ओलीसँगको गठजोडले देउवालाई हुने ५ नाफा र कांग्रेसलाई पुग्ने ४ घाटा

ओली-देउवा गठजोड मूलत: स्वार्थहरूको लेनदेन हो । देउवालाई खुसी हुन यसभन्दा धेरै कारण के चाहियो ? तर, देउवा खुसी भएपनि कांग्रेसलाई भने एमालेसँगको गठबन्धन राजनीतिक नोक्सानीको सौदाबाजी हुने सम्भावना बढी छ ।

ओलीसँगको गठजोडले देउवालाई हुने ५ नाफा र कांग्रेसलाई पुग्ने ४ घाटा

काठमाडौं । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपाको एक कार्यक्रममा भने, “मैले देशभरका कांग्रेस साथीहरूको भावनाअनुरूप नै एमालेसँग गठबन्धन बनाएको हुँ । एमाले-कांग्रेस गठबन्धन सरकार बनेपछि जनतामा खुसीयाली छाएको छ ।”

सभापति देउवाले ‘जनतामा खुसीयाली’ कहाँ देखे, त्यो त उनैले जानून् तर ओली-देउवा गठजोडको दुष्परिणाम भने नेपाली कांग्रेसभित्रै गहिरो छ । ‘कांग्रेसको एमालेकरण’ हुने चिन्ता कांग्रेस पङ्क्तिमै बाक्लो हुँदैछ । ओली-देउवा गठजोडले कांग्रेस र देशको भविष्य कहाँ पुर्‍याउने हो ? कांग्रेसीहरू यसै भन्न सक्ने अवस्थामा छैनन् ।

नेपाली कांग्रेसका एक नेता भन्छन्, “खासमा यो कांग्रेस-एमाले गठबन्धन हैन, ओली-देउवा गठजोड हो । यो गठबन्धन संसदीय लोकतन्त्रको मान्यता र गत चुनावको जनादेशविपरीत छ भन्ने कुरा कांग्रेसीहरूलाई राम्रोसँग थाहा छ तर, जबसम्म सभापतिमा शेरबहादुर देउवा रहन्छन्, यस्तो स्थिति स्वीकार गर्नु कांग्रेसको नियति हो । ओली-देउवा गठजोडले पार्टीभित्र सभापति देउवाको गुटलाई थप बलियो बनाएको छ । तर, कांग्रेस भने राजनीतिक तथा नैतिक रूपमा कमजोर भएको छ ।”

मूल नेता बलियो हुँदा पार्टी बलियो हुनुपर्ने हो तर, कांग्रेसको नियति भने उल्टो छ । देउवा जति बलियो हुँदैछन्, कांग्रेस त्यति नै कमजोर हुँदैछ ।

ती नेता अगाडि थप्छन्, “एमालेसँग सत्ता साझेदारीको मुख्य चिन्ता आगामी निर्वाचनमा लोकतान्त्रिक जनमतमा कस्तो असर पर्ला भन्ने हो । गत आम निर्वाचनमा माओवादी, एकीकृत समाजवादीजस्ता कम्युनिष्ट समूहसँग चुनावी गठबन्धन गर्दा कांग्रेसका मतदाता रिसाए, बिच्किए । पार्टीको भोट घट्यो । नयाँ दलतिर गयो । एमालेसँगको सत्ता सहकार्यले पनि लोकतान्त्रिक रुझान राख्ने जनमत कांग्रेससँग विकर्षित हुन सक्दछ ।”

तर, कांग्रेस सभापति देउवालाई भने यसको कुनै चिन्ता छैन । उनी ओलीसँगको गठजोडमा मख्ख छन् । खुसी छन् । उनले आफ्नो मनको खुसी व्यक्त गरेका हुन् तर, ‘जनताको खुसी’ भनिदिए । एमाले-कांग्रेसबीचको पछिल्लो गठबन्धन सरकारबाट जनतामा खुसीयाली छाएको कुनै आधार छैन । कतै देखिएको छैन त्यस्तो दृश्य ।

तर, ओलीसँगको गठजोडले देउवालाई प्रष्ट रूपमा देखिने ५ वटा फाइदा भएको छ ।

एक— नक्कली भुटानी शरणार्थी छानबिन प्रक्रिया एक निश्चित बिन्दुमा पुगेर अवरुद्ध पारिएको छ । मूलतः बेचन झाको गिरफ्तारीपछि छानबिन पुन: अघि बढ्न सक्ने सम्भावना थियो । ‘लहरो तान्दा पहरो झर्छ’ भने जस्तो यसले कांग्रेसको थप नेतृत्व वृत्तलाई छुन सक्दथ्यो ।

भुटानी शरणार्थी प्रकरणमा मुछिन सक्ने पात्रका रूपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, तत्कालीन गृहसचिव प्रेमकुमार राई, मञ्जु खाँण र आरजु राणा देउवा चर्चामा थिए । यसले देउवालाई निकै ठूलो ‘टेन्सन’ दिएको थियो । ओलीसँगको गठजोडबाट उनी यो तनावबाट तत्कालका लागि मुक्त भएका छन् ।

नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-स्टेट यी दुवै प्रकरणबारे यो गठबन्धन सरकार रहुन्जेल कुनै छानबिन र कारबाही हुने छैन ।

दुई— पत्नी आरजु र निकट राजनीतिक सहयोगी रमेश लेखकले परराष्ट्र र गृहजस्ता मन्त्रालय सम्हालेबाट देउवा पुन: शक्तिशाली भएका छन् । औसत नेताहरूलाई प्रतिपक्षमा बस्दा शक्तिहीनताको बोध हुन्छ । ओलीसँगको गठजोडले देउवा शक्तिहीनताको अनुभूतिबाट जोगिन पाएका छन् । देउवा, राणा, लेखक र अन्य मन्त्रीमार्फत सत्ता राजनीतिको अभ्यास गर्दैछन् ।

तीन— ओलीसँगको गठजोडबाट देउवा पार्टीभित्रको गुटबन्दीमा फेरि एकपटक थप बलियो हुन पाएका छन् । नेपाली कांग्रेसको पछिल्लो महासमिति बैठकपछि देउवा गुट कमजोर हुन थालेको सङ्केत देखिएको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नीतिगत दबदबा बढेको र विस्तारै पार्टी देउवाबाट उनीहरूले खोस्न सक्ने अनुमान गर्न थालिएको थियो ।

एमालेसँगको नयाँ गठबन्धनपछि देउवाले पार्टीभित्रको स्थिति ‘कभर’ गर्ने अवसर पाएका छन् । उनले मन्त्री बनाएका, राजनीतिक नियुक्ति दिएका वा दिन सक्ने सम्भावना भएकाहरू फेरि देउवाको वरिपरि झुम्मिएका छन् । सबै प्रदेश सरकारमा कांग्रेसले सामेल हुने अवसर पाएको छ । सत्ताबाट लाभ लिन चाहनेहरू देउवामा केन्द्रित हुन थालेका छन् ।

देउवाले मन्त्री र विभिन्न लाभका पदमा सिफारिस गरेकाहरू देउवा गुटमा थपिएका वा पुराना गुटका सदस्य भए थप उत्साहित भएका छन् । माथि उद्धरण गरिएका कांग्रेस नेता भन्छन्, “ओलीसँगको गठजोडले देउवालाई पार्टीभित्र एकाएक फेरि शक्तिशाली बनाएको छ । कसैको केही लाग्ने छैन, तत्काल महाधिवेशन हुने हो भने देउवाले तेस्रो पटक पनि सभापति जित्न सक्ने छन् ।”

चार— ओलीसँगको गठजोडले ‘छैटौँ पटक प्रधानमन्त्री’ बन्ने सम्भावना बढाएको छ । यतिखेर देउवा प्रमुख सत्ता साझेदार दलका सभापति मात्र हैनन्, ‘वेटिङ प्राइमिनिस्टर’ पनि हुन् । ठीक २ वर्षपछि सत्ता छोड्ने ओलीसँगको आलोपालो अहिलेसम्म लागू हुने देखिएको छ । सहमतिअनुसार ओलीले आगामी चुनावको मुखमा पुगेर देउवालाई सत्ता हस्तान्तरण गर्नु पर्नेछ ।

‘भावी प्रधानमन्त्री’ हुनुको राजनीतिक फाइदा देउवालाई अहिलेदेखि नै भइरहेको छ भने चुनावी सरकारको नेतृत्व गर्ने अवसरले थप फाइदा हुन सक्नेछ ।

पाँच— देउवाले प्रधानमन्त्री भएर पार्टीको १५औं महाधिवेशन गराउने मौका पाउँदैछन् । कांग्रेस वृत्तमा गाइँगुइ चल्न थालेको छ, सभापति देउवाले प्रधानमन्त्री नहुन्जेल पार्टी अधिवेशन रोक्ने छन् । पार्टी विधानअनुसार २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्ने हो तर, त्यतिखेर देउवा प्रधानमन्त्री भइसकेका हुने छैनन् । तसर्थ, पार्टी महाधिवेशन २०८३ सालमा पुग्ने सम्भावना बढेको छ । कांग्रेसको विधानमा प्रत्येक ४ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान भए पनि संविधानले ५ वर्षको सुविधा दिन्छ ।

प्रधानमन्त्रीका रूपमा सत्तामा रहेर महाधिवेशन गराउँदा प्रभावित गर्न सक्ने सम्भावना बढ्छ । पार्टी विधानअनुसार उनी तेस्रोपटक सभापति उम्मेदवार हुन पाउने छैनन् । तर, आफ्नो प्यानललाई जिताउन सहज हुनेछ ।

उपरोक्त कारणले ओली-देउवा गठजोड मूलत: स्वार्थहरूको लेनदेन हो । देउवालाई खुसी हुन यसभन्दा धेरै कारण के चाहियो ? तर, देउवा खुसी भएपनि कांग्रेसलाई भने एमालेसँगको गठबन्धन राजनीतिक नोक्सानीको सौदाबाजी हुने सम्भावना बढी छ । कांग्रेस पङ्क्तिभित्र एमालेसँगको सत्ता सहकार्यबाट मुख्य ४ बेफाइदा हुन सक्नेछ ।

‘जेनुइन’ कांग्रेसीका चिन्ताका मुख्य विषय भने यी हुन्—

एक— आगामी चुनावमा कांग्रेसको मुख्य प्रतिस्पर्धी दल एमाले नै हो । मुख्य प्रतिस्पर्धीसँगकै सत्ता सहकार्यले राजनीतिक प्रतिस्पर्धाको परिदृश्यलाई कमजोर बनाउँछ । तसर्थ, आगामी चुनाव एक जीवन्त प्रतिस्पर्धा नभएर एमाले-कांग्रेसबीच एक प्रकारको ‘म्याच फिक्सिङ’ जस्तो हुनेछ ।

सरकारका जस अपजसप्रति दुवै दल जिम्मेवार हुनेछन् । सरकारसँग असहमति, विरोध र वितृष्णाको भावना राख्ने मतदाता दुवै दलप्रति बिच्किन सक्नेछन् । यसको मार कांग्रेसले पनि खेप्नु पर्नेछ ।

दुई— कांग्रेसी जनमत भनेको राजावादी र कम्युनिष्ट दुवै विचार विरोधी हो । उदार लोकतन्त्रवादी, लचिलो ढाँचामा बस्न, बाँच्न रुचाउने शहरिया मध्यम वर्ग तथा स्थानीय लोकतन्त्रवादी जनमत कांग्रेसको पक्षमा रहँदै आएको छ । कांग्रेस सङ्गठन र सञ्जालले हैन, लोकतान्त्रिक भावना भएको जनमतले टिकेको, टिकाएको दल हो ।

सङ्गठन सञ्जाल र सक्रियताबाट जनमत प्रभावित गर्न कांग्रेसलाई गाह्रो पर्नेछ । यो कलामा एमाले कांग्रेसभन्दा धेरै पोख्त छ । एमाले कार्यकर्ता आधारित र कांग्रेस मास आधारित पार्टी हो । कांग्रेससँग भाँडिएको लोकतन्त्रवादी जनमतले नयाँ दल र स्वतन्त्र उम्मेदवारतिर रुझान राख्न र मतदान गर्न सक्नेछ । यो नेपाली कांग्रेसका लागि निकै ठूलो घाटाको विषय हुने छ ।

तीन— ओलीसँगको गठजोड र एमालेसँगको गठबन्धनले देउवालाई कांग्रेसभित्र बलियो बनाउँछ । किनकि पार्टी ‘हाइरार्की’ र ‘ब्यूरोक्रेसी’ मा उनले थप कब्जा जमाउने अवसर पाउनेछन् । तर, कांग्रेस पार्टीभित्र देउवा बलियो हुनु भनेको जनतामाझ कांग्रेस थप कमजोर हुनु हो ।

किनकि देउवाको व्यक्तित्वले अब नयाँ पुस्ताका मतदातालाई आकर्षित र अपील गर्न सक्दैन । जनता नेतृत्व हस्तान्तरण र पुस्तान्तरण खोजिरहेका छन् । मातृपार्टी भावना निरन्तर कमजोर हुँदैछ । नयाँ पुस्ताको मतदाता अनुपात बढ्दो छ ।

जनता, मतदाता र युवा पुस्ताको चाहना ओली-देउवा पुस्ताको नेतृत्व अब ‘फेजआउट’ भयो, यिनीहरू ‘रिटायर्ड’ हुनु पर्दछ भन्ने छ तर, कांग्रेसभित्र भने देउवा झन्‌झन् बलियो हुँदैछन् । यो कांग्रेसको भविष्य र पुनर्जीवनका लागि ठूलो विरोधाभास हो ।

गत आम निर्वाचनमा कांग्रेसले पाएको लोकप्रिय मत एमालेको भन्दा पनि कम थियो । एमालेले २६.९५ प्रतिशत मत प्राप्त गर्दा कांग्रेसले २५.७१ प्रतिशत मत पाएको थियो । जबकि एमाले फुटेको थियो । ओलीमाथि दुई दुईपटक असंवैधानिक संसद् विघटन गरेको सङ्गीन आरोप थियो । एमाले सत्ताबाट बाहिरिएको र कांग्रेसले नै चुनावी सरकारको नेतृत्व गरेको थियो ।

गत आम निर्वाचनमा एमालेसँग असहता, प्रतिकूलता धेरै थिए, कांग्रेससँग सहजता र अनुकूलता धेरै । यसका बाबजुद कांग्रेस एमालेभन्दा पनि कम भोटमा सीमित भएको थियो । यसको मूल कारण शहरिया मध्यम वर्ग, युवा मतदाता र लोकतान्त्रिक जनमतमा हुर्किँदै गएको कांग्रेसप्रतिको अविश्वास र वितृष्णा नै हो ।

देशमा विस्तारै नयाँ नयाँ राजनीतिक दल र प्रवृत्ति विकसित हुँदै गइरहेका छन् । कांग्रेस कम्युनिष्टजस्ता ठूला पुराना दल अब चुनौतीहीन छैनन् । डिजिटलीकरण र भूमण्डलीकरणको प्रभाव नेपाली मतदातामा व्यापक हुँदै गएको छ । यस्तो बेला पार्टी कब्जा गर्नेभन्दा बढी आम अपील गर्न सक्ने नेतृत्व र अनुहार चाहिन्छ ।

देउवाको विशेषता सधैँ यही रह्यो कि उनी पार्टी कब्जा गर्न त सक्दछन् तर, आम अपिल गर्ने क्षमता भने राख्दैनन् । सत्ता राजनीतिको जोड-घटाउले उनी जति धेरैपटक प्रधानमन्त्री बने, जनतामाझ उत्तिकै कमजोर नेता बने । देउवाको शक्तिले कांग्रेस जोडिने र बलियो हुने भन्दा तोडिने र कमजोर हुने छ ।

चार— ओली-देउवा जठजोडले संविधान संशोधनसम्म प्रवेश गर्ने भन्दैछ । तर, यसको ‘ओरियन्टेसन’ भने प्रष्ट छैन । कुन प्रयोजनमा के-के सवालमा कस्तो संविधान संशोधन । ओली पश्चगामी रुझान भएका नेता मानिन्छन् । एमालेको जोड सङ्घीयता, समावेशिता, आरक्षण र समानुपातिकतालाई कमजोर पार्ने हुन सक्नेछ ।

सत्ता स्वार्थको उन्माद वा अल्प वुद्धिले देउवाले उक्त विषयमा सहमति जनाएमा देशको एउटा वर्ग, हिस्सा र समुदाय कांग्रेससँग रिसाउन, भाँडिन र टाढिन सक्ने छ । यद्यपि, यो विषय अहिलेसम्म अस्पष्ट छ तर, संविधान संशोधनका सवाल र दिशा सही भएनन् भने कांग्रेस थप राजनीतिक नोक्सानीमा पर्ने निश्चित छ ।

ओलीसँगको गठजोडबाट सृजित हुने देउवाका लाभ र पार्टीलाई हुने हानिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ, त्यो त आउँदा दिनले नै पुष्टि गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved