काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसन घोषणा गरेको छ ।
नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाउँदै घोषणा गरेको हो ।
विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब १ करोड ५० लाख अमेरिकी डलर भन्दा बढीको योगदान गरेको कम्पनीले जनाएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्वोर कायुमोभले भने ‘हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौँ ।’
कार्यक्रममा कम्पनीले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । कम्पनीका अनुसार फाउन्डेसनको उद्देश्यहरूमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।
कम्पनीका अनुसार एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा नाइन्टिन फर नाइन्टिन परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल ११ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फण्डको रूपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष एटीन फर एटीन अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका कम्पनीले जनाएको छ ।
नेपालको एक ठुलो करदाताको रूपमा एनसेलले आफ्नो स्थापना काल देखि आज सम्म ३२० अर्ब भन्दा बढी सरकारलाई कर तथा शुल्क बुझाई सकेको छ र नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ ।
कम्पनीका अनुसार १९औ वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरू जस्तै वृक्षारोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्किनिङ, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ ।
साथै एनसेल व्यवस्थापनका उच्चपदस्थ अधिकारीहरू र अन्य कर्मचारीहरू ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्ने छन्।
Facebook Comment
Comment