अबिच्युअरी

सीताराम येचुरीलाई नेपालबाट सम्झँदा

उनी कम्युनिष्ट आन्दोलनमा निरन्तर लागे पनि आफ्नो विचारको समसामयिक पुनर्भाष्य गर्न भने सधैँ असफल रहे । उनको चिन्तनमा शास्त्रीय साम्यवादी सिद्धान्तको धङधङी थियो । उनी भारतीय समाज र राजनीतिमा मार्क्सवादको सान्दर्भिकता पुष्टि गर्न चाहन्थे ।

सीताराम येचुरीलाई नेपालबाट सम्झँदा

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको असामयिक निधनले नेपाललाई पनि उत्तिकै छोएको छ । सामाजिक सञ्जालमा थुप्रै नेपालीले येचुरीप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै उनको नेपाल सम्बन्ध र योगदानको स्मरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, “कमरेड सीताराम येचुरीको निधनले गहिरो दु:ख लागेको छ । मैले धेरैपटक उहाँलाई भेट्ने सम्मान पाएको थिएँ । उहाँ हाम्रो लोकतान्त्रिक आन्दोलनको अटल समर्थक हुनुहुन्थ्यो । उहाँको बुद्धिमत्ता, विनम्रता र जनताप्रतिको दृढ समर्पण कहिल्यै भुल्ने छैन । उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । उहाँको परिवार, साथीहरू र सीपीआईएमप्रति समवेदना प्रकट गर्दछु । बिदाइ छ, प्रिय कमरेड !”

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले एक्समा श्रद्धान्जली व्यक्त गर्दै भनेका छन्, “सीपीआईएम महासचिव कमरेड येचुरीको निधनले मलाई गहिरो दु:ख लागेको छ । उहाँको निधनले कम्युनिष्ट आन्दोलनले एक महत्त्वपूर्ण नेता गुमाएको छ, हामीले एक मित्र गुमाएका छौँ । उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै उहाँको पार्टी र परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”

पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले जेएनयूमा विद्यार्थी हुँदादेखिको भेटघाटलाई स्मरण गर्दै लेखेका छन्, “सीपीआईएमका महासचिव कमरेड सीताराम येचुरीको असामयिक निधनले गहिरो दु:ख लागेको छ । सन् १९८० को दशकदेखि जेएनयूबाटै उहाँ मेरो व्यक्तिगत मित्र हुनुहुन्थ्यो । उनले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध अभिबृद्धिमा सधैँ रचनात्मक भूमिका निर्वाह गरेका छन् । शोकसन्तप्त परिवार र मेरो पार्टीप्रति मेरो गहिरो समवेदना छ ।”

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा महत्त्वपूर्ण राजनीतिक नेतृत्वले मात्र हैन, अन्य व्यक्ति व्यक्तित्वले पनि येचुरीको सम्झना गरेका छन् ।

उनी नेपाल आइरहने, नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने, बुझ्ने, बेलाबेला सहजीकरणसमेत गर्ने भारतीय कम्युनिष्ट आन्दोलनका दुर्लभ प्रभावशाली नेतामध्ये एक थिए । उनको पार्टी भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) नेपालको वाम लोकतान्त्रिक आन्दोलनलाई सधैँ समर्थन गर्ने गरेको थियो ।

२०४६ सालको आन्दोलनको पृष्ठभूमिमा यस पार्टीका तत्कालीन महासचिव हरकिशन सिंह सुरजित नेपाल आएका थिए । जनान्दोलन २०६३/०६३ को पृष्ठभागमा सीताराम येचुरीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई मद्दत गरेका थिए । उनी बारम्बार नेपाल आइरहन्थे । नेपालका थुप्रै राजनीतिक नेता कार्यकर्तासँग उनको व्यक्तिगत चिनचान र राजनीतिक सम्बन्ध थियो ।

उनी शालीन र भद्र स्वभावका नेता थिए । सरल जीवन बिताउँथे । नेपाल आउँदा उनी विमानस्थलमा आफ्नो सानो झोला आफैँ बोकेर बाहिरिँदै गरेका दृश्य देखिएका थिए ।

नेपालका कम्युनिष्ट समूह एकताबद्ध हुन उचित हुन्छ भन्ने उनको धारणा थियो । उनी नेपालमा बलियो कम्युनिष्ट आन्दोलनले भारतलाई समेत प्रेरणा दिने ठान्दथे । नेपालका कम्युनिष्ट समूहका महाधिवेशनमा पनि उनी अतिथि बनेर आउने गर्थे ।

बिहीबार दिउँसो ३:३० बजे एम्स नयाँ दिल्लीमा उनको निधन भएको हो । उनको निधनलाई पुष्टि गर्दै उनको पार्टीको एक्स एकाउन्टमा लेखिएको थियो, “हामी अत्यन्त दु:खका साथ यो सूचित गर्दछौँ कि सीपीआईएम महासचिव, हाम्रा प्रिय कमरेड सीताराम येचुरीको निधन भएको छ ।”

येचुरीको राजनीतिक जीवनका अनेक मोड र पाटाहरू छन् । उनको व्यक्तित्वलाई रोचक र निखारयुक्त बनाएको थियो । उनी १९५२ अगष्ट १२ मा तत्कालीन भद्रास ऊर्फ चेन्नईको तेलुगुभाषी ब्रह्मण परिवारमा जन्मेका थिए ।

७२ वर्षको उमेरमा उनी बिते । पछिल्ला दिनमा उनी श्वासप्रश्वासको रोगले पीडित थिए । उनलाई निमोनियाले सताएको थियो । भर्खरै उनले मोतियाबिन्दुको शल्यक्रिया गराएका थिए ।

केही समयअघि पार्टीका अर्का महत्त्वपूर्ण नेता तथा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धोदेव भट्टाचार्यको निधन भएको थियो । त्यो दिन उनले मोतियाबिन्दुको अप्रेसनपछि अस्पतालबाटै श्रद्धाञ्जली लेखेका थिए ।

भारतको कम्युनिष्ट आन्दोलनमा येचुरीको निरन्तरता अद्धितीय छ तर, उनी एक दुर्भाग्यशाली पार्टी महासचिव पनि थिए । उनी त्यस्तो अवधिमा पार्टी महासचिव भए जतिखेर कम्युनिष्ट पार्टी इतिहासमै सर्वाधिक कमजोर भयो । सन् १९९२ मा पहिलो पटक पोलिटब्यूरो सदस्य भएका येचुरी सन् २०१५ यता पार्टी महासचिव थिए । तर, सन् २०१२ पछि नै पार्टी कमजोर हुन थालिसकेको थियो ।

पश्चिम बंगालमा ३४ वर्षे र त्रिपुरामा २६ वर्षे कम्युनिष्ट सरकार ढलेको थियो । येचुरीको नेतृत्वकालमा बाँकी रहेको तेस्रो कम्युनिष्ट प्रभावित प्रदेश केरलामा समेत कम्युनिष्ट आन्दोलन कमजोर भयो ।

सन् १९७० को दशकमा जेएनयूमा अर्थशास्त्रको स्नातकोत्तर विद्यार्थी हुँदा उनको राजनीतिक जीवन सुरु भएको थियो, लगत्तै उनी वामपन्थी विद्यार्थी सङ्गठन एसआफआईको अध्यक्ष भए ।

प्रकाश कारात त्यो बेलादेखि नै उनका मित्र थिए, जसको उत्तराधिकारका रूपमा येचुरी पार्टी महासचिव भएका थिए । उनको राजनीतिक सङ्घर्ष सन् १९७५ को इमर्जेन्सी को कठिन क्षणमा अघि बढेको थियो । प्रधानमन्त्री इन्दिरा गान्धीले घोषणा गरेको आपत्‌कालमा उनी जेल परेका थिए । जेल बस्नु परेका कारण उनको विद्यावारिधि थेसिस अधुरो रहेको थियो, जीवनभरि नै अधुरो रह्यो ।

येचुरीको अर्को विशेषता सहकार्य र गठबन्धनको संस्कृति थियो । उनी यूपीए गठबन्धनको अवधिमा एक महत्त्वपूर्ण नेता मानिन्थे । उनको पार्टीले तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंह नेतृत्वको सरकारलाई समर्थन गरेको थियो तर, कम्युनिष्ट पार्टी सरकारमा भने सामेल थिएन ।

भनिन्छ— यूपीए गठबन्धनकालमा प्रधानमन्त्री मनमोहन सिंहले नेपालबारे कुनै निर्णय लिनुअघि येचुरीसँग सल्लाह लिन्थे । येचुरीलाई अनौपचारिक दूतका रूपमा नेपाल पठाउँथे । नेपालका वामपन्थी समूहहरूसँग उनी नजिकको सम्पर्कमा बस्थे ।

उनी सन् २००५ देखि सन् २०१७ सम्म निरन्तर १९ वर्ष पश्चिम बंगालबाट राज्यसभा सदस्य निर्वाचित भए । तर, लोकसभाको चुनाव भने कहिल्यै लडेनन् ।

उनी भारतीय राजनीतिमा एक शालीन, भद्र, इमान्दार, नेता मानिन्थे । साथै येचुरीको बौद्धिक क्षमता र भाषणकला आकर्षक थियो । उनी एक चिन्तक थिए । उनले दर्जनभन्दा बढी किताब र राजनीतिक पुस्तिका लेखेका थिए ।

उनी कम्युनिष्ट आन्दोलनमा निरन्तर लागे पनि आफ्नो विचारको समसामयिक पुनर्भाष्य गर्न भने सधैँ असफल रहे । उनको चिन्तनमा शास्त्रीय साम्यवादी सिद्धान्तको धङधङी थियो । उनी भारतीय समाज र राजनीतिमा मार्क्सवादको सान्दर्भिकता पुष्टि गर्न चाहन्थे ।

तर, मार्क्सवादका सीमा र दक्षिण एशियाली समाजको विशिष्ठता बीचको भिन्ततालाई पर्गेल्न नसक्दा उनको राजनीतिक जीवन त्यति धेरै सफल भने रहेन । करिब एक दशक पार्टीको मूल नेता हुँदा पनि उनले पार्टीलाई पुनर्जीवन दिन सकेनन् ।

नयाँ पुस्ताका भारतीय मतदातालाई कम्युनिष्ट पार्टीप्रति आकर्षित गर्न नसक्नु उनको अर्को ठूलो राजनीतिक कमजोरी थियो । जे होस्, अनेक सफलता र असफलताबीच येचरीले भारतीय राजनीतिमा आफ्नो छाप भने छोडेर गए । उनी नेपालमा पनि धेरै चिनिएका, सम्झना र सम्मान गरिने भारतीय राजनीतिज्ञमध्ये एक बने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved