेको थियो । तर, यसले पनि स्वीस सफलताको श्रेयलाई माथ गर्न सकेन । स्वीट्जरल्यान्डको आर्थिक सफलता अतिवादी बैंक गोपनीयता नियममा आधारित देखिएन ।
स्वीस मोडेल सपाट दृष्टिले देखिने खालको छ । अब स्क्यानडिनेभियाली देश पनि यही दिशामा अघि बढेका छन् ।
सन् १९९० को दशकमा बैंकिङ तथा सम्पत्ति क्षेत्रबाट सुरु भएको ऋण सङ्कटबाट त्रसित स्वीडेनले आफ्ना उच्च कर दर घटायो । सार्वजनिक खर्चलाई जिडीपीको ७० प्रतिशतबाट ५० प्रतिशतमा झार्न खोज्यो । त्यसपछि यो बचत बजेट बनाउने सीमित देशमध्ये एक बन्न पुग्यो । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटको अवधिमा यो बलियो वित्तीय स्थितिमा थियो ।
अन्य नोर्डिक देशले पनि यसलाई पछ्याए । सन् २०१५ मा डेनमार्कका प्रधानमन्त्री लार्स लोक्के रासमुसेनले देशलाई ‘एक योजनाबद्ध समाजवादी अर्थतन्त्र’ भन्ने सोच्न बन्द गर्न अमेरिकी स्रोतालाई ब्याख्यान दिएका थिए ।
आर्थिक समृद्धिको आधार छरितो सरकार र नागरिकलाई व्यापक आर्थिक स्वतन्त्रता हो भन्ने स्वीस मोडेलले देखाउँछ । राज्यको अन्त्यहीन विस्तार एक्काइसौं शताब्दीको समाधान हुन सक्दैन । आर्थिक स्वतन्त्रता नै सामाजिक तथा आर्थिक प्रगतिको उत्तम मानवीय आशा हो ।
स्वीट्जरल्यान्डको पाठ हो— लालफित्ताशाही र सरकारी हस्तक्षेपबाट आर्थिक समृद्धि सम्भव हुँदैन । अमेरिकाले यसको उल्टो बाटो समातेको छ । सरकारको आकारलाई अस्वाभाविक रूपमा ठूलो बनाएको छ । सार्वजनिक ऋणभार थपेको छ । हरेक आर्थिक तथा वित्तीय सङ्कटलाई अझ ठूलो जमानतबाट हल गर्न खोजेको छ ।
अमेरिकाका यस्ता प्रयास पुँजीवादका विकृत रूप हुन् । यसलाई कतिपयले ‘असाध्यै धनीहरूको समाजवाद’ भन्न थालेका छन् । पुँजीवादी आस्थालाई पुनर्स्थापित गर्ने हो भने ती देशबाट सिक्न जरुरी हुन्छ, जहाँ अझै पुँजीवादले राम्रो काम गरिरहेको छ । अमेरिका अब त्यस्तो देश रहेन । बरु तीमध्ये एक राम्रो उदाहरण हो— स्वीट्जरल्यान्ड ।
(फरेन अफेयर्सबाट संक्षेपीकृत तथा सम्पादित अनुवाद)
Facebook Comment
Comment