आजको दिनमा ‘अमेरिकी सपना’को अर्थ

‘अमेरिकी सपना’ र ‘अमेरिकी यथार्थ’ भने फरक हुन् । अमेरिकी सपनाले सबै सहजता दिँदैन । आशा र विश्वास दिन्छ । भविष्य राम्रो हुने आशा । त्यसका लागि सङ्घर्ष र मेहनत गर्ने आशा । मेहनत गरे सफल भइन्छ भन्ने विश्वास ।

आजको दिनमा ‘अमेरिकी सपना’को अर्थ

काठमाडौं । भनिन्छ, चुनाव लोकतन्त्रको चाडपर्व वा उत्सव हो । अझ अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे यस्तो भनाइ छ— अरु देशमा ३ महिना चुनाव लाग्छ, अमेरिकामा वर्षभरि नै लाग्छ ।

यहाँ चुनाव आउनु धेरै अगाडि राजनीतिक दलका ‘प्राइमरी’ सुरु हुन्छन् । अमेरिकी लोकतन्त्रमा प्राइमरी पनि चुनावकै एक हिस्सा हो । प्राइमरीको प्रक्रिया र प्रतिस्पर्धा मूल चुनावको भन्दा कम रोचक, चासो र उत्साहपूर्ण हुँदैन ।

चुनावको वर्ष सार्वजनिक बहसको मुख्य विषय ‘अमेरिकी सपना’ (अमेरिकन ड्रिम) बन्छ । अमेरिकी सपनाका मुख्य दुई पक्ष हुन्छन् ।

एक— स्वयम् अमेरिकी कस्तो अमेरिका बनाउन चाहन्छन् ? र, दुई— विश्वभरिका मानिसले अमेरिकाबारे कस्तो सपना देख्दछन् ?

यसर्थ, अमेरिकी चुनाव त्यहाँका जनताको मात्र चासो, भाग्य र भविष्यको विषय हैन । यहाँको चुनावले विश्वभरिका ती मानिसलाई पनि प्रभावित गर्दछ, जसले अमेरिकालाई ‘सपनाको देश’ बनाएका हुन्छन् ।

अमेरिकी पूर्वविदेशमन्त्री कन्डोलिजा राइसले भर्खरै आफ्नो एक लामो लेखमा यो भन्न छुटाएकी छैनन् कि उन्नत जीवनस्तरको खोजी गर्ने संसारभरिका मान्छेका लागि अमेरिका आज पनि ‘सपनाको देश’ हो । अमेरिकालाई विश्व र विश्वलाई अमेरिका अझै चाहिन्छ ।

‘अमेरिकी सपना’ शब्दावलीको पहिलो प्रयोग सन् १९३१ मा लेखक जेम्स ट्रुस्लो आडम्सले आफ्नो किताब ‘द इपिक अफ अमेरिका’ मा गरेका थिए ।

उनले भनेका थिए, “अमेरिकी सपना एक देश, एक भूमिको सपना हो, जहाँ सबैको जीवन उन्नत, समृद्धिले भरिपूर्ण हुनुपर्दछ । क्षमता र उपलब्धिअनुरूप सबैका लागि अवसर हुनुपर्दछ । मोटरकार चढ्ने र राम्रो ज्याला तलब पाउने सोच मात्र अमेरिकी सपना हैन, बरु त्यस्तो समाज व्यवस्था हो, जहाँ प्रत्येक पुरुष र महिलाले आफ्नो जन्म, हैसियत र पहिचानको अन्तर्निहित पूर्णताबोध गर्दछन् ।

त्यसयता अमेरिकी सपनालाई हरेकले आ-आफ्नो तरिकाले परिभाषित गर्ने प्रयत्न गर्दै आए । फ्लोरिडा सिनेटर मार्क रविको भन्थे, “अमेरिकी सपनाको अर्थ शक्तिशाली राज्य, धनी र प्रसिद्धी पाएका अमेरिकी हैन, यसको अर्थ अझ सरल र महत्तायुक्त छ कि प्रत्येक अमेरिकी मानवीय गरिमायुक्त भावनाले ओतप्रोत हुनु पर्दछ ।”

सन् २०१७ मा इलिओइस सिनेटर टमी डकअर्थको कथन थियो, अमेरिकी सपना यहाँ कडा मेहनत गरेपछि सफलताको अवसर सुनिश्चित छ भन्ने विश्वास हो ।

२००८ मा बाराक ओबामाको नारा थियो—चेन्ज । उनको दाबी थियो, “अमेरिकी सपनाको अर्थ म बुझ्न सक्दछु । किनकि मेरो जीवन यससँग नजिकबाट जोडिएको छ । म अमेरिकी यथार्थबाट लाभान्वित मान्छे थिइनँ तर, अमेरिकी सपनाले मलाई सधैँ आशावादी बनायो र यहाँसम्म आइपुगेँ ।”

‘अमेरिकी सपना’ र ‘अमेरिकी यथार्थ’ भने फरक हुन् । अमेरिकी सपनाले सबै सहजता दिँदैन । आशा र विश्वास दिन्छ । भविष्य राम्रो हुने आशा । त्यसका लागि सङ्घर्ष र मेहनत गर्ने आशा । मेहनत गरे सफल भइन्छ भन्ने विश्वास ।

संसारका धेरै देशको हालत आज यस्तो छ, जहाँ मेहनत र सङ्घर्षको कुनै अर्थ छैन । आज पनि जीवन राम्रो छैन । भोलि राम्रो हुने सम्भावना छैन वा निकै कम छ ।

संसारभरिका यति धेरै मानिस अमेरिका छिर्ने दु:ख किन गर्दछन् ? अमेरिका छिर्नका लागि गरिने दु:ख बाहिरियाका लागि ‘अमेरिकी यथार्थ’ हुन् । तिनको पनि अपेक्षा उही हो, यो दु:खले कुनै दिन राम्रो परिणाम दिनेछ । कम्तिमा आफ्नो जीवनकालमा नभए सन्तानका लागि सुख दिनेछ ।

पत्रकार निकोलस क्रिप्टोफको भनाइमा अमेरिकी सपनाको अरु कुनै अर्थ छैन । त्यसको एउटा मात्रै महत्त्व छ, त्यो हो यदि तपाईंसँग क्षमता छ र मेहनत गर्नुहुन्छ भने पक्कै कुनै दिन अवसरले तपाईंलाई पछ्याउनेछ ।

सपना भविष्यसँग सम्बन्धित हुन्छ । तर, डोनाल्ड ट्रम्प यसलाई विगतसँग जोड्न चाहन्छन् । उनको नारा छ— मेक अमेरिका ग्रेट अगेन । उनको यो नाराले ‘मागा अमेरिकन’को एक पुस्ता नै तयार गरेको छ ।

ती ठान्दछन् कि अमेरिका हिजो राम्रो र महान् थियो, आज बिग्रँदै गएको हो । हिजो उन्नत थियो, आज बर्बाद भयो । अमेरिकालाई बर्बाद पार्न लिबरल, लेफ्ट र डेमोक्र्याट्स जिम्मेवार छन् ।

ट्रम्पको यो दाबीले अर्को एक विरोधाभास सृजना गर्दछ । त्यो हो, अमेरिकी सपनाको आधार के हो ? के ‘लिबरल भ्यालुज’ अर्थात् उदार मूल्यबाहेक अमेरिकाको अर्को कुनै अर्थ र आधार छ ?

अधिकांश अमेरिकी यो विश्वास गर्दछन् कि उदार लोकतन्त्र र उदार मूल्य प्रणालीभन्दा बाहिर अमेरिकी सपनाको कुनै अर्थ छैन । समयानुसार अमेरिकी सपनाका सन्दर्भ भने फेरिने गरेका छन् । जब बेरोजगारी बढ्छ, अमेरिकी सपनाको अर्थ राम्रो रोजगार पाउनु हुन्छ । जब नस्लवाद र रङ्गभेदी प्रवृत्ति बढ्छ, अमेरिकी सपनाको अर्थ आत्मसम्मान र समान व्यवहार बन्न पुग्दछ ।

सन् २००८ को वित्तीय सङ्कटताका मानिस आत्तिएका थिए । ती वित्तीय सङ्कटबाट सुरक्षा र मुक्ति चाहन्थे । अमेरिकी राज्यसँग त्यो ताकत छ कि छैन भनेर परीक्षण हुँदै थियो । अमेरिकाले बारम्बार सिद्ध गर्‍यो कि यो कुनै आपत् नै आइनलाग्ने देश हैन,आपतहरूको सामना गर्ने क्षमता भएको देश हो ।

अमेरिकी राज्य र अमेरिकी लोकतन्त्र दुवै यस बिन्दुमा समान हुन्छन् । आपत् त अमेरिकालाई पनि आइलाग्दछन् तर, पार लगाउने क्षमता राख्दछ । समस्या त लोकतन्त्रमा पनि हुन्छन् तर, समाधान गर्ने स्वचालित प्रक्रिया पनि लोकतन्त्रसँग हुन्छ ।

यस अर्थमा अमेरिकी सपनाको अर्थ आपत्‌हरूसँग लड्न सक्ने राज्य, समस्यालाई चिर्न सक्ने लोकतन्त्र र सङ्कटमा पनि आत्मविश्वास नगुमाउने नागरिक हुन् ।

जेम्स ट्रुस्लो आडम्सले अमेरिकी सपनाको कुरा गर्दा विश्व महामन्दीको अवधिमा प्रवेश गर्दै थियो । तर, त्यही सङ्कटका बीच फ्राङ्कलिन डि रुजबेल्टले ‘न्यू डिल’ को अवसर उपयोग गरे । दोस्रो विश्वयुद्धको समाप्तिपछि त अमेरिका महाशक्ति नै कहलियो । आज धेरैले समकालीन विश्व व्यवस्थालाई अमेरिकी विश्व व्यवस्था मानिदिन्छन्, भलै कि यो विश्व व्यवस्थामा सबै चिज अमेरिकाले चाहेजस्तो मात्र छैन ।

अमेरिकाले त्यस्ता धेरै हार, अनपेक्षित परिणाम र बर्बादीको सामना यस अवधिमा गरेको छ । जस्तो कि भियतनाम युद्धमा अमेरिका यही अवधिमा हार्‍यो । सिरिया, इराक, इरान, अफगानिस्तानजस्ता देशमा उसका प्रयास र हस्तक्षेप सफल भएनन् ।

मध्यपूर्वको समस्या अहिले पनि ज्यूँका त्यूँ छ । अमेरिकाले चाहेर मात्र युक्रेनसँगको युद्धमा रुस पराजित भएको छैन । विश्व व्यापार सङ्गठनको गठनले अमेरिकालाई भन्दा बढी चीनलाई सवल बनायो । चीनले सोभियत सङ्घको ठाउँ लिँदै अमेरिकासँग सिङ्गौरी खेल्न सक्ने भयो ।

अमेरिकालाई शीतयुद्धको विजेता त भनिन्छ तर, त्यो उपहासजस्तो लाग्दछ । सोभियत सङ्घको पतन र शीतयुद्धको अन्त्यपछिका दिनमा अमेरिकाले त्यति धेरै अनुकूलताको आनन्द उठाउन पाएको छैन ।

अमेरिकीलाई थाहा छ कि यो आप्रवासीहरूको देश हो । उनीहरू आफैँ आप्रवासीका सन्तान हुन् । तथापि अमेरिकालाई सपनाको देश बनाउने विश्वभरिका मान्छेसमेत उनीहरुलाई भारी लाग्दैछन् । अवैध आप्रवासन अमेरिकी राजनीतिको धेरै ठूलो मुद्दा भएको छ ।

ट्रम्प आप्रवासनलाई कमजोर बनाउन चाहन्छन् । त्यस्ता नीति अघि सार्न चाहन्छन्, जसले गर्दा अवैध आप्रवासन कमजोर होस् ।

आन्तरिक कारणले होस् वा बाह्य; दुवै कारणले अमेरिकी सपना आज अमूर्त र धूमिल छ । अमेरिकी सपना शिथिल हुँदै र अमेरिकी यथार्थ हाबी हुँदै गएका छन् । सायद यही नै आजको अमेरिकी सपनाको सबैभन्दा बलियो अर्थ हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved