क्यानडाको टोरन्टो विश्वविद्यालयबाट कंक्रिट इन्जिनियरिंगमा विद्यावारिधि गरेका डा. विष्णु प्रसाद गौतमले सोसल इन्जिनियरिंगमा चासो दिँदै ‘विवेकको फिल्टर’ नामक गैरआख्यान पुस्तक लेखेर, प्रकाशन गरेका रहेछन् । यो आलेख विवेकको फिल्टरको पुस्तकको सेरोफेरोमै केन्द्रित गर्ने कोसिस गरिएको छ ।
सोसल इन्जिनियरिङ विधा इन्जिनियर, चिकित्सक, विमान चालक, नर्स लगायत टेक्नोक्र्याट्सको समेत विशेष रुचीको विधा भएको देखिन्छ ।
समाज, समुदाय र देशको विकास, समृद्धि र उन्नयनका लागि इन्जिनियर, चालक, चिकित्सकले जिम्मेवारी बोध गरी बोल्नु, लेख्नु, विश्लेषण गर्नु देशका लागि अमूल्य योगदान हो ।
जान्ने मान्छे (विज्ञ) नबोलेर र नजान्ने मान्छे धेरै बोलेर देश पछाडि परेको छ भन्ने मेरो बुझाइ हो । कहावत नै छ नि बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल बिक्दैन । लेखकले सकस व्यहोरी व्यहोरी लेखेको पुस्तक पाठकले एकै बसाइमा पढी भ्याउँछ भनिन्छ ।
विवेकको फिल्टर पनि त्यस्तै त्यस्तै खालको लाग्छ । पुस्तकका माध्यमबाट देश विकासका लागि राजनीतिज्ञ, ब्युरोक्र्याट्स, टेक्नोक्र्याट्स, अध्येता, अनुसन्धाता, पोलिसी मेकर्स, विधायकलाई आ आफ्ना क्षेत्राधिकारका कार्य सम्पादन गर्दा स्वम्का ब्रह्म ((विवेक) लाई देशहित समर्पण गरी फिल्टर गरी छानेर, चालेर, फिल्टर गरेर काम गर्नुपर्छ भन्ने सन्देश दिइएको छ ।
नेपालको संविधानमा उल्लेखित समाजवादको अभ्यास गर्नका लागि शीर्ष नेतृत्व र सरकारी अधिकारीहरूको बानी ब्यहोरा, कार्यशैली सिघ्रातिसिघ्र सुध्रिनु पर्छ ।
आम नागरिकको आधारभूत मानवअधिकार शिक्षा, स्वास्थ्य क्षेत्रमा जकडिएका बेथिति हटाउन युवा जागरूक हुन पर्छ । देशको बजेट आवश्यकताको सिद्धान्तमा नभएर शीर्ष नेताको तजबिजमा चलेको छ । कतैका बिरामीलाई स्वास्थ्य चौकी भवन छैन ।
उताका विद्यार्थीलाई छानो भएको विद्यालय भवन छैन । शीर्ष नेतृत्वका शहरको डाँडामा भ्यू टावरलाई वालछ्याल् बजेट छ ।
हैट, पुस्तकमा जीवन दर्शन, चिन्तन मनन्, मूल्य मान्यता, चाल चलन, प्रथा परम्परा, रीति थिति, बानी ब्यहोरालाई जबाफदेही, जिम्मेदार र सरोकारवाला हरेक व्यक्तिहरूले आआफूमा निहित विवेक पनि दैनिक जीवनमा फिल्टर गरी बोल्नु, लेख्नु, प्रस्तुत हुनु, अभ्यास गर्नु, व्यक्त गर्नु, व्यक्त गर्नु, कार्यान्वयन गर्न आवश्यक छ भन्ने सन्देश प्रवाहित छ ।
पुस्तक समीक्षा गरी प्रकाशन गर्नु अत्यन्त जोखिम, अपजस्याहा र निरस काम हो जस्तो लाग्छ । त्यहाँ माथि पनि परिचित लेखकले लेखेको पुस्तकको समीक्षा गर्नु निकै जोखिम कार्य मानिन्छ ।
खैर ! भ्रष्टाचार विरोधी, विकृति विसङ्गतिविरुद्ध, बेथितिका विपक्ष र थितिका पक्षमा मिहिन ढङ्गले लेखिएको वैचारिक पुस्तक विवेकको फिल्टरका बारेमा केही लेख्नु, बोल्नु, प्रकाशन गर्नुलाई मैले ढिकीको ओखलबाट अँजुलीले नाङ्लोमा हालेर भुस, कनिका, बियाँ र चामल छिन्किने जस्तै कार्य हो भन्ने सम्झिन्छु । डा गौतमले पुस्तक युवावर्गलाई समर्पण गर्नु भएको छ । व्यक्ति, समुदाय, समाज र देशमा व्याप्त विकृति, विसङ्गतिको चेन युवाले मात्र ब्रेक गर्न सक्छन् ।
युवाले बेथिति, विकृति र विसङ्गतिको चेन ब्रेक गर्नै पर्छ । आजका युवाले ब्रेक नगरे भोलिका युवाले विकृति, विसङ्गति र बेथितिको चेन ब्रेक गर्नै पर्छ भन्नेमा डा. स्पष्ट देखिएका छन् ।
समाजमा व्याप्त भ्रष्टाचार, कमिसन, घुसखोरी, कमिसनतन्त्र, अन्धविश्वास, परनिर्भरता, छलकपट, ठगी, कामचोर प्रवृत्ति र ठालुपन, पछौटेपन, परनिर्भरता, आदि देश विकासका बाधक हुन् भन्नेमा दुईमत छैन ।
देशमा उपलब्ध स्थानीय स्रोत, साधन, सम्पदा र मानव संसाधनको समुचित उपयोग गरेमा देश समृद्धिको बाटोमा अघि बढ्छ । विकृति विसङ्गति र बेथितिको चेन ब्रेक नगरीकन देश समृद्ध बन्न सक्दैन । देश विकास हुँदैन । समृद्ध, विकसित र सक्षम हुन सक्दैन ।
समृद्ध देश, सक्षम, चेतनशील र विवेकी नागरिक हरेक व्यक्तिको चाहना हो । देशमा व्याप्त विकृति, विसङ्गति र बेथिति सहन नसकेर विदेश बसाई सरेका युवालाई लक्षित गरी के भन्न सकिन्छ भने विकृति विसङ्गति र बेथिति युवाले जोगाएर मात्रै नहटेको हो ।
युवाले चाहने हो भने विकृति, विसङ्गति र बेथिति अवश्य हट्छ । आऊ युवा सामूहिक बल लगाएर देश बनाऔँ । युवा पन्छिएर, उम्किएर र तर्किएर देश, समाज, समुदाय बन्न सक्दैन भन्ने बुझ्नुपर्छ ।
देश विकास नगरी युवाले धर पाउँदैनन् । युवा भनेकै ज्ञान, विज्ञान, बुद्धि, विवेक लगाएर काम फत्ते गर्ने अवस्था हो । देशको विकास नक्कल गरेर हैन ।
अक्कल गरेर सम्भव छ । विवेकको फिल्टर युवाका लागि सन्देश हो । देश पछाडि पर्नुका कारण पहिल्याएर ती कारणको निराकरण गर्ने मार्ग पहिल्याउनका लागि पुस्तक सहयोगी बन्न सक्छ ।
कवि राम प्रसाद ज्ञवालीले रचेको एउटा कविताको मलाई मन परेको हरफ उद्धृत गर्नु सान्दर्भिक हुन्छ । जस अनुसार,
अन्तै कर्म गरे नि बिन्ती ढुकुटी यै देशको नै भर
जान्छौ अन्त भने नि गर्व प्रिय हे यै देशको नै गर
यहाँ भनिए जस्तै कंक्रिट इन्जिनियरिंगमा विद्यावारिधि गर्नु भएका डा गौतमले सरल भाषामा सुबोध्य सहज शैलीको पुस्तकमा देश र समाज झुकाव राख्दै अमूल्य सुझाव दिएका छन् ।
देश विकास हुनका लागि देश चलाउने मान्छे सुध्रिनु आवश्यक छ । मान्छेलाई अरूले सुधार्न भन्दा आफैँ सुध्रिन सहज, सरल र कम खर्चिलो हुन्छ भन्ने हो ।
व्यक्तिले विवेकको प्रयोग गरेमा मात्र विचार र प्रवृत्ति छान्ने फिल्टर बन्छ । व्यक्तिले विवेकजडित फिल्टर प्रयोग गर्नु आवश्यकता हो ।
हामी दुनियाँ पनि हिँडुन् भनेर बाटो बनाउने, कुलो खन्ने, कुवा खन्ने, साँघु थाप्ने, पाटी पौवा ठड्याउने, चौतारा बनाउने, आहाल बार्ने, लिँगुरा जोगाउने पुर्खाका सन्तति हौँ भन्दा गर्व लाग्छ ।
परोपकारमा रमाउने पुर्खाका सन्तान हौँ । त्यसैले त उनै पुर्खाको जीवन दर्शन, परम्परा र पूर्वीय संस्कारलाई पश्चिमा जगतको चमत्कारिक विकास, जीवनशैली, व्यवहारसँग जोड्ने काम विवेकको फिल्टर मार्फत विशेष हैसियतको योगदान गरेका छन् ।
पुस्तकमा दुर्बोध्य जार्गन प्रयोग भएको छैन । भाषा भन्दा भाव बलियो छ । सांकेतिक भन्दा पनि सटिक छ । कसै प्रति समर्थित भन्दा पनि जिज्ञासु प्रति समर्पित छ ।
भ्रष्टाचार निवारणमा पुस्तकले योगदान भएमा योगदान होस् । समाजसुधारमा पुस्तक कोशेढुंगा बनोस् । समाज विकासमा लेखक डा गौतमको कीर्ति रहोस् । विवेकको फिल्टर अझ सकस ब्यहोरेरै भए पनि अंग्रेजी भाषामा अनुवाद होस् । दुनियाँले अंग्रेजीमा हाम्रा अवस्था पढ्न पाऊन् ।
राज्यको उपल्ला तहमा बिराजमान अधिकृतहरूले देश बुझ्न र समाज जान्न विज्ञहरूका पुस्तक ओल्टाइ पल्टाइ गरेर हेरिदिए मात्र पनि देशहितमा हुनेथ्यो ।
समाजलाई सन्मार्गमा डोर्याउन ऐतिहासिक राजा पृथ्वीनारायण शाहका दिव्योपदेश, राजनीतिज्ञ बी पी कोइरालाका डायरी, राजनीतिज्ञ मनमोहन अधिकारीका जीवनी, सन्तनेता कृष्णप्रसाद भट्टराईका जीवनी, डा. भगवान कोइराला, डा. सन्दुक रुइत, क्या. विजय लामा, महावीर पुन, नायिका मनीषा कोइरालाहरूका अन्तर्वार्ता, पुस्तक, लेख रचना पाइन्छन् नि ।
पुस्तक : विवेकको फिल्टर (गैरआख्यान)
लेखक : डा. विष्णु प्रसाद गौतम
प्रकाशक : सिमल बुक पब्लिकेशन, काठमाडौं
मूल्य: रू ७००
(समीक्षक हरि दाहाल अधिवक्ता हुन )
Facebook Comment
Comment