न्युजल्याण्ड : न्युजिल्याण्डको सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमध्येको एक चरा प्रतियोगितामा लजालु पहेँलो आँखा भएको पेंगुइनले शीर्ष स्थान हासिल गर्दै वर्षको चरा उपाधि जितेको छ ।
५० हजारभन्दा बढी मानिसहरूले प्रतियोगितामा मतदान गरे – जसमा विगतमा विदेशी हस्तक्षेपको आरोप र धोकाधडीको दावीसहित धेरै विवादहरू देखा परेका थिए ।
गत वर्ष, ‘पुटेकेटेके’ (खत्री बतासे) ले यो प्रतियोगिता जितेको थियो । जब हास्य कलाकार जोन ओलिभरले आफ्नो समर्थन जनाउँदै पन्छीको रूपमा पोशाक लगाएर अभियान चलाएका थिए ।
विश्वको दुर्लभ पेंगुइन प्रजातिहरूमध्ये एक मानिने होइहो मात्र न्युजिल्याण्डमा पाइन्छ ।
प्रतियोगिता सञ्चालन गर्ने संगठन ‘फरेस्ट एन्ड बर्ड’ का अनुसार, होइहोले ६ हजार ३२८ भोटसहित विजय हासिल गरेको छ । उसले करुरे चाथम टापुका कालो रबिनलाई ५ हजार भन्दा बढी भोटले पछि परेको हो ।
यो होइहोले यसअघि २०१९ मा पहिलो पटक यो उपाधि जितेको थियो । त्यसबेला पनि रुसको हस्तक्षेपका आरोपहरू आएका थिए ।
रुसबाट सयौँ भोटहरू आएका थिए, यद्यपि ‘फरेस्ट एन्ड बर्ड’ ले ती भोटहरू धोखाधडी नभई रुसी पक्षी वैज्ञानिकहरूको भएको बताएको थियो ।
२०१८ मा, अस्ट्रेलियालीहरूले ‘शाग’ (एक प्रकारको कोर्मोरन्ट) प्रजातिको पक्षमा प्रतिस्पर्धा हेरफेर गर्न खोजेको आरोप पनि लगाइएको थियो ।
होइहो, जसको माओरी नामको अर्थ शोर मचाउने हो । यसको कडा, चर्को आवाज भए पनि अत्यन्तै लजालु प्रजाति हो। संगठनले यो जितले यस प्रजातिको संरक्षण प्रयासलाई बढावा दिने बताएको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अनुसार यो प्रजाति संकटग्रस्त छ अर्थात् लोप हुने बाटोमा तीन चरणहरू टाढा रहेको छ, र यसको संख्या घट्दैछ ।
‘यो ध्यानकर्षणको समय अत्यन्तै उचित छ,’ ‘फरेस्ट एन्ड बर्ड’ की प्रमुख कार्यकारी निकोला टोकिले भनिन् –यो ऐतिहासिक पेंगुइन हाम्रा आँखामै मैनल्याण्ड आओतेरोआ (न्युजिल्याण्ड) बाट हराउँदैछ ।
भूमिमा संरक्षण प्रयासहरू भइरहेको भए पनि, टोकिले समुद्रमा पनि संरक्षण आवश्यक भएको बताइन् ।
उनले भनिन् –तिनीहरू जालमा फसिरहेका छन् र पर्याप्त खाना फेला पार्न सकिरहेका छैनन् । हाम्रा होइहोलाई जीवित रहनको लागि समुद्री संरक्षित क्षेत्रहरूको तुरुन्तै आवश्यकता छ।
Facebook Comment
Comment