लेबनानमा पेजर विस्फोट हुँदा नौ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

नेपालभ्युज

लेबनानमा पेजर विस्फोट हुँदा नौ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

लेबनान । हिजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने ह्याण्डहेल्ड पेजर विस्फोटबाट एक बालकसहित नौ जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रीका अनुसार बेरुत र अन्य क्षेत्रमा भएका विस्फोटमा इरानका लागि लेबनानका राजदूत सहित २ हजार ८०० अन्य व्यक्ति घाइते भएका छन् ।

इरानद्वारा समर्थित हिजबुल्लाहका अनुसार ती पेजरहरू विभिन्न युनिट र संस्थाका कर्मचारीका थिए । हिजबुल्लाहले यो आक्रमणलाई आपराधिक भन्दै न्यायपूर्ण बदला लिने वाचासमेत गरेको छ । यस घटनाबारे इजरायली सेनाले टिप्पणी गर्न अस्वीकार गरेको छ।

विस्फोट हुनु केही घण्टा अघि, इजरायलको सुरक्षा क्याबिनेटले देशको उत्तरमा भएका हिजबुल्लाहका आक्रमण रोक्ने र विस्थापित नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने लक्ष्य रहेको घोषणा गरेको थियो । ७ अक्टोबरमा गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएयता इजरायल–लेबनान सीमामा दैनिक झडप हुँदै आएका छन् ।

हिजबुल्लाहले भनेको छ – यसले इरान–समर्थित प्यालेस्टिनी समूहको समर्थनमा काम गरिरहेको छ । इजरायल, बेलायत र अन्य देशहरूले दुवैलाई आतंककारी संगठनको रूपमा सूचीकृत गरेका छन् ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले लेबनानमा भएका पछिल्ला घटनालाई अत्यन्तै चिन्ताजनक भनेका छन् ।

यो घटना अकल्पनीय आकार र प्रकृतिको भएकाले धेरै लेबनानीहरू मंगलबार साँझ आक्रोश र अविश्वासको स्थितिमा थिए ।

मोबाइल फोनहरू ह्याक वा ट्र्याक हुने जोखिमको कारण हिजबुल्लाह समूहले सञ्चारको लागि व्यापक रूपमा पेजरहरू प्रयोग गर्दछ ।

अपराह्न राजधानी बेरूत र अन्य धेरै क्षेत्रमा विस्फोट भएको जनाएको छ । एक सीसीटीभी भिडिओले सुपरमार्केटमा एक व्यक्तिको झोलामा वा खल्तीमा भएको विस्फोट देखाएको छ ।

ती व्यक्ति जमिनमा पछारिँदै चिच्याइरहेको देखिन्थ्यो । अन्य किनमेल गर्नेहरू भागिरहेका थिए । केही घण्टा पछि, एम्बुलेन्सहरू अझै पनि घाइतेहरूको ठूलो संख्याका कारण अस्पतालतर्फ दौडिरहेका थिए । तीमध्ये २०० जना गम्भीर अवस्थामा रहेको स्वास्थ्य मन्त्रीले बताएका छन् ।

बीबीसीका अनुसार अधिकांश मानिसमा कम्मर, अनुहार, आँखा र हातको भागमा चोट लागेका थिए । धेरैले औंलाहरू गुमाएका छन् ।

हिजबुल्लाहको मिडिया अफिसले आठ लडाकुको मृत्यु भएको घोषणा गरेको छ । स्थान र परिस्थितिका बारेमा जानकारी नदिए पनि यरूशलेमको बाटोमा सहिद भएको भनेको छ ।

समाचार एजेन्सीका अनुसार हिजबुल्लाहका सांसद अली अमारका छोरा र बेक्का उपत्यकामा हिजबुल्लाह सदस्यका १० वर्षीया छोरी मारिएका छन् ।

यूकेस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार लेबनानको छिमेकी सिरियामा पनि पेजर विस्फोटका कारण १४ जना घाइते भएका छन्, जहाँ हिजबुल्लाह सरकारी फौजसँगै लडिरहेको छ ।

लेबनानका प्रधानमन्त्री नजिब मिकातिले विस्फोटहरूको लागि इजरायललाई दोष दिएका छन् । इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्ना लेबनानी समकक्षलाई इजरायली आतंकवादको कडा रूपमा निन्दा गरेको बताएका छन् ।

इजरायलको सबैभन्दा नजिकको सहयोगी अमेरिकाले कुनै संलग्नता अस्वीकार गर्दै इरानलाई तनाव नबढाउन आग्रह गरेको छ ।

एक पूर्व ब्रिटिश सेनाका विस्फोटक विज्ञले बीबीसीलाई भनेका छन् – पेजरहरू सम्भवतः १० ग्रामदेखि २० ग्रामसम्मको उच्च विस्फोटक पदार्थले भरिएका थिए । जुन नक्कली इलेक्ट्रोनिक कम्पोनेंट भित्र लुकाइएको थियो ।

इजरायली सेनाले मंगलबार साँझ जारी गरेको वक्तव्यले पेजर विस्फोटबारे कुनै टिप्पणी गरेको छैन, तर प्रमुख कर्मचारी लेफ्टिनेन्ट जनरल हेरजी हलेवीले कमाण्डरसँग अवस्थाको मूल्याङ्कन गरेका छन्, जसले सबै क्षेत्रमा आक्रमण र प्रतिरक्षा तयारीमा ध्यान केन्द्रित गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved