‘कम्युनिज्म-करप्सन’ नेक्सस : चीनको ठूला समस्यामध्ये भ्रष्टाचार एक

चिनियाँ समाजमा भ्रष्टाचारले ल्याएको मुख्य समस्या आर्थिक असमानता, नयाँ प्रकारको वर्ग सङ्घर्ष र जनअसन्तोष हो । आर्थिक विकाससँगै चीनमा अर्बपतिको सङ्ख्या बढ्दो छ । वर्गविहीन हुँदै जाने भनिएको राज्य प्रणालीमा आर्थिक असमानता बढ्दै गएपछि विपन्न र तल्लो वर्गमा असन्तोष उत्पन्न हुनु स्वाभाविक हुन्छ ।

‘कम्युनिज्म-करप्सन’ नेक्सस : चीनको ठूला समस्यामध्ये भ्रष्टाचार एक

काठमाडौं । भनिन्थ्यो, कम्युनिष्ट शासनमा भ्रष्टाचारको कुनै समस्या हुँदैन । भ्रष्टाचार ‘पुँजीवादी अनैतिकता’ को उपज हो । कम्युनिष्ट विचार र नैतिकताले त्यस्ता नेता-कार्यकर्ता जन्माउँछ, जसमा निजी सम्पत्तिको मोह हुँदैन । मान्छेको जीवनमा निजी सम्पत्तिको स्थान, भूमिका र मोह नभएपछि कसले किन भ्रष्टाचार गर्छ ? साम्यवादी शासनमा भ्रष्टाचार स्वत: समाप्त हुन्छ ।

तर, चिनियाँ कम्युनिष्ट शासनको ७५ वर्षले उल्लिखित भनाइलाई पुष्टि गर्दैन । भ्रष्टाचार चीनको सबैभन्दा ठूला समस्यामध्ये एक हो । कतिपयले व्यङ्ग्य गर्छन्, ‘चीनमा कम्युनिज्म र करप्सन पर्यायवाची शब्द भइसके ।’

सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सी चिनफिङको सबैभन्दा ठूलो मुद्दा नै भ्रष्टाचार विरोधी अभियान बन्यो । उनले त्यस क्रममा थुप्रै उच्च पदस्थ अधिकारीलाई जेल हाले, तीमध्ये एक पार्टीभित्र उनका मुख्य राजनीतिक प्रतिस्पर्धी बो सीलाई पनि थिए ।

तर, राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियान आफ्ना राजनीतिक विरोधीलाई तह लगाउने वा किनारा गर्ने प्रतिशोधपूर्ण कारबाहीमा सीमित थियो भन्न सकिँदैन । सन् २०१२ यता त्यस्ता धेरै कठोर कारबाही हुँदै आएका छन्, ती सबै घटना व्यक्तिगत राजनीतिक लाभसँग जोडिएका छैनन् ।

सन् २०२१ को मेमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार विगत १० वर्षमा राज्य र पार्टी संयन्त्रमा भएका करिब ४० लाख मानिसमाथि छानबिन भएको थियो । तीमध्ये ३७ लाखमा कुनै न कुनै प्रकारको दोष पाइएको थियो र कारबाही गरिएको थियो । ती मध्ये ८२८ जना चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी थिए ।

आयोगको दाबी छ कि बितेको दशकमा चीनको यस्तो कारबाही संसारको इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार विरोधी अभियान हो ।

चीनमा नयाँ प्रकारको भ्रष्टाचार सन् १९८० को दशकको आर्थिक सुधारसँगै सुरु भएको थियो । तर, सन् २००० पछि भ्रष्टाचारले भित्रभित्रै जरा गाडेको महसुस गर्न थालियो । भ्रष्टाचारको सबैभन्दा ठूलो मात्रा सरकारी स्वामित्वमा रहेका व्यावसायिक संस्थामा देखिन थाल्यो ।

भ्रष्टाचार तिनैले गर्ने हुन्, जसको स्रोत र शक्तिमा पहुँच हुन्छ । चिनियाँ राज्यमा शक्ति कम्युनिष्ट पार्टी र यसका नेता, कार्यकर्तामा केन्द्रिकृत छ भने सार्वजनिक वित्त आर्थिक उदारीकरणपछि सरकारी स्वामित्वका कम्पनीमा पुगेको छ । तिनै मानिस सबैभन्दा भ्रष्ट देखिए, जो पार्टीको संरक्षण प्राप्त र सरकारी निगमका हाकिम थिए ।

कम्युनिष्ट शासन प्रणालीमा यस्तो नयाँ वर्गको उदय नौलो कुरा भने हैन । सोभियत शासनकालमा यस्तो वर्गलाई ‘न्यूमेन क्लातुरा’ भनिन्थ्यो । यो एक यस्तो ‘नवीन वर्ग’ थियो, जसले पार्टी र राज्य शक्तिको दुरुपयोगमार्फत आफूलाई धनी बनाउँथ्यो र साम्यवादी शासन प्रणालीभित्रै नयाँ प्रकारको वर्ग सङ्घर्ष’ चर्काइदिन्थ्यो ।

चीनमा पनि ‘नयाँ शोषक’ वर्गको उदय तीव्र हुँदै गइरहेको छ । सत्तामा आएसँगै राष्ट्रपति सीले यसलाई रोक्न प्रयास गरेका छन् । तर, सीको प्रयास कति सफल भयो, यसै भन्न सकिने अवस्था छैन ।

चिनियाँ राज्य प्रणालीमा भ्रष्टाचारको प्रकोपमध्ये शक्ति संरचनामा व्यापक भएको तथ्याङ्कहरूले देखाउँछन् । स्थानीय तहका पार्टी कार्यकर्ता तथा कर्मचारी भ्रष्टाचार गर्न डराउँछन् । तिनलाई कारबाही र करिअरको भय हुन्छ ।

आयोगको प्रतिवेदनले भन्छ कि भ्रष्टाचारका घटनामध्ये करिब ४१ प्रतिशत स्थानीय तहमा हुन्छन् तर, त्यसले गर्ने आर्थिक नोक्सानी भने सानो करिब १२ प्रतिशत मात्र हुन्छ ।

उच्च तहका मूल नेताले भ्रष्टाचार गर्नुपर्ने आवश्यकता नै हुँदैन । किनकि राज्यबाट तिनले पर्याप्त सेवा सुविधा पाउँछन् र उनीहरू लामो समय राज्यमा रहन सक्दछन् । पार्टी केन्द्रीय समिति, प्रादेशिक तथा नगर पार्टी अधिकारीमा भ्रष्टाचार धेरै भएको अनुशासन आयोगको प्रतिवेदनले सङ्केत गर्दछ ।

चिनियाँ समाजमा भ्रष्टाचारले ल्याएको मुख्य समस्या आर्थिक असमानता, नयाँ प्रकारको वर्ग सङ्घर्ष र जनअसन्तोष हो । आर्थिक विकाससँगै चीनमा अर्बपतिको सङ्ख्या बढ्दो छ । वर्गविहीन हुँदै जाने भनिएको राज्य प्रणालीमा आर्थिक असमानता बढ्दै गएपछि विपन्न र तल्लो वर्गमा असन्तोष उत्पन्न हुनु स्वाभाविक हुन्छ ।

भ्रष्टाचार गर्ने चिनियाँ अधिकारीको आय नियमित वैधानिकभन्दा ६ गुणासम्म बढी हुने गरेको देखिन्छ । औसत चिनियाँ सर्वसाधारणले मासिक ५ हजार युवान कमाउँछन् । पार्टी वा राज्यका अधिकारीको मासिक आय औसत ५० हजार युवान हुन्छ । भ्रष्टाचारले उनीहरूको आय ६ गुणाले वृद्धि हुँदा मासिक ३ लाखभन्दा धेरै हुन्छ ।

५ हजार र ३ लाख युवानबीचको आर्थिक दूरी धेरै फराकिलो हो । भ्रष्टाचारको आम्दानी लुकाएर राख्ने गरिन्छ । यो करको दायराभित्र आउँदैन । चीनमा आर्थिक असमानता तीव्र हुँदै जानुको मुख्य कारण भ्रष्टाचार मात्र भने हैन, आय असमानताको पाटो पनि छँदैछ ।

राष्ट्रपति सीको कठोर भ्रष्टाचार विरोधी अभियानले आर्थिक असमानता नियन्त्रण गर्न मद्दत गरेको तथ्याङ्कले पुष्टि गर्दछ । विश्व बैकका अनुसार सन् २००० देखि २०१० बीच चीनको आर्थिक असमानता देखाउने गिनी कोफिसियन्ट ४३.७ प्रतिशत थियो । कुनै कुनै आर्थिक वर्षमा त ५४.६० सम्म पुगेको थियो । सन् २०१०-०२० बीचमा ३७.१ प्रतिशतमा झर्‍यो । राष्ट्रपति सीको शासनको लोकप्रियता र वैधताको एक बलियो आधार यो हो ।

चीनमा भ्रष्टाचारका मुद्दामा आजीवन काराबासको सजाय पाउने धेरै छन् तर, केहीले मृत्युदण्ड पनि पाएका छन् । लि जेनपिङ एक त्यस्तै अधिकारी हुन्, जो मृत्युदण्ड पाएर कार्यान्वयनको प्रतीक्षामा छन् । इनर मंगोलिया प्रदेशका पूर्वपार्टी सचिव लिको मृत्युदण्ड फैसला कार्यान्वयन भएमा उनी भ्रष्टाचारमा यस्तो सजाय पाउने सन् २०१२ यता तेस्रो ठूलो उच्च अधिकारी हुनेछन् ।

सन् २०२१ को जनवरीमा लाई सिआओ मिन र यसै वर्षको मेमा वाई तियान हुईलाई मृत्युदण्ड दिइएको थियो । उनीहरू दुवै राज्यको स्वामित्व रहेका निगमका प्रमुख अधिकारी थिए । उनीहरूमाथि निकै ठूलो रकम घुस लिएको र अपचलन गरेको आरोप थियो ।

हु चिन्ताओ शासनकालमा पनि तीन ठूला अधिकारीलाई मृत्युदण्ड दिइएको थियो । सन् २०११ मा हाङजाओ र सुझोङका मेयर सु माई योङ र जियाङ रेन्जीलाई र सन् २००७ मा खाद्य तथा औषधि प्रशासन विभागका प्रमुख झेङ झियाओ युलाई मृत्युदण्ड दिइएको थियो ।

चिनियाँ सरकार र कम्युनिष्ट पार्टी भ्रष्टाचार नियन्त्रण गर्न कठोर हुन खोजेको देखिन्छ । त्यसका बाबजुद भ्रष्टाचार चीनको निकै ठूलो समस्या बन्दै आएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको वार्षिक प्रतिवेदनमा चीनको स्थान खासै राम्रो देखिने गरेको छैन । सन् २०२३ मा चीन करप्सन परसेप्सन इन्डेक्स (सीपीआई) मा १८० देशमध्ये ७६ औं स्थानमा थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved