जिम्बाब्वेको आपत्‌कालीन निर्णय : ७ करोड मानिसको भोक मेटाउन २०० हात्तीको बलि

नेपालभ्युज

जिम्बाब्वेको आपत्‌कालीन निर्णय : ७ करोड मानिसको भोक मेटाउन २०० हात्तीको बलि

हरारे । चालीस वर्ष यताकै चरम भोकमरी देखापरेपछि जिम्बाब्वेमा २०० हात्ती मारेर मासु बाँडिने भएको छ । यहाँका ७ करोड मानिस खाद्य संकटमा परेपछि सरकारले त्यस्तो निर्णय गरेको हो ।

भोकमरीसँग जुध्न सरकारले हात्ती मार्ने आदेश दिएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, जिम्बाब्वेका ४ जिल्लामा २०० हात्ती मारेर त्यसको मासु विभिन्न समुदायमा बाँडिनेछ । जिम्बाब्वे पार्क एण्ड वाइल्डलाइफ अथोरिटीले यो कुराको पुष्टि गरेको छ ।

जिम्बाब्वे पछिल्लो ४ दशकमा सबैभन्दा ठूलो खडेरीको समस्यासँग जुधिरहेको छ । खडेरीले देशको पूरै बाली नष्ट भएको छ । यस्तो अवस्थामा जिम्बाब्वेका ६ करोड ८० लाखभन्दा बढी मानिस खाद्य अभावसँग जुधिरहेका छन्।

देशमा हात्तीको संख्या घटाउने अर्को लक्ष्य

पार्क एण्ड वाइल्डलाइफ अथोरिटीका प्रवक्ता फरावोले भने – हात्तीको हत्या पछाडिको अर्को उद्देश्य जिम्बाब्वेका निकुञ्जमा संख्या घटाउनु हो । जिम्बाब्वेमा करिब १ लाख हात्ती छन् । तर, यहाँका निकुञ्जमा केवल ५५ हजार हात्ती राख्ने ठाउँ छ।

त्यसैगरी, खडेरीका कारण देशका नागरिक र हात्तीबीच सन्तुलन कायम राख्न कठिनाइ बढ्ने आशंका छ । गत वर्ष जिम्बाब्वेमा हात्तीको आक्रमणमा ५० जनाको मृत्यु भएको थियो । यसअघि, जिम्बाब्वेमा सन् १९८८ मा पनि हात्ती  काटेर त्यसको मासु बेचिएको थियो ।

गत महिना अफ्रिकी देश नामिबियामा पनि खडेरीसँग जुध्न ८३ हात्ती काटेर त्यसको मासु बाँडिएको थियो । हात्तीको संरक्षणका लागि प्रसिद्ध जिम्बाब्वेले लामो समयदेखि संयुक्त राष्ट्रसंघको कन्भेन्शन अन इन्टरनेशनल ट्रेड इन एन्डेन्जर्ड स्पिसिज (साइटिस) बाट हात्ती र तिनका दाँत बेच्ने अनुमति मागिरहेको छ ।

यो मागमा जिम्बाब्वेका साथै बोत्स्वाना र नामिबिया पनि सामेल छन् । संसारमा हात्तीको सबैभन्दा बढी जनसंख्या बोत्स्वानामा छ । त्यसपछि जिम्बाब्वेको नम्बर आउँछ । हात्तीको बढ्दो संख्याका कारण मानिसको ज्यान खतरामा रहन्छ । यिनीहरूले आफ्नो बाटोमा आउने बालीनालीका साथै साना बच्चा पनि कुल्चिदिन्छन्।

जिम्बाब्वेसँग ५ हजार करोड मूल्य बराबरको हात्तीको दाँत मौजूद छ । तर, यसको व्यापारमा प्रतिबन्ध लागेको छ । यस्तो अवस्थामा हात्तीको दाँत बेच्ने अनुमति पाए नागरिकलाई पैसा कमाउने अर्को माध्यम मिल्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved